शिक्षाका दुई सव-इन्जिनियर रङ्गेहात समातिए

काठमाडौ, १७ असार । शिक्षाका दुई सव इन्जिनियरहरु अख्तियारको फन्दामा परेका छन् । विद्यालय भवन सम्पन्नताको प्रमाणपत्र दिने कार्यमा घुस लिएपछि अख्तियारको विशेष टोलीले उनीहरुलाई  समातेको हो ।

समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनबिर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीलाई घुस लिएको आरोपमा मंगलवार अख्तियारले समातेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले पुस्टि गरे ।

उनीहरूले महाभारत, काभ्रेका स्कूल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले सप्रमाण समातेको प्रवक्ता कोइरालाले बताए ।

 सव इन्जिनियर धनबिर भगत र तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीले सेवाग्राहीलाई घुसबापतको रू.१,५०,००० (एक लाख पचार हजार) राष्ट्रिय वाणिज्य बैङ्क बनेपामा जम्मा गर्न लगाइ बैंक भौचर समेत लिइसकेको अवस्थामा समातेको बताइएको छ ।

अख्तियारका प्रवक्ता कोइरालाले भने , “उनीहरुलाई बैंक भौचरसहित शिक्षा समन्वय इकाई काभ्रेको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।”

भगत शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीमा कार्यरत भएपनि काजमा समन्वय इकाइ काभ्रेमा कार्यरत थिए । त्यस्तै निरजकुमार चौधरी अवकास प्राप्त कर्मचारी हुन् । भगतले चौधरीलाई अघि सारेर घुस लिने गरेको खुलेको छ । 

Loading...