सर्लाहीमा सडक दुर्घटना, ज्यान बचाउन निस्केका २४ वर्षिय चालकको निधन

सर्लाही, १७ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलमा मंगलबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा  १ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

ईश्वरपुर नगरपालिका-१२ घारीबथानबाट सर्पले टोकेको बिरामी बोकेर लालबन्दी आँउदै गरेको बा ३ ख २०५४ नम्बरको बस ना ५ ख ७७९५ नम्बरको ट्रकसँग ठोक्किँदा बसका चालक सर्लाही ईश्वरपुर नगरपालिका-१२ घारीबथानका २४ वर्षिय माधव लाह्योको घटना स्थलमै ज्यान गएको हो।

ईश्वरपुर-१२का स्थानीय २० वर्षका गोपाल घिमिरेलाई राति २ बजे तिर सर्पले टोकेपछि उपचारको लागि बसमा हालेर नवलपुर तर्फ ल्याउदै गर्दा ईस्वरपुर र लालबन्दीको सिमामा पर्ने फुलजोर पुलमा ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बस चालकको ज्यान गएको हो भने बसमा सवार ४ जना र ट्रकमा सवार २ जना घाइते भएका छन् । उनीहरुको सर्लाहीको लालबन्दीमा रहेको विभिन्न अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेेेेको बताइएको छ ।

सर्पले टोकेका घिमिरेको समेत स्वास्थ्यमा सुधार भएको ईश्वरपुर-१२ का वडाध्यक्ष नागेन्द्र पाख्रीनले जानकारी गराए । सर्पले टोकेका बिरामीको काठमाडौंको टेकुस्थित अस्पतालमा उपचार भैरहेको पाख्रीनले बताए ।