एजेन्सी । बंगलादेशलाई पराजित गर्दै भारतले विश्वकप सेमीफाइनलमा स्थान पक्का गरेको छ। पराजित हुँदै बंगलादेशको भने सेमीफाइनल पुग्ने सम्भावना सकिएको छ।
भारत विश्वकपको सेमीफाइनल पुगेको यो सातौँ अवसर हो। यस अघि १९८३, १९८७, १९९६, २००३, २०११ र २०१५ मा उसले सेमीफाइनल यात्रा तय गरेको थियो। सन् २०१३ को च्याम्पियन्स ट्रफी जित पछि भारत लगातार आईसीसी इभेन्टमा सेमीफाइनल पुग्दै आएको छ। यस क्रममा २०१४ टि-२० विश्वकप, २०१५ विश्वकप, २०१६ टि-२० विश्वकप, २०१७ च्याम्पियन्स ट्रफीमा भारतले सेमीफाइनलमा स्थान बनाएको थियो।
यस अघिनै अस्ट्रेलियाले सेमीफाइनलमा स्थान बनाइसकेको छ। भारत दोश्रो टिम हुँदा अब न्युजिल्याण्ड, इंग्ल्याण्ड र पाकिस्तानले सेमीफाइनल पुग्न बाँकी २ स्थानको लागि प्रतिस्पर्धा गर्दैछ। यस अघिनै अफगानिस्तान, वेस्ट इन्डिज, दक्षिण अफ्रीका, श्रीलंका सेमीफाइनल रेसबाट बाहिरीसकेका छन्।
१३ अंक पुगेको भारतले ८ खेल खेल्दा ६ जित , १ हार बेहोरेको छ भने १ खेल नतिजाविहिन रहेको थियो। बंगलादेशले ८ खेल खेल्दा ३ जित, ४ हार र १ खेल नतिजाविहिन रह्यो।
एजब्यासटनमा सम्पन्न खेलमा भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २८६ रनमा सबै विकेट गुमाउन पुग्यो।
लक्ष्य पछ्याउने क्रममा बंगलादेशी ओपनर तामिम इकबाल र सौम्य सरकार क्रमसः २२ र ३३ रन बनाएर आउट भए।
त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका शाकिब अल हसनले एक किनार सम्हाले। यस क्रममा शाकिबले तेश्रो विकेटको लागि मुश्फिकुर रहिमसंग ४७ रनको, चौथो विकेटको लागि लिटन दाससंग ४१ रनको साझेदारी गरे। रहिम २४ र दास २२ रन बनाएर आउट भए।
६६ रन बनाएका शकिबलाई ३४ औँ ओभरमा हार्दिक पान्ड्याले क्याच आउट गराए। उनले ७४ बलमा ६ चौका प्रहार गरे। जारि विश्वकपमा शाकिबको यो छैठौं अर्धशतक वा त्यो माथिको स्कोर हो। उनले वेस्ट इन्डिजसंग १२४ र इंग्ल्याण्डसंग १२१ रन बनाएका थिए।
शाकिबको विकेट पछि सब्बिर रहमान र मोहम्मद सैफुद्दीनले सातौ विकेटको लागि ६६ रनको साझेदारी गर्दै सहज हार सुम्पन मानेनन्। तर सब्बिरलाई जस्प्रित बुम्राहले ४४ औं ओभरमा बोल्ड गर्दै खेलमा भारतको पकड बनाए। लगत्तै कप्तान मस्रफे मुर्तजा ८ रन बनाएर आउट भए।
त्यसपछि पनि सैफुद्दीनले एक किनार सम्हालीरहे र नवौं विकेटको लागि रुबेल हुसेनसंग २९ रनको साझेदारी गर्दै जित दिलाउने प्रयास गरे।
भारतलाई खतरा बढ्दै गर्दा ४८ औं ओभरमा बलिंग गर्न आएका जस्प्रित बुम्राहले रुबेल र मुस्तफिजुरको लगातार २ विकेट लिंदै जित दिलाए। दुवैले उनले बोल्ड गरे।
बंगलादेशले ४८ ओभरमा २८६ रनमा सबै विकेट गुमाउन पुग्यो।
सैफुद्दीनले अविजित ५१ रन ( ३८ बलमा ९ चौका ) बनाए।
भारतको बलिंगमा जस्प्रित बुम्राहले ४ ( १०-१-५५-४ ) तथा हार्दिक पान्ड्याले ( १०-०-६०-३ ) ले ३ विकेट लिए। भुवनेश्वर कुमार ( ९-०-५१-१ ) , मोहम्मद शामी ( ९-०-६८-१ ) र युझ्भेन्द्र चाहल ( १०-०-५०-१ ) ले १/१ विकेट लिए।
रोहित र राहुलको कीर्तिमानी साझेदारी
यस अघि पहिले ब्याटिंग गर्दै भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको थियो।
भारतको लागि रोहित शर्माले सर्वाधिक १०४ रन बनाएका थिए जुन क्रममा ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। लोकेश राहुलले ७७, रिशभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५ तथा बिराट कोहलीले २६ रन बनाए।
रोहित र राहुलले पहिलो विकेटको लागि १८० रनको साझेदारी गरेका थिए जुन बिश्वकपमा भारतको लागि सबैभन्दा ठुलो योगफल हो। यस्तै जारि विश्वकपमा चौथो शतक बनाएका रोहितले एकै विश्वकपमा ४ शतक बनाउदै २०१५ मा कुमार संगाकाराले बनाएको रेकर्डको बराबरी गरे। विश्वकपमा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान सचिन तेन्दुलकर हुन् जसले ६ शतक बनाएका थिए। रोहित संगै रिकी पोंटिंग र कुमार संगाकाराको ५/५ शतक पुगेको छ।
बंगलादेशको बलिंगमा मुस्तफिजुर रहमानले ५ विकेट ( १०-१-५९-५ ) लिए। शकिब अल हसन, रुबेल हुसेन र सौम्य सरकारले १/१ विकेट लिए। विश्वकपमा ५ विकेट लिने मुस्तजिफ़ुर दोश्रो बंगलादेशी र पहिलो पेस बलर बन्न पुगे। यसै विश्वकपमा शकिब अल हसनले बंगलादेशसंग ५ विकेट लिएका थिए।
प्रतियोगितामा भारतको यस अघिको नतिजा :-
बिरुद्ध इंग्ल्याण्ड – ३१ रनले पराजित
बिरुद्ध वेस्ट इन्डिज – १२५ रनले विजयी
बिरुद्ध अफगानिस्तान – ११ रनले विजयी
बिरुद्ध पाकिस्तान – ८९ रनले विजयी ( डीएल मेथड )
बिरुद्ध न्युजिल्याण्ड – नतिजाविहिन ( वर्षा )
बिरुद्ध अस्ट्रेलिया – ३६ रनले विजयी
बिरुद्ध दक्षिण अफ्रीका – ६ विकेटले विजयी
बंगलादेशको यस अघिको नतिजा : –
बिरुद्ध अफगानिस्तान – ६२ रनले विजयी
बिरुद्ध अस्ट्रेलिया – ४८ रनले पराजित
बिरुद्ध वेस्टइन्डिज – ७ विकेटले विजयी
बिरुद्ध श्रीलंका – नतिजाविहिन ( वर्षा )
बिरुद्ध इंग्ल्याण्ड – १०६ रनले पराजित
बिरुद्ध न्युजिल्याण्ड – २ विकेटले पराजित
बिरुद्ध दक्षिण अफ्रीका – २१ रनले विजयी