अस्ट्रेलियन क्रिकेटर र एसोसिएसनबीच लामो युद्ध समाप्त भएको घोषणा

एजेन्सी । अस्ट्रेलियन क्रिकेटर, अस्ट्रेलियन क्रिकेट एसोसिएस (एसिए) र अस्ट्रेलियन क्रिकेट (सिए)बीचको त्रिपक्षीय युद्ध समाप्त भएको छ । एसिए र सिएले खेलाडीसँग सम्झौता गर्दै एक महिनादेखि चलेको विवाद अन्त्य गरेका हुन् । एसिए र सिएले सम्झौता नगर्दा अस्ट्रेलियन क्रिकेटर १ जुलाईदेखि बेरोजगार बनेका थिए । सम्झौता नहुँदासम्म खेलाडीहरूले वैदेशिक भ्रमण नगर्ने चेतावनी दिएका छन् ।

सैद्धान्तिक सहमति
सिनियर र जुनियर खेलाडीले विदेशी भूमिमा प्रतिस्पर्धा नगर्ने चेतावनी दिएपछि एसिए र सिएले प्रतिष्ठा रक्षा गर्न सैद्धान्तिक सम्झौता गरेको एजेन्सीहरूले जनाएका छन् । ‘हामीले खेलाडीसँग सैद्धान्तिक सम्झौता गरेका छौँ, अब हामीबीचका सबै विवाद समाप्त भएका छन्,’ एसिएका सिइओ एलेस्टर निकोल्सनले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । निकोल्सनले खेलाडीका सबै माग पूरा हुने जनाए । ‘हामी खेलाडीहरूको सबै माग पूरा गर्ने पक्षमा छौँ, तर खेलाडीहरूले आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’

वार्षिक आम्दानीको २७ प्रतिशत पाउने
सम्झौताअनुसार खेलाडीले एसिए र सिएको वार्षिक आम्दानीबाट २७.५ प्रतिशत आम्दानी हिस्सा पाउने भएका छन् । यो सिनियर पुरुष क्रिकेटका लागि मात्र लागू हुनेछ । एसिए र सिएले महिला क्रिकेटरको वार्षिक सम्झौता बढाएको छ । एसिए र सिएले महिला क्रिकेटरसँग वार्षिक ७ करोड ५ लाख डलर सम्झौता गरेका छन् । यसैगरी, उनीहरूले वार्षिक आम्दानीमध्ये १ करोड ६७ लाख डलर पाउनेछन् ।

खेलाडीले भ्रमण गर्ने
एसिए र सिएसँग सम्झौता गरेपछि अस्ट्रेलियन क्रिकेटरले विदेशी भूमिमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस वर्ष अस्ट्रेलियाको बंगलादेश, भारत र इंग्ल्यान्डमा प्रतिस्पर्धा गर्ने योजना छ । ‘बिहीबार सम्झौतापछि खेलाडीहरू बंगलादेश, भारत र इंग्ल्यान्डविरुद्ध सिरिज खेल्ने राजी भएका छन्,’ सिएका सिइओ जेम्स साउथल्यान्डले भने, ‘हामी खेलाडीसँग धेरै लचिलो भयौँ ।’ जेम्सले २ सय ३० खेलाडीको भविष्य सुनिश्चित भएको जनाएका छन् ।

एसेज सिरिजमै माग पूरा
एसिए र सिएले खेलाडीहरूको माग इंग्ल्यान्डविरुद्ध एसेज सिरिज दौरान पूरा हुने जानकारी दिएका छन् । यसअघि बंगलादेश र भारतविरुद्धको सिरिजमा भने माग पूरा नहुने उनले स्पष्ट पारेका छन् । ‘हामी सम्भवतः खेलाडीसँग गरेका सम्झौता इंग्ल्यान्ड भ्रमण क्रममै पूरा गर्छौं,’ जेम्सले भने, ‘सबै कागजी प्रक्रिया मिलाउन समय लाग्छ, यसकारण तत्काल उनीहरूका माग पूरा गर्न नसकेका हौँ ।’

Loading...