मोदीलाई महेश बस्नेतको साथ् : कुलमानमाथि अख्तियार लगाउन माग

काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन । पूर्व उद्योगमन्त्री समेत रहेका बस्नेतले घिसिङ्गलाई अख्तियार लगाएर छानबिन गर्नुपर्ने बताए ।

मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै भक्तपुर- २ बाट निर्वाचित सांसद बस्नेतले विद्युत प्राधिकरणले ९ अर्ब बढी बक्यौता नउठाएको विषयमा घिसिङ्गमाथि छानवीन हुनुपर्ने माग राखेका हुन् । उनले नेकपा सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समिति समक्ष घिसिङमाथि छानबिनको माग गर्दा मोदी माथि नै जाइलागेकाले पनि घिसिङ्ग प्रति शंका गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

”प्रश्नको चित्त बुझ्दो जवाफ दिनुको सट्टा प्रश्न उठाउने सांसदमाथि नै जाइलाग्ने खालको जवाफ दिने कुलमानजीमाथि छानबिन हुनुपर्छ ।” उनले भने ।

कुलमान घिसिङ्गले गरेका काममा आफूहरुको साथ सहयोग र समर्थन रहेता पनि सांसद अमनलाल मोदीले उठाएका विषयमा घिसिङ्गलाई त्यत्तिकै छोड्न नहुनेमा सांसद बस्नेतले जोड दिए । ”मोदीजीले उठाएका प्रश्न गम्भीर छन्, सार्वजनिक लेखा समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानवीनबाट नै त्यसको छिनोफानो हुनुपर्छ ।’’ उनले भने ।

यसै महिना प्राधिकरणविरुद्ध कोशी कोरिडोर लगायतका योजनामा सार्वजनिक लेखा समितिमा रहेको उजुरी उपर बोल्दै मोरंग क्षेत्र नम्बर ४ का निर्वाचित सांसद मोदीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान भ्रष्टाचारी भएको भनेका थिए । उनले उक्त आरोप लगाएपछि लेखा समितिमा सांसद मोदी र कार्यकारी निर्देशक कुलमानवीच भएको भनाभनले संचार जगतमा ठुलो चर्चा पाएको थियो ।

यो पनि पढ्नुस्

अग्नि परीक्षामा अमनलाल मोदी