क्रान्ति उत्तर हैन प्रश्न हो –जाँन हालवे
‘जनयुद्ध’ का अगुवा अर्थात् प्रथम प्रहरमा मैले भेटेका प्रचण्ड (२०३७) र बाबुरामहरू (२०४७) अहिले जस्तै थिएनन्। शारीरिक आवरण एउटै भए पनि आदर्श, भूमिका, सपना र प्रतिबद्धता भने आकाश-जमिन झैं फरक थियो र छ। कुनै बेला समग्र पार्टीकै अभिभावक भएका उनीहरू कालान्तरमा आफ्नै निजत्व, परिवार र घेरामा कैद हुँदै गए। भन्नु, गर्नु, देखिनु र हुनुमा भिन्नता आएजस्तै मित्र–दुस्मन र दुस्मन–मित्र पनि बन्न पुगे। हरेक सम्बन्धले उसका सोच, भूमिका, सपना र लक्ष्य किटान गर्छ। नयाँ चाकर बनेका कार्यकर्ताले गुट बनाए, समाए। आलोचनात्मक चेत निषेध भए। निजी र पुँजीसँग टुटेका सम्बन्ध जोडिनुसँगै त्यागी र क्रान्तिकारी–कार्यकर्ता उत्पादक उनीहरू नै शान्ति प्रक्रियासँगै चाकरीमा रमाउने थाले। राजतन्त्रबाट गणतन्त्रमा फट्को मारे पनि सांस्कृतिक रूपमा क्लेप्टोक्रेसीको छनक राज्यव्यवस्थामा सहमतिको राजनीतिमा आइसकेको थियो भने माओवादी त्यसको एउटा प्रमुख अंशियार। संयोगले बनेका असंख्य विद्रोहीलाई पनि आफ्नै गौरवताको बोझ गहु्रँगो भयो।
त्यसबेला गिल्ला गर्ने दुस्मन अहिले त त्यो र यो अवस्था देखेर झन् खित्का नै छोड्छन्। विद्रोहका आफन्त भने निराश, आक्रोशित या कुण्ठाग्रसित थिए। दुवै नेता व्यवहारवादी बन्ने नाममा प्रतिक्रियाले हाकिँदै गए। दुवैका स्वत्वका टकराहट कहिले वैचारिक, कहिले व्यवहार त कहिले सत्ता छिनाझपटका रूपमा चले। त्यसको उच्चतम अभ्यास आयोजक देखिए पनि प्रायोजक नदेखिएको धोबीघाट भेलामा छरपष्ट भयो। कालान्तरमा जसो पर्ला त्यसै टर्ला भनेर अँध्यारो सुरङको यात्रा गर्दै जाँदा फर्कनै नसक्ने सीमामा अहिले पुगेका मात्र हुन्।
सोभियत रूसको पतन र बर्लिन पर्खाल ढल्नुसँगै अमेरिकी सुरक्षातन्त्रका विचारक फ्रान्सिस फुकोयामाले के इतिहासको अन्त्य भयो ? भन्न थाल्दै गर्दा नेपालमा भने ‘जनयुद्ध’ सुरु भएको हो। तयारीकै बेला मैले उनको –इन्ड अफ हिस्ट्री एड लास्ट म्यान’ का साथै नक्सल आन्दोलनको उतारचढाव र विघटनबारे भारतीय समाजशास्त्री अभयकुमार दुवेको क्रान्तिका आत्मसंघर्ष र सन् १९९३ मार्चमा प्रकाशित हिमाल अंकको स्टेफिन यफ माइकसेलको लेख दिएर प्रचण्डसँग छलफल गरेको थिएँ।
उनले असफल क्रान्तिबाट सिकेर नयाँ क्रान्ति गर्ने हो, विजयमञ्जिल पुर्याउने हो भनेपछि मलाई अछामका बाँकावीर, सुदूरपश्चिमका भीमदत्त पन्त र कृष्णशंकर अयंगर, मध्यपश्चिमका कामी बूढा र भवानी प्रसादको जुम्ला, हेमे-बेसारे र गुल्मी किसान विद्रोह, शमशेरबहादुर बिष्ट र गुल्मी, झापा विद्रोहका कार्य, कारण र परिणाम, जुगेडी जुठपानी संघर्ष र टेष्टबहादुर गुरुङका भूिमका, पहिलोपटक सीमान्तकृत चेपाङ जातिका दशरथ चेपाङको सहादतबारे अध्ययन गर्ने जोस बढाएकै हो। कसरी मधेसमा किसान संघर्ष भए, खोज्न हौस्यायो। इतिहास मुर्दाको कथा न चिहानघारी पर्यटन नै। बरु ‘जसले विगतलाई पेस्तोलले हान्छ, उसको भविष्य बमले छियाछिया हुन्छ’ भन्ने दागिस्तानी कबि अबु निदालको जस्तै हो।
“त्यागमय गाथा वीभत्स कथामा फेरिएपछि ‘जनयुद्ध’ उनीहरूलाई युद्धको वाहक वा हकवाला हैन, पुरिएको एउटा सपना मात्रै रह्यो। यसकारण भन्नैपर्ने हुन्छ– शासक वर्गको विचारधारात्मक वर्चस्व यति कलामय हुन्छ कि कुनै दिनका क्रान्तिकारीलाई उपभोक्तावादको अगस्ति भोक र लालसा जगाएर, फसाएर सबैलाई कलामय पचाइदिन सक्दो रहेछ। यो नै ‘जनयुद्ध’ पचाउने मनोयुद्ध हो।”
यही वैशाख २२ र २३ को प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा ‘जनयुद्ध’ को दुवै मूलजाहाजीले माओवादबाट मात्रै हैन, सिद्धान्तको राजनीतिलाई व्यवहारवादी र आवश्यकताको तर्क दिँदै माक्र्सवादबाटै आफूलाई मुक्त गराए। केपी ओली र उपेन्द्र यादवको सहायक स्विकारे। प्रज्ञाको भीडलाई भरपूर आवेगमा ल्याउने दुवैले कोसिस नगरेका हैनन्। तर, आफैंले अगुवाइ गरेको पार्टी भत्काएपछि पत्याउनेको जमात भने कमै रह्यो। समय र परिस्थितिले ओली र यादवलाई कति फेर्यो ! पुराना तुष कति मेटिए ! नयाँ राजनीतिक संस्कृति केका आधारमा बने ! ती भिन्नै चर्चाका विषय हुन्। सबैसामु विवशता भनेको पुरानै तरिकाले नयाँ पाउन नसकेपछि तरिकानै फेर्नु चुत्थो विकल्प रहन्थ्यो, त्यही रोजे।
आफ्ना कामकोे औचित्य सावित गर्न सबैसँग तर्क हुने गर्छन्। हत्याराले मान्छे मार्नु अपराध हो भन्ने सोच्यो भने खुकुरी उठाउनै सक्दैन, बलात्कारीले बलात्कार अपराध हो भन्ने लाग्यो भने उसको शारीरिक अंगले कामै गर्दैन। ठगलाई लोभीहरू पहिलो कोटीका ग्राहक बनिदिन्छन् भने चतुर नेतृत्वलाई आस र त्रासबाट हाँकिने कार्यकर्ता। यही समयमा आफ्नै इतिहासलाई मुर्दावाद भन्ने प्रचण्ड र बाबुराम डाक्टर साबका पनि आआफ्नै सीमा, समस्या र तर्क छन्। हरेक घटनाका पछाडि कारण हुन्छ। यो भूसंवेदनशील देशमा नेपाली राजनीति कता जाँदै छ ? देखिएका र अदृश्य, शक्ति र प्रायोजक को हुन् ?
हाल्वेकै भनाइमा – क्रान्ति (विद्रोह) उत्तर हैन प्रश्न हो। आखिर त्यत्रो वेगमय आन्दोलनका रथ सवारहरू एकाएक किन फेरिन्छन् त ? के इतिहासको अन्त भएकै हो ? क्रान्ति र परिवर्तनको युग समाप्तै भएकै हो ? हरेक क्रान्तिको नियति एउटा नयाँ अभिजात शासक वर्ग जन्माइदिनु र आफू भने अझ पीडादायी अवस्थामा पुग्नु हो त ? अगुवा फेरिँदा पनि विद्रोहको हस्तक्षेपले पलाएको जागृति, स्वाभिमान र महत्वाकांक्षाले भने अर्कै सामाजिक मनोविज्ञान तयार गरिसकेको हुन्छ। परिवर्तनले आवेग मात्रै तयार गर्दैन, समाज त खल्बलिन्छ। चरम महत्वाकांक्षा पनि बढाइदिन्छ। जब त्यो पूरा गर्ने वस्तुगत अवस्था हुँदैन तब प्रतिक्रिया थपिँदै जान्छन्। जुन धरातलमा नयाँ नेतृत्वले पहिचान बनाएको हुन्छ जब त्यो आधार नै खस्किन्छ, तब उसले नयाँ बाटो सहजै खोज्न थाल्छ। नयाँ सोच, मान्यता र आदर्श स्विकार्दै नयाँ तर्क सिर्जना गर्छ। सामूहिक कल्याणकारी सोच र अर्कोतर्फ व्यक्तिगत उपलब्धि रक्षा र विकासको एकैसाथ सहयात्रा हुनै सक्दैन। आवश्यकता र औचित्यताको बीच द्वन्द्व हुन्छ नै।
आन्दोलनले जनमतलाई भावनामय बनाएपछि त्यसै आवेगको रथ चढेर व्यक्तिबाट व्यक्तित्व त बन्छ तर, बढेको महत्वाकांक्षा त्यही स्तरबाट पूरा नहुने छाँट देखेपछि व्यवहारवादी बन्ने नाममा पहिलाका आदर्श, सपना, प्रतिबद्धता र लक्ष छोड्न कुनै समस्या नै उनीहरूलाई पर्दैन। मधेसी स्वाभिमानी आवेगी रथ चढेर अब त्यसलाई कबाड बनाउने उपेन्द्र यादव र सीके राउतको सन्दर्भमा पनि यो लागू हुन्छ। एउटै घटनाकोे पनि फरक दृष्टिकोण राख्नु र अनुकूल परिणाम नआएपछि फेस सेभ गर्नु, आफ्नै मान्यता त्यागेर निमित्त तर्क कोरल्नु कर्ताकोे नियति र बाध्यता हो। विश्लेषण एकै भए पनि संश्लेषण फरक हुन्छन्।
“भौतिक परिवर्तनपछि लाग्दा आफ्नै आदर्शको कुन बेला मलामी गएँ भन्ने कुरा पत्तै हुँदैन। प्रचण्डप्रतिको द्वेषभाव, उग्र प्रतिक्रिया उन्नतिको सबभन्दा वाधक सोचले नै बाबुरामलाई माक्र्सवादबाटै पर हुत्याइदियो। प्रचण्ड भने अघिपछि बढ्न र हट्न सक्ने र निर्णयमा नयाँ खेलमा सामेल हुने मान्छे भने हुन्। बाबुरामले आफ्नै बाटो समाते तर प्रचण्ड भने जनयुद्धलाई कथा बनाउँदै महाजँघारमा काशी जाने कुतीको बाटोमा बाँकटे हानिरहेछन्।”
नयाँ भूमिकामा शक्ति फेरि आर्जन गर्ने विषयमा टेस्टेड व्यक्तिका तर्क पत्याउन र आवेगी हुन उसको जीवनचर्या, संगत, शक्ति र भूमिकामा हुँदा राज्य र समाजप्रतिको व्यवहार, आसेपासे र नातागोता, आफन्त एवं सम्पत्ति मोह, परिवारप्रतिको व्यवहार समाजले मिहिन पाराले नियालिरहेको हुन्छ। सिद्धान्त, विचार र भूमिका जोडेर हेरिरहेको हुन्छ। दुस्मन रिझाउन भने भूतपूर्व सिद्धान्तवादीलाई औधी गाह्रो हुन्छ। आफ्नै विगतप्रति गाली गरेर मात्रै दुस्मन खुसी हुँदैन। सर्वांग बनाएर सडकमा म्याराथुन गराएपछि मात्र ऊ रातो मखमल बिछ्याएर बुइगलमा पुर्याउँछ। तर, पनि इख मारेको भने हुँदैन। यो वर्ग चरित्रको सांस्कृतिक अवशेष हो। आदर्शवादी फेरिए पनि दुस्मनको मन र मस्तिक भने कहिल्यै फेरिँदैन। फेरिने चाहनेले अनेकौं परीक्षण स्टिल ढोका छिचोल्नुपर्छ। द्वन्द्व व्यवसायीका अन्तर्राष्ट्रिय सञ्जाल र कर्पाेरेट राजनीति त अझ पार गर्नुपर्छ।
युद्धोत्तर अवस्थामा संवेदना, भावना र अनुभूति पनि चिहानमै पुरिँदो रहेछ। आफैंले समस्या पैदा गर्नु त्यसैलाई हल गर्न पार्टी लगाउनु, फेरि आफैमाथि ध्यान केन्द्रित गराउनु र आवेग भर्नेे प्रयत्न दाहाल र भट्टराईका पछिल्ला प्रयास हुन्। अब भने त्यागमय गाथा वीभत्स कथामा फेरिएपछि ‘जनयुद्ध’ उनीहरूलाई युद्धको वाहक वा हकवाला हैन, पुरिएको एउटा सपना मात्रै रह्यो। यसकारण भन्नैपर्ने हुन्छ– शासक वर्गको विचारधारात्मक वर्चस्व यति कलामय हुन्छ कि कुनै दिनका क्रान्तिकारीलाई उपभोक्तावादको अगस्ति भोक र लालसा जगाएर, फसाएर सबैलाई कलामय पचाइदिन सक्दो रहेछ। यो नै ‘जनयुद्ध’ पचाउने मनोयुद्ध हो।
लियोनार्दो दा भिन्ची भन्छन्, ‘उनीहरू जो सिद्धान्तविनाको व्यवहार भन्छन्, ती जहाजीजस्तै हुन्, जोविना खैयाको जहाजमा सवार त हुन्छन् तर कहाँ जाने गन्तव्य भने थाहा हुँदैन।’ भावना, क्षणिकता र पक्षधरताका आवेगले उरालिएर वैचारिक फट्को नै हान्नै नसकेकाले भन्नैपर्ने हुन्छ– हामी विचारले चल्ने गरेकै छैनौं। विचारले चल्ने समाज मात्र प्रगतिशील हुने गर्छ। दाहाल भट्टराईले आफ्ना बाटो रोजे। तर सांस्कृतिक सामन्तवादी विचारबाट माथि उठ्न भने सकेका थिएनन् र सकेनन्। सामन्तहरू टुट्न सक्छन् तर आफन्तसँग झुक्न भने सक्दैनन्। सोचको फेरबदलले मात्रैै सांस्कृतिक र संस्कारगत क्रान्ति हुन्न।
भौतिक परिवर्तनपछि लाग्दा आफ्नै आदर्शको कुन बेला मलामी गएँ भन्ने कुरा पत्तै हुँदैन। प्रचण्डप्रतिको द्वेषभाव, उग्र प्रतिक्रिया उन्नतिको सबभन्दा वाधक सोचले नै बाबुरामलाई माक्र्सवादबाटै पर हुत्याइदियो। प्रचण्ड भने अघिपछि बढ्न र हट्न सक्ने र निर्णयमा नयाँ खेलमा सामेल हुने मान्छे भने हुन्। बाबुरामले आफ्नै बाटो समाते तर प्रचण्ड भने जनयुद्धलाई कथा बनाउँदै महाजँघारमा काशी जाने कुतीको बाटोमा बाँकटे हानिरहेछन्।
नियति नाप्ने एउटै तराजु भनेको परिणामको आँकलन हो। तीव्र महत्वाकांक्षा, सामाजिक अन्तरविरोधको अवस्था, फेरिएका आदर्श, पारिवारिक र आफन्त मोह, द्रव्यप्रेम, भुँइमान्छे र विज्ञान चेतप्रतिको बेवास्ता, फेर्न गएका स्वयं फेरिनु र टिक्न नसककेका प्रतिबद्धता, वर्ग रूपान्तरण र अभिजात वर्गको लालसा र नग्न उपभोक्तवादका पछुवा बनेकाले मूल नेतृत्व पंक्तिमा आएको स्खलन ‘जनयुद्ध’ लाई आत्मसात गर्नुभन्दा उनीहरूले भर्याङ मात्र बनाएको इतिहासले समीक्षा गर्नेछ।
यो समय हो– क्रान्ति र विद्रोहका उत्साही सुधारवादी र स्वप्नद्रष्टाहरूको निराशाको। निराशा चिर्न नयाँ तरिका र अभियानको। दुनियाँ फेर्न आफ्नै लागि घारो र कात्रो बोकेर झ्याम्म रणसमरमा हाम फालेकाहरू स्वयं फेरिँदै सिन्डिकेट अपराधमा सामेल भएपछिको यो निराशा, आक्रोश, छट्पटाहट र चिच्याहट समय हो। आक्रोश जताततै छ तर सडक भने मौन छ। फ्रान्सेली राज्यक्रान्तिका पहिलो पंक्तिका जेकोवियन नेता सेन्ट जस्टीको भनाइ थियो–जो अधुरो क्रान्ति गर्छ त्यसले आफ्नो चिहान स्वयं खन्छ।’ दोष अरूलाई मात्रै दिएर पुग्दैन। राष्ट्रिय र सामाजिक अपराध देख्दा पनि मुख सिएर बसेको मेरै पुस्ताको दोष हो।