विप्लव र विद्रोह

प्रचण्डले खोलामा बगाएका हतियार विप्लवले बगरमा फेला पारे भने फाल्नेलाई के दोष कि भेटाउनेलाई दोष ?

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसँगै राजनीतिकवृतमा विप्लवले नेतृत्व गरेको नेकपा र विप्लवबारे व्यापक बहसको थालनी भएको छ । विप्लवलाई उत्तेजीत गराउने र युद्ध भड्काउने खेतीपातीको अभियानले अझै अनेकन हौवा फिजाएका छन् । सरकारले नेकपा नेता कार्यकताहरुलाई पक्राउ गरेर नियन्त्रणमा लिए पनि प्रतिबन्धित नेकपाले प्रतिरोधात्मक जवाफी हमला गरेको छैन ।

यो घटनापछि राजनीतिमा माओवादी आन्दोलनको धारा मात्र होइन, सबै क्षेत्र प्रभावित हुन थालेको देखिन्छ । यसलाई नेपाली राजनीतिको नयाँ ध्रुविकरण भन्न पनि सकिन्छ । यो धुव्रिकरण अगाडि बढ्दै जाँदा सामाजिक दलाल पुँजीवादी संसदीय धार र गैरसंसदीय धारामा नेपाली राजनीतक दलहरु धुव्रिकरण हुनु अनिवार्य देखिन्छ ।

नेपाली जनयुद्धले राष्ट्रिय मुक्ति युद्धमा प्रवेशका चुनौती सामना गर्नुपर्ने, नेतृत्व स्वयम्ले निर्णायक जोखिम मोल्नुपर्ने र समग्र विकासको चुनौतीका सामू जनयुद्धका नायक प्रचण्डले जोखिम सामना होइन, आत्मसमर्पण गर्न पुगे र माओवादी आन्दोलनमा सबै समस्या त्यहीँबाट सिर्जना भएको नेकपाको ठहर छ । शान्ति प्रक्रियामा आएका विप्लव किन बिच्किए त ? त्यसको राजनीतिक सैद्धान्तिक तथ्यहरुको खोजी जरुरी छ ।

माओवादी विभाजनसँगै विप्लव र उनको पार्टीले आफ्नो रणनीति अघि सारेको थियो । उतिबेला संविधानसभाको खारेजी र नयाँ शान्ति सम्झौताको माग गरेको थियो । राजधानीको खुल्ला मञ्चमा कार्यक्रम गरेर भाषण गर्दा नसुन्नेहरु बम पडकाएपछि मात्रै बर्बराउँछन् किन होला ? हिजो रोल्पा सहमति अनुरुप सत्ता साझेदारीको प्रस्ताव गरेका विप्लवलाई पदलोलुप र मन्त्री पद मागेको आरोप लगाउनेहरुले सोच्नुपर्ने कुरा केहो भने विप्लव शान्ति प्रक्रियामा सामेल त भएकै हुन नि तर उनले आत्मसमर्पण किन गरेन भन्न मिल्छ र ?

हिजो जनयुद्ध उठानका सैद्धान्तिक प्रतिबद्धता गर्दै माओवादी नेताहरुले आफैले खाएको कसमलाई आफैले धोती लागाउनुलाई कसले महान भन्न सक्छ र ? उक्त प्रतिबद्धताको बुदा न.३. मा भनिएको छः
“हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वंस गरी नयाँँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातिकै स्वर्णिम भविष्य–साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजान दृढताविना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छाँैँ ।”

यो पंक्ति राम्रोसँग पढे त प्रचण्डले आफुले आफुलाई त्यहीबेला घोषणा गरेको अपराधी हो । आज दुनियाले मात्र उत्तिकै भनेको कहाँ हो र ? मुख्य कुरा यही बुँदामा उल्लेख गरेको सामन्तवाद र साम्रज्यवादलाई ध्वंश गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादी क्रान्तिमा अघि बढ्ने कुरा गरेका कमरेडहरुको आज कसका लागि बन्दुक ? के का लागि बन्दुक भन्दै उदेक लाग्ने कुरा गर्छन । सामन्तवाद र उसको प्रतिनिधि राजतन्त्र खत्तम भयो, अनि साम्राज्यवादको पहाड कसरी फोड्ने हो त ? दलाल पुँजीवादको रुपमा नेपालमा राज गरेका साम्राज्यवाद विरुद्ध लडने हिजै कसम खानेहरुले राजतन्त्र ढलेपछि बन्दुक मिल्काउनु आफैले घोषण गरेको अपराध होइन र । कसरी तोडने हुन त साम्राज्यवादको जालो कमरेडहरुले ? सोही प्रतिबद्धताको बुँदा नं ६.मा उल्लेख गरिएको छ । हाम्रो यो योजना, सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई संयुक्त पारी सशस्त्र सङ्घर्ष सञ्चालन गरिनेछ ।
अब यहाँ माओवादी आन्दोलनको नेताहरु सामु प्रश्न छ नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको जनअधिकारका लागि सामन्तवाद साम्राज्यवाद तथा दलाल तथा नोकरशाही पुँजीवाद विरुद्ध कहिले कहाँ के कसरी मोर्चाबन्दी गरी नयाँ नेपालको जग हाल्ने प्रयत्न गरियो र ? सोही अनुच्छेदको अर्को बुँदामा भनिएको छः “कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरिब किसानहरूमाथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टी कुनै देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्नेछैन । ”

देशमा लोकतन्त्रको आगमन र कमरेडहरुको सिहदरबार प्रस्थानसँगै आज देश कृषि आयातले धानेको छ । पछिल्लो सात महिनामा मात्र २० अर्बको चामल र १ खर्व २९ अर्बको कृषिजन्य समाग्रीको आयात भएको सरकारी तथ्य छ । कृषि क्रान्तिको मेरुडण्ड बलियो भएको नै देखियो । जनयुद्ध उठानका एजेण्डालाई अलपत्र पारेर संसदीय व्यवस्थामा पुनरागमान भएको सत्य कहाँ छोपिन्छ र । यति भनेपछि कमरेडहरुको हिजो प्रतिज्ञा नेपाली जनताको छोराछोरीलाई बलिको बोका बनाउने खोस्टा हो त ? रुपचन्द्र विष्टले भने झै व्यवस्था बिग्रे नेता दोषी नेता बिग्रिए अगुवा पछुवा दोषी सत्य र तथ्यलाई कुल्चिए किन कुर्लने होला ? हिजो के खाएर ल्याप्चे लाएको हो यो बुँदाहरुमा ?

कतिपयले भनेका छन् । विप्लवले हिजो के हेरेको थिए त । हो माओवादीमा नेतृत्वको बहस नभएको होइन । आफुभन्दा दिग्गज र अग्रज ठानिएका हस्तीहरुलाई उछिन्दै विप्लवले आज आफुलाई नेपाली गैर संसदीय कम्युनिष्ट पार्टीको नेताका रुपमा उभ्याउन सफल भएका छन् ।
हिजो नेतृत्व बहसको गर्भ हत्या गर्ने प्रकरणको रुपमा माओवादी भित्र आलोक मृत्य प्रकरणलाई लिने गरिन्छ । चुनवाङ बहिष्कारको कथा ब्यथा बोकेका मणी थापा र रविन्द्र श्रेष्ठ त जिउँदा साक्षी हुन । बादलपथको विलय र लालगद्दार हुँदै अहिलेको ओलीपथसम्म विरोध गरेर उछित्तो काढ्ने र अन्ततः घुमीफिरी रुम्जाटार भनेझै मालिकको पाउँ पखाल्दै समर्पण गर्न जाने चरित्र भन्दा पृथक प्रचण्डसँग सिधा टक्कर लिन सक्ने एक मात्र नेताका रुपमा माओवादी वृत्तमा विप्लव नै मानिन्छन् । आधारइलाकाको इन्चार्ज र खारा मोर्चाको कमिसार भएका कारण पनि विप्लवमा प्रचण्डसँग टक्कर लिने मनोबल निहीत रहेको धेरै नेताहरुको भनाई छ ।
विप्लव युवाहरुबीच लोकप्रिय पनि छन् । पछिल्लो समय प्रचण्डसँग पेचिलो संघर्ष गर्ने पहिलो नेता पनि विप्लव नै हुन् । पछिल्लो समय माओवादी आन्दोलनमा नेतृत्वको संकट प्रकट भयो । कार्यदिशा र नेतृत्वको अन्तरलाई विप्लवले समाधान गर्न खोजेको आशा राजनीतिक वृत्तमा छाएको पाइन्छ ।

अब विप्लव र उनको प्रतिबन्धित नेकपा माथिको प्रश्न प्रचण्ड हुने कि नहुने भन्ने हो ? सही हो अब अर्को प्रचण्ड चाहिएको छैन नेपाललाई । एक प्रचण्डको तमासाले दुनियालाई हैरान छ भने अर्को किन चाहियो त । अर्को कुरा यस कुराको आशय जति विद्रोह गरे पनि सम्झौतामा आउनुपर्छ विकल्प छैन भन्ने आशय हो ।
नेपाली राजनीतिमा मूलतः २००७ सालदेखि यता इतिहासको पुनरावृति भएको छ । २००९ माघ ९ गते डा. के आई सिंहले जेल विद्रोह गरे । यसैलाई निहुँ बनाएर २००९ माघ ११ गते कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । २०१७ सालमा राजा महेन्द्रले शाही कु मार्फत सत्ता हत्याएपछि सबै दलमाथि प्रतिबन्ध गरेको थियो । २०५२ बाट जनयुद्ध घोषणा गरेको माओवादी विरुद्ध २०५८मा प्रतिबन्धित मात्रै नभएर संकटकालको घोषणा गरी सेना परिचालन गरियो ।

यतिबेला २०७५ बाट विप्लव नेतृत्वको नेकपा प्रतिबन्धित भएको छ । नेकपाले शान्ति प्रक्रिया असफल भएको बताएको छ । संयुक्त राष्ट्रसंघको भूमिका पक्षपातपूर्ण भएको जिकिर उसले संयुक्त राष्ट्रसंघका प्रतिनिधि र कुटनीतिक निकायमा जाहेर गरिसकेको छ । जस्तो क्रिया उस्तै प्रतिक्रिया हुँदा इतिहास नदोहोरिएला भन्न सकिन्न तर नेकपा चिनी र रुसी अनुभवलाई नेपाली विशेषतामा प्रयोग गर्दै अघि बढ्ने उसको दाबी छ । त्यसलाई उसले एकीकृत जनक्रान्तिको कार्यदिशा भनेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासलाई जोडेर वर्तमानमा समीक्षा गर्ने हो भने अब दरभंगा प्लेनमको एजेण्डा वरिपरि घुमेको कम्युनिष्ट आन्दोलनको औचित्य समाप्त भएको छ । नयाँ स्कूल अफ थटको विकास जरुरी छ । रायमाझी दरबार पसेर बिलाएपछि बाँकी पुष्पलालको संसद पुर्नस्थापना आन्दोलनताका गिरीजाप्रसादले बोकेर अहिले माओवादीको एमालेकरणसँगै यसको पनि औचित्य समाप्त भएको छ । मोहनविक्रमको संविधानसभाको नारा पनि प्रयोग भई सर्वहारावर्गको हित विपरीत प्रयोग भएको तथ्य आँखै सामु राखेर विकल्प र नयाँ आयामको बारेमा छलफल किन नगर्ने ? कम्युनिष्ट आन्दोलनमा कसम खाँदै मुठी कसेर हिजो, ‘तिमी झन् आगो बन्नु, यो आस्था मैले गुमाए भने’ भन्ने गीत गाउने र गाउन लगाउनेहरुले सोच्नु पर्दैन ? आफुले गरेको गद्दारी र समर्पण विरुद्ध विप्लव आगो बने त के बिगारे सके ल्याउनु नि समाजवाद । कहाँ छेकेको छ र विप्लवले ? रेल, पानी जहाज समृद्धिको समाजवाद फुलाउन नसकेपछि, राष्ट्रघात जनघात, भ्रष्टाचार लुटतन्त्र मौलाउँदा कारवाही गर्ने हुत्ती नआएपछि विप्लवलाई प्रतिबन्धको हल्ला मच्चाएको छ सरकारले । पुलिसको बन्दुक देखाएर धम्काउने खोज्नेहरु छन्, हातमा तरबार बोकेर कसरी हुन्छ र वार्ता हुन्छ । समस्याको समाधान साधनबाट होइन साध्यबाट हल हुनु जरुरी छ । प्रतिबन्धपछि पुर्व जनसेना कमाण्डर एवं कृषिमन्त्री बलदेवले भने, ‘विप्लवले लगे हतियार ।’ केही समयअघि बाबुरामले कञ्चनपुरमा भने, ‘हतियार प्रचण्डले खुफिया ऐजेन्सीलाई बेच्न खोजेका थिए ।’ तर, प्रचण्ड स्वयमले भने सेना र हतियारको सङख्या नमिल्दा ‘हतियार आगोले जलायो, खोलाले बगायो’ भनेका थिए । १२ वर्षमा खोला फर्किन्छ भनेझै प्रचण्डको खोलाले बगाएको हतियार विप्लवले बगरमा फेला पारे भने फाल्नेलाई के दोष कि भेटाउनेलाई दोष ?