२१ लाख राशीको इपिएल क्रिकेट प्रतियोगिता आयोजना

नेपाली क्रिकेट इतिहासमा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको प्रतियोगिता

काठमाडौँ, १५ साउन । सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहने यहाँ आयोजित पत्रकारसम्मेलनमा आयोजक जोहोरा स्पोर्टस म्यानेजमेन्टका अध्यक्ष आमिर अख्तरले जानकारी दिए ।

उक्त प्रतियोगिताको विजेता टोलीले २१ लाख प्राप्त गर्नेछन् । नेपाली क्रिकेट इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेटमा विजेताले २० लाख पुरस्कार प्राप्त गरेको थियो ।

पत्रकारसम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र आयोजक जोहोराका अध्यक्ष अख्तर तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले प्रतियोगिताको नयाँ लोगो सार्वजनिक गरे । गत वर्षदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो । विजेता टोलीले गत वर्ष पाँच लाख पुरस्कार प्राप्त गरेको थियो ।

राष्ट्रिय टिमका कप्तान खड्का तथा राष्ट्रिय टोलीका प्रशिक्षक टमाटाले इपिएल नेपालको ठूलो क्रिकेट प्रतियोगिता भएको बताउँदै यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकासमा सहयोग पुग्ने बताए । प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।

Loading...