भाविकाको ‘छापाकला’ चित्र प्रदर्शनी सुरु

काठमाडौँ, १५ साउन । अमेरिकामा अध्ययनरत छापाकलाकी विद्यार्थी भाविका दुगडको छापाकला चित्र प्रर्दशनी सुरु भएको छ ।

सिद्वार्थ आर्ट ग्यालरी, बबरमहलमा नेपालका लागि मेक्सिकोका मानार्थ वाणिज्य दूत नरेश दुगडले आज ‘लेयरिङ द सिटी’ शीर्षकको सो प्रदर्शनीको उद्घाटन गरे । उनले नेपालमा कमै मात्र प्रयोग गरिने छापा कलाको प्रवद्र्वन गर्न यस्तो प्रदर्शनीले सहयोग पुग्ने बताए ।

अमेरिकामा प्रिन्ट आर्ट (छापाकला) अध्ययनरत भाविकाले चित्रमा नेपालको परिवेशलाई उतार्न खोजेको बताए ।

“पहिलो प्रदर्शनी हो, धेरै कुरा सिक्न बाँकी छ, मैले अमेरिकामा हुँदा घर सम्झँदा गरेका अनुभवलाई चित्रमा समेट्ने प्रयास गरेकी छु”–उनले भने ।

यही साउन २६ गतेसम्म हुने प्रदर्शनीमा १९ वटा चित्र राखिएका छन् । १५ हजार देखि ३५ हजार मूल्यसम्मका चित्रले नेपालका परिवेश र सँस्कृतिलाई झल्काएका छन् ।

छापा कलाकार कविराज लामाले चीन र जापानमा विशेष गरी छापाकला बनाउने प्रचलन भएपनि नेपालमा पर्याप्त साधनस्रोतको अभावमा अन्य कला जस्तो चर्चामा आउन नसकेको बताए ।

Loading...