हामी त्यस्तो युगमा बाँचिरहेका छौं जहाँ पुरानो कुरा मरिरहेको छ तर नयाँ जन्मिन सकिरहेको छैन ।
– एन्टोनियो ग्राम्सी
इटालियन माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले निकै अघि मरुभूमिकरण हुँदै गइरहेको मानवीय सभ्यता र बाँझो हुँदै गइरहेको सिर्जनशीलताप्रति माथिको कथनमार्फत गम्भीर चिन्ता प्रकट गरेका थिए । सिङ्गो ब्रम्हाण्ड नियमित गतिमा छ र समाज पनि निरन्तर गतिशील हुुनुपर्छ । गतिशील समाजको गर्भबाट नै नवीनतम सिर्जनाको जन्म हुन्छ । जसले सभ्यतालाई स्वास प्रदान गरेर जीवन्त राख्दछ । जसरी मानव शरीरमा पुराना कोषहरु मर्दछन् र तिनलाई शरीरद्वारा उत्पादित नवीन कोषहरुले विस्थापन गर्दछन् अनि मानिसको जीवन सक्रिय रहन्छ । ठीक त्यही कुरा समाजको जीवनमा पनि लागू हुन्छ । नभए स्थिरता र यथास्थितिले समाजलाई मृत्युन्मुख बनाउँछ ।
यो सन्दर्भलाई मैले मानव सभ्यतालाई २१ शताब्दीको यो कुइनेटोसम्म ल्याइपु¥याउन मेरुदण्डको भूमिका निर्वाह गरेको साहित्यसँग जोड्ने यत्न गर्दैछु । साहित्यले मानिसको चेतनालाई दृष्टि प्रदान गर्दछ र जीवनको नवीनतम सत्यको आविष्कार र जगतका रहस्यको उद्घाटन गर्न अभिप्रेरित गर्दछ । नवीनताको खोजी गर्ने चिन्तनको हुटहुटीको फलस्वरुप इतिहासमा महान साहित्यकारहरुले सिर्जना गरेका विशिष्ट रचनाहरुले मानवसमाज परिपोषित भएको हो र तिनकै गहिरो अध्ययन र बहसविमर्शबाट मानिसको नयाँ पुस्ता नयाँ सिर्जना गर्न उत्प्रेरित भइरहेको छ । तर, बढ्दो भूमण्डलीकरण र पुँजीवादी बजारको आक्रामक विस्तारीकरणले साहित्यलाई पनि कृत्रिम वस्तुमा परिवर्तन गरेको कुरा अहिलेको कटु यथार्थ हो ।
साहित्यमा पुँजीवादको दुष्प्रभाव
पुँजीवादले सिङ्गो मानिसलाई नै क्रयबिक्रयको मालमा परिणत गरेर त्यही अनुसार व्यवहार गरिरहेको सन्दर्भमा मानिससँग गाँसिएका अन्य विषयहरुलाई वस्तुमा बदल्न खोज्नु र हरेक कुरालाई पैसाले मापन गर्नु कुनै आश्चर्य होइन । पुँजीवादले केवल पैसा चिन्दछ र पैसाले परिभाषित गर्न नसक्ने हरेक चीजलाई अर्थहीन देख्दछ । मानवीय सम्बन्ध, संवेदना, पेशा, शिक्षा, स्वास्थ्यदेखि सर्वाधिक पवित्र मानिने प्रेमलाई समेत पुँजीवादले आफ्नो विकृत बदनियतको नङ्ग्राले आक्रमण गरिरहको छ । पुँजीवादको प्रदूषणले विश्व मानव समाज हायलकायल भएको यस्तो परिवेशमा साहित्य मुनाफाखोर पुँजीवादी बजारीकरणको अतिक्रमणबाट अछूतो रहनु असम्भव छ ।
यस आलेखमा साहित्यमाथि पुँजीवादी बजारीकरणको दुष्प्रभाव र त्यसले पार्ने दूरगामी असरबारे चर्चा गर्ने प्रयास गरिनेछ । कुनै पनि कुराको प्रचार प्रसार हुनु र धेरैभन्दा धेरै मानिसको पहुँचमा पुग्नु निःसन्देह राम्रो कुरा हो । विज्ञान र प्रविधिको चमत्कारिक विकासले विज्ञापन र प्रचारीबाजीको युगलाई कायापलट नै गरिदिएको छ । तर, कुनै पनि सामग्री सर्वसुलभ हुनु र व्यापक प्रचारबाजी हुनुभन्दा महत्वपूर्ण सवाल यो हो कि उक्त चीज गुणवत्ता र समाजलाई अग्रगति प्रदान गर्ने दृष्टिको कसौटीमा कस्तो छ ? यही कुरा साहित्यमा पनि अक्षरश लागू हुन्छ । साहित्यको नाउँमा उत्पादित र तामझामको विज्ञापनबाजीका साथ बिक्री वितरण गरिएको चीज वास्तवमा सामाजिक चेतनालाई समृद्ध बनाउने खाले छन् कि फगत मनोरञ्जनको विष घोलेर समाजलाई यथास्थितिवादी विभ्रमको घनचक्करमा अल्झाउने खाले विषाक्त छन् ? यो प्रश्नको अग्निपरीक्षाबाट उत्तीर्ण नहुने कुनै पनि सिर्जना केवल अक्षरहरुका भाँडाकुटी खेलाइ मात्र हुन्छन् ।
अहिले नेपालमा पनि विभिन्न प्रकृति र प्रयोजनका साहित्य उत्सवहरु आयोजना हुँदै आइरहेका छन् । साहित्यिक पुस्तकहरुको प्रकाशन र बिक्री वितरण व्यापक बढेको र पठन संस्कृतिको पनि विकास अपेक्षाकृत बढेको भनिदै सुनिदै र पढिदै छ । वर्षेनी बजारमा आइरहेका पुस्तकले समाजको नवीन चिन्तन निर्माण र समयचेत गतिशील बनाउन तथा समतामूलक मानव इतिहासको रेखाचित्र कोर्न कस्तो भूमिका खेलिरहेका छन् भनेर प्रश्न गर्दै निर्मम समीक्षा गरिनु अपरिहार्य छ । होइन भने फगत बुद्धिविलास, मनोरञ्जन र पठनका लागि मात्र पठनको औचित्य किमार्थ पुष्टि हुन सक्दैन ।
साहित्यको बजारीकरण विरुद्ध भारतीय अनुभव
यसै सन्दर्भमा हालै भारतको गुलावी शहर राजस्थानमा भएको समानान्तर साहित्य उत्सवको अनुभवको प्रस्तुति यहाँ सान्दर्भिक हुन्छ । साहित्यको बजारीकरण र मुनाफाखोर प्रवृत्तिविरुद्ध अर्थपूर्ण हस्तक्षेप गर्ने हेतुले गत वर्षदेखि प्रगतिशील लेखक संघले आयोजन गरेको उक्त समानान्तर साहित्य उत्सव नाममा आयोजित उक्त अवसरमा यस पटक सहभागी हुने अवसर जुटेको थियो। नेपालबाट अग्रज साहित्यकार तथा लेखक विधान आचार्य, अभय श्रेष्ठ, सरिता तिवारी, समकालीन मित्रहरु रिमा केसी, विपिन पाठक र म उक्त कार्यक्रममा सहभागी हुन गएका थियौं । संसारकै सबैभन्दा ठूलो साहित्य उत्सव भनेर प्रचारित जयपुर लिटरेचर फेस्टिभलको साहित्यलाई कमोडिटी अर्थात वस्तुको रुपमा बेच्ने र उक्त प्रयोजनका लागि निर्मित गरिने तथाकथित सेलिब्रिटी संस्कति विरुद्ध प्रगतिवादी, समाजोपयोगी लेखनको बढावा र सबै भाषा साहित्यको उन्नति र आत्मसम्मानको रक्षाको उद्देश्यले समानान्तर साहित्य उत्सव आयोजना गरिएको दाबी उद्घाटन सत्रमा आयोजकले गरेका थिए ।
बहुआयामिक विषयवस्तु र विविधतापूर्ण सेसनले सुसज्जित रहेको उक्त समानान्तर साहित्य उत्सव आफ्नो दरिलो एजेण्डा र बृहत्त सामाजिक लक्ष्यका बाबजुद खरो उत्रिन नसकेको भान यस पंक्तिकारलाई भएको थियो । विभिन्न स्थानीय भाषाका कवि, लेखक र साहित्यकारहरुको प्रत्यक्ष उपस्थितिमा सञ्चालित विभिन्न ऊर्जावान सेसनहरुले भने आयोजकीय कमजोरीलाई बिर्साउने जमर्को गरेका थिए । विषयवस्तुको गहनतामा डुबेर विचार विर्मश गरिरहेका वक्ता र ध्यानस्थ भएर सुन्ने र बहसमा भाग लिने उत्साही श्रोतागण देख्दा उपस्थितिको न्यूनता छायामा परेको थियो ।
संसारकै सबैभन्दा ठूलो साहित्य उत्सव भनेर प्रचारित जयपुर लिटरेचर फेस्टिभलको अनुभव संगाल्न हाम्रो भ्रमण टोली उक्त उत्सव आयोजना स्थल डिग्गी प्यालेसतर्फ गएका थियौं । साहित्यको बजारीकरणका ठेकेदारहरुले प्रवेशद्वार मै तीन सय भारु असुलेर हाम्रो खल्तीमा पुँजीवादी आक्रमण गरे । प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको थियो । मसँगसँगै गएका सहयात्रीहरु तीन सयको टिकट मूल्य चुकाएर उक्त बहुप्रचारित साहित्यमेला अवलोकन गर्न भित्र जानु भयो । मेरो भने परिचयपत्र गेस्टहाउसमै छुटेको हुनाले मलाई प्रवेशका लागि आवश्यक गेटपासबाट बञ्चित गरियो ।
हरेक चीजलाई कुनै हालतमा बेच्नैपर्ने मूलमन्त्र बोकेको पुँजीवादको मूल स्वभाव बार्गेनिङ हो । त्यसै अनुरुप गेटपास आयोजकको आँखा छलेर सस्तो मूल्यमा गेटपास बेचिदै गरेको अवगत त्यहींको एक युवाले २०० भारुमा मलाई गेटपास किन्ने प्रस्तावमार्फत गरायो । सर्वाधिक ठूलो भनेर प्रचारित साहित्य मेलाको गुत्थी बुझ्ने हेतुले म भारु २०० तिरेर चेकजाँचको कडा सुरक्षा नाघ्दै भित्र गएँ । भित्र सहभागीहरुको भीड ठेलमठेल र कोलाहल हेर्न लायक थियो । प्रविधिको भरपूर प्रयोग र खर्चिलो तडकभड आयोजनास्थलको डिजाइनले प्रष्ट झल्काउँथ्यो । तर, सहभागीहरु मध्ये अधिकांशलाई कहाँ कुन विषयमा के छलफल भइरहेको छ र मुख्य वक्ता को हुन भन्नेसँग कुनै चासो देखिदैन थियो । अनेक नखरमाउला पोजमा सेल्फी खिच्न र भड्किला फेसनको प्रदर्शन गर्न त्यो जमातलाई फुर्सद थिएन । हेर्दा यस्तो लाग्थ्यो कि त्यो कुनै साहित्यिक मेला नभएर बजारमा आफ्नो उत्पादित फेसन सामाग्री लञ्च गर्न आयोजित कुनै फेसन संस्थाको कार्यक्रम हो । त्यहाँको परिदृश्यको साक्षी भइरहँदा मलाई अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई लेखेको पत्रको एक अंश स्मरण भइरह्यो जसमा उनी भन्छन्– ‘मेरो छोरो जता भीड छ, त्यतैतिर जाने स्वभावको नहोस् ।’
प्रगतिवादी लेखनको अभिभारा
अब समानान्तर साहित्य उत्सव र जयपुर लिटरेचर फेस्टिभल दुबैलाई आलोचनात्मक मूल्याङ्कन पद्धतिको कसीमा राखेर जाँच्दा पुँजीवादले साहित्यलाई निश्चित वर्गको सेवा र स्वार्थमा प्रयोग हुने हतियार बनाएको वास्तविकता बोध गर्न साहित्यमा विद्यावारिधीको योग्यता हासिल गरिरहनु पर्दैन । साहित्यका माफियाहरु मानिसको अन्तप्रज्ञालाई जाग्न नदिएर साहित्यको नाममा सतही र इन्द्रीयलाई उद्वेलित गर्ने सामाग्री आकर्षक कलेवर र प्याकेजिङमा बेचेर आफ्नो खल्ती भर्न सल्बलाइरहेका छन् । केटाकेटीलाई लोभलाग्दा रंगीन र विभिन्न फ्लेभरका चकलेट बेचेर उनीहरुको स्वास्थ्यमा आक्रमण गर्ने खाद्य मुनाफाखोरको शैलीमा पुँजीवादका कर्पोरेट मालिकहरुले साहित्यलाई पनि दुरुपयोग गरिरहेका छन् । जसरी युवाहरुलाई ड्रग्स र नशालु पदार्थको लती बनाएर समाजलाई दुव्र्यसनको अखडा बनाउने अपराधीलाई आफ्नो कुकृत्यले समाजलाई कस्तो नकारात्मक असर पु¥याइरहेको छ भन्नेबारे मतलब हुँदैन, साहित्यको नाउँमा फास्टफुड जस्ता मस्तिष्कलाई गतिहीन र निष्क्रिय बनाउने पुस्तक बेच्दा समाजलाई के कति नोक्सान हुन्छ भन्नेबारे यिनलाई कुनै चिन्ता चासो हुँदैन । यिनलाई केवल आफ्नो व्यक्तिगत मुनाफासँग मात्रै सरोकार हुन्छ ।
पुँजीवादले आफ्नो स्वार्थपूर्तिका खातिर तथाकथित सेलिब्रिटी र अन्धा फ्यानहरु जन्माउँछ । कुनै अमूक व्यक्तिलाई रोलमोडेल र दैवी क्षमताको मानिसको रुपमा भ्रमचित्र खडा गर्न र ती अतिरञ्जनापूर्ण विज्ञापनको डम्फू बजाइको बलले उचालिएका ‘खुङ्खार’ मानिसलाई एक झल्को हेर्दा, तिनलाई छुँदा र अनेक भावभङ्गीमा सेल्फी खिच्दा जीवन सफल भएको ठान्दै आफ्नो टाउको अरुको खुट्टाले हिडाउने फ्यानहरु उत्पादन गर्न पुँजीवादका नोकरहरु न्वारनदेखिको शक्ति खर्चेर दिनरात भिड्दछन् । तिनले बजारको मागको निहुँमा यौन र कथित प्रेमका मसला र अर्थ न वर्थका फ्यान्ट्यासी मोहनी भाषामा लेख्ने लेखकहरुलाई घोडा बनाउन पुँजीको दानीपानी हाल्दछन् । तिनले ‘बेस्टसेलिङ राइटर र मिलियन्स कपिज्स सोल्ड’ भन्ने नारालाई साहित्यलाई माल बनाउने बलियो अस्त्रको रुपमा प्रयोग गर्दछन् ।
लाखौं मानिसहरुको चेतनामाथि खेलबाड गर्दै गम्भीर अध्ययन र सिर्जनात्मक आविष्कार गर्नुपर्ने साहित्यलाई मनोरञ्जनको भुलभुलैयामा फसाउने सस्तो साधनमा सीमित गरिनु आफैमा एक सामाजिक अपराध हो । मानिसको अपार सम्भावना बोकेको मस्तिष्कको भद्दा उपहास हो । समाज रुपान्तरणको जिम्मेवारी आफ्नो काँधमा रहेको दावी गर्ने प्रगतिशील लेखनमा कटिबद्ध लेखकहरुका लागि यो खुला चुनौती हो । बजारमा सर्वाधिक बिक्री गरिएका भनिएका पुस्तकहरुको गुदी हेर्दा निकै अघि गरिएको लेखकको मृत्युको घोषणा साँचो त होइन भनेर प्रश्न गर्न कर लाग्ने अवस्था छ । पुराना कुरालाई नै नयाँ पात्र र परिवेशको चित्रण मार्फत बजारमा स्टन्टबाजीसहित बेचिएका आख्यानहरु देख्दा लेखक हुन अब साधना सिर्जनशीलता र नवीन चिन्तन नचाहिने हो त भनेर सचेत पाठकको दिमागमा रन्थनी पैदा हुन्छ ।
साहित्य लेखन भनेको नवीन सत्यको खोजी हो र जीवनका नखुलेका आयामहरुको आविष्कार हो । कुनै पनि पुस्तक पढिसकेपछि पाठकलाई आफ्नो ज्ञानको सीमाको बोध हुनुपर्छ र खोजको हुटहुटीले छटपटी उत्पन्न गर्नुपर्दछ अनि मात्रै समाजले अग्रगमनको गति समाउँछ । मानिसभित्र यथास्थिति र परम्पराप्रति प्रश्न जागृत नगराउने र निरन्तर परिवर्तनका लागि उत्प्रेरित नगर्ने लेखनीले डस्टविनका कुँडाकर्कटभन्दा बढी अर्थ राख्दैनन् ।
पुँजीवादले हरेक क्षेत्रमा आफ्नो उत्कर्ष चुम्न खोजिरहेको यस समयमा साहित्यमार्फत मानव सभ्यता कता गइरहेको छ भनेर चिन्ता गर्ने प्रतिरोधी लेखकहरुको अहं भूमिका हुन्छ । कुनै खास वर्ग, तप्का र समूहको सेवा गर्ने राजनैतिक सत्ताजस्तै जसरी पनि पुँजी सङ्ग्रह गर्ने मानसिकता बोकेको हानिकारक साहित्यिक सत्ताको विरुद्ध धावा बोल्नु यतिखेर सचेत लेखकको धर्म हो । पाठकले जे माग्यो त्यही दिने अथवा बजारमा जे बिक्छ त्यही लेख्ने व्यक्ति लेखक हुनसक्दैन । लेखकले त पाठकको मस्तिष्कको सम्भावनालाई जागृत गराउने सामाग्रीको उत्पादन गरेर समाजलाई मानवीय चेतनाले उन्नत तुल्याउन योगदान गर्नुपर्दछ । साहित्यलाई माल बनाएर बेचिरहेका पुँजीवादी साहुविरुद्ध यथार्थमा साहित्यलाई समाज रुपान्तरणको विद्युतीय शक्ति उत्पादन गर्ने जेनरेटर बनाउन सिर्जनमार्फत हस्तक्षेप गर्नु प्रगतिवादी लेखकहरुको आजको ठूलो जोखिम र आवश्यक्ता दुबै हो । अन्यथा युगको मागलाई संबोधन गर्ने सिर्जना नगरी कलमलाई भुत्ते बनाएर लेखक हुँ भन्ने भ्रम पाल्नलाई फगत अक्षरहरुको ओथारो बस्नु निरर्थक छ ।
लेखकका अन्य
ओलीलाई दुई तिहाइः बाँदरको हातमा नरिवल