अपडेट: साँझपख आएको भयानक हावाहुरी, बारामा मात्र २५ को मृत्यु ४०० बढी घाइते

बारा, १७ चैत । आइतबार साँझपख भयानक हावाहुरी आउँदा तराइका जिल्लामा ठूलाे जनधनकाे क्षति हुन पुगेकाे छ । हावा हुरीले बारामा मात्र २५ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी हेमबहादुर शाहीले अहिलेसम्म २१ जनाको शव फेला परेको र बाँकीकाे खबर आउन बाँकी रहेकाे जनाएका छन्। 

साँझपख एकाएक असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति पुर्याएको हाे । हावाहुरीमा परी बाराका विभिन्न ठाउँमा गरी राति कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ठूलाे जनधनकाे क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

डिएसपी शाहीले बाराकाे टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको बताएका छन् । त्यसैगरी अर्का एक जनाकाे भने वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताएका छन। उनले हावाहुरीमा परी जिल्लामा ४०० जनाभन्दा बढी घाइते भएकाे खबर अाएकाे बताए । चर्काे हावाहुरीबाट भएकाे क्षतिकाे पूर्ण विवरण अाइनसकेकाे उनले बताए ।

हावाहुरीले विद्युतको पोल, रुखहरु समेत धेरै ढालेकाे छ । त्यसैगरी घर नजिकैका पाेल ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको थियाे । 

Loading...