पोखरी होइन, के मुहान सफा गर्न सकिन्छ ? सबैभन्दा शक्तिशाली तरंग सोच

नेपाली समाजलाई चराकोजस्तो दृष्टिले माथिबाट हेर्ने हो भने विकृति र विसँगतिको डस्टबिनजस्तो देखिन्छ । जतासुकै र जुनसुकै क्षेत्रमा हेरे पनि अनैतिक पथभ्रष्ट र विसँगत देखिन्छ । सामाजिक सञ्जाललाई पनि सर्रसर्ती हेर्ने हो भने पनि त्यहाँ सकारात्मक भन्दा नकारात्मक कुरा र अभिव्यक्तिहरु छ्यालब्याल देखिन्छ । यसले के पुष्टि गर्छ भने नेपाली समाज नैतिकता, आदर्श र सकारात्मकताको भयावह मन्दीबाट गुज्रिरहेको छ र यही गति रहिरहने हो भने हिन्दु धर्मग्रन्थमा परिकल्पना गरिएको नर्कमा परिणत हुनबाट कसैले रोक्न सक्ने छैन।

पछिल्लोपटक नेपाली समाजमा सतहमा आइरहेको सर्वाधिक धेरै घटना व्यभिचारसँग सम्बन्धित छन् । पाश्चात्य समाजमा सम्बन्ध विच्छेद र बहुगामी सम्बन्धलाई सामान्य मानेर पचाउन थालिसकेको छ र त्यहाँ सामाजिक हार्दिक लुप्तप्राय: छ । पछिल्लो दशकमा नेपाली समाजमा पनि सम्बन्धविच्छेदका घटना दिन दुई गुना र रात चौगुनाको दरमा वृद्धि भइरहेको छ। विवाहेत्तर सम्बन्धहरु यसरी बढीरहेछन् कि यसले वैवाहिक संस्थाको गरिमा र भविष्यलाई नै धरापमा पारेको छ।एउटा पुरुष विवाहित भएर पनि आफ्नो यौनकुण्ठा पोख्नकालागि अनेक महिलासँग लुकीछिपी सम्बन्ध राख्ने क्रम बढेको छ ।

कथित स्वतन्त्रता र आधुनिकताको नाउँमा विवाहित महिलाहरु पनि यौन असन्तुष्टिले गाँजिएर अनेक पुरुषहरुसँग नाजायज सम्बन्धमा लिप्त छन् । एउटा युवा एउटी युवतीसँग प्रेममा हुन्छ तर केवल यौनतुष्टिकै लागि अनेक युवतीसँग झूटो प्रेमको नाटक गर्दछ। युवतीहरु पनि अनेक पुरुषहरुलाई आफूतर्फ आकर्षित गर्नु र सम्बन्धरत रहनु आफ्नो सौन्दर्यको सामर्थ्य ठान्दछन् । महरा र शालिकराम काण्डको केन्द्रमा यौन आशक्तिको उन्माद नै थियो । अचेल घट्ने प्राय अपराधिक घटनाको पृष्ठभूमिमा कि सम्पत्ति कि त यौन देखिदै आएको छ। अब नेपाली समाजलाई किताबमा मात्रै नभई यथार्थमा सभ्य सुसंस्कृत र सुसँगत बनाउने हो भने यहीँ नेर प्रत्येक नारी र पुरुष अनि प्रत्येक अभिभावकले सोच्नुपर्ने बेला आएकाे छ।

कुनै पनि सन्तानको लागि उसले सबैभन्दा धेरै पढ्ने पुस्तक भनेको उसको बुवाआमा हो ।मानिसको सबैभन्दा शीघ्र सक्रिय हुने स्वभाव भनेको नक्कल गर्ने हो ।कसैले राम्रो लगाएको देख्यो भने त्यस्तै लगाउन मन लाग्ने,राम्रो खाएको देख्यो भने त्यस्तै खान खोज्ने अथवा अरुको आफूलाई लाग्ने राम्रो पछ्याउन खोज्ने मानवीय प्रकृति हो ।

अहिलेको नेपाली समाज हेर्ने हो भने बाहिरबाट सम्पन्न देखिएको पश्चिमा समाजको प्रतिलिपी जस्तो देखिन्छ चाहे त्यो लुवाइखुवाई हिडाई डुलाई होस् बोलीचाली संगीत र सामान्य जीवनशैली नै किन नहोस् । त्यो मानिसको अरुको अनुकरण गर्ने आदतकै प्रतिफल हो । यो स्वभावको सबैभन्दा धेरै असर बच्चाबच्चीमा हुन्छ । बाआमाले बाेलेका शब्दहरु र गरेको क्रियाकलापहरुकाे केटाकेटीहरुमा यति गहिरो मनोबैज्ञानिक असर हुन्छ कि उनीहरु जानअन्जानमा त्यस्तै वोलिरहका हुन्छन् र व्यवहार गरिरहेका हुन्छन् ।

अक्सर केटाकेटीले कुनै गल्ती गरिरहेको बेला बाआमाले आफ्ना सन्तानलाई गाली गर्ने र कुटपिट गर्ने गर्छन् तर त्यो गर्नुअघि त्यस्तो कर्म गर्न कतै उनीहरूले आफैबाट सिके कि भनेर आफ्नै व्यवहारलाई हेर्न र प्रतिप्रश्न गर्न जरुरी छ ।कतै बाल्यकालमा म पनि त्यस्तै गर्थें कि भनेर सम्झिन आवश्यक छ किनकि कतिपय कुरा देखेर मात्रै सिकिदैन, त्यो अनुवांशिक रुपमा सर्दछन् । कतिसम्म भने एउटा बालकले कसरी सोच्छ भन्ने कुरा उसको मातापिताले कसरी सोच्दछन भन्नेमा निर्भर हुन्छ । विज्ञानले के सम्म पुष्टि गरिसकेको छ भने गर्भधारणको बेलाको मातापिताको सोचको असर भ्रुणमा समेत पर्दछ । देख्नसक्नेले एउटा बीजमा वृक्ष देख्दछ र बिज जति स्वस्थ छ वृक्ष पनि त्यति स्वस्थ र फलकारी हुन्छ । तसर्थ एउटा स्वस्थ समाज निर्माण गर्ने हो भने प्रत्येक स्वस्थ बच्चा उत्पादनमा ध्यान दिनु अपरिहार्य छ।

सोच सबैभन्दा शक्तिशाली तरंग हो । मानिस जे गर्छ वा जसरी जिउँछ, त्यो केवल उसको सोचको प्रतिबिम्ब मात्रै हो । मानिसले गरिरहेकाे सोचको प्रभाव आफ्ना सेरोफेरोमा रहेका मानिसमा पर्दछ भने झन कोमल मस्तिष्क भएका केटाकेटीमा त स्वतः पर्दछ। प्रत्येक मातापिता र अभिभावक आफ्ना सन्तान राम्रो र असल होस् भन्ने चाहन्छन् । त्यसो हो भने हरेकले आफ्नो सोच र क्रियाकलापमाथि गम्भीरतापूर्वक स्वयंले सचेत निगरानी गर्नुपर्दछ । आफूले गरेको खराब कामको सिको केटाकेटीले नगरुन् भनेर अभिभावकहरु लुकेर त्यस्तो काम गर्दछन् तर केटाकेटीको चेतनाको रडार यति शक्तिशाली हुन्छ कि अभिभावकले अन्जानरुपमा प्रकट गरेको व्यवहारबाट उनीहरूको कर्मको भेउ पाउँछन् ।

बुझ्नुपर्ने अत्यन्तै गम्भीर कुरा के हो भने अभिभावकले आफ्ना सन्तानसामु राम्रो देखिन खोज्ने होइन कि वास्तवमै राम्रो र असल हुने हो । नभए धेरै चतुर हुन खोज्दा काग धेरै बाठो भयो भने गुहु खान्छ भन्ने नेपाली उखान चरितार्थ हुन्छ। फेरि पनि सत्य त यही हो कि एउटा व्यभिचारी, भ्रष्ट र नैतिक रुपमा लम्पट पुस्ताको अर्को पुस्ता झनै तन्नम र निकृष्ट नै हुन्छ ।

Loading...