यदि तिमी सरकारको गतिबिधिमा रुचि राख्दैनौ भने मूर्खहरुको शासनमा बाँच्न तिमी अभिसप्त हुन्छौ । राजनीतिमा सहभागी हुन अस्वीकार गर्नुको मूल्य तिमीले अयोग्यहरुबाट शासित भएर चुकाउनुपर्नेछ । –प्लेटो
वर्तमान नेपालको समग्र राजनैतिक वस्तुस्थिति र दुई तिहाइ बहुमत दिएर इतिहासकै शक्तिशाली सरकार बनाउन अमूल्य मत दिएका जनताकै अभिमतको हुर्मत लिने गरी एकपछि अर्को गर्दै सार्वजनिक भएका सरकारका लज्जास्पद कर्तुतहरु देख्दा लाग्छ कि महान् दार्शनिक प्लेटोले उक्त कथन चौतर्फी भद्रगोलग्रस्त वर्तमान नेपालकै लागि भनेका थिए । देशमा स्थिर र शक्तिशाली दुई तिहाइको सरकार छ । हिजोको जस्तो ६/६ महिनामा सरकार फेरिएला भन्ने चिन्ता छैन । त्यसमाथि फलामे अनुशासनबाट दिक्षित भनेर दावी गर्ने समाजवाद ल्याएरै छाड्ने कसम खाएका कम्युनिष्टहरुको एकछत्र शासन छ तर पनि नेपाली जनतामा चरम असन्तोष र आक्रोश चुलिदो छ । अनि गुनासोको पारो द्रुत गतिमा तातिरिहेको छ । राजनैतिक क्रान्ति सम्पन्न भइसकेको छ र अब नेपाली जनताको जीवनमा आर्थिक क्रान्ति घटित गराउने प्रतिबद्धता गरेको राजनैतिक नेतृत्वमा देखा परेको भयवाह वैचारिक विचलन र खतरनाक नैतिक स्खलनको जिम्मेवारी कसले लिने र कुनै पनि अवस्था यथास्थितिमा लामो समय टिकिरहँदैन भन्ने इतिहासको गतिको नियमको सन्दर्भमा अबको विकल्प के ? यतिखेर देशको भविष्य र जनताले भोगिरहेको नैराश्यबारे चिन्तनशील प्रत्येक सचेत नागरिकको मनमा ज्वारभाटा बनेर उम्लिरहेको संगीन सवाल यही हो ।
के नेपालमा क्रान्ति भयो ?
नेपालमा व्याप्त राजनैतिक बेइमानी र सत्तासीन नेताहरुको आदर्शले पटकपटक गरेको आत्महत्याले नेपालमा राजनैतिक क्रान्ति सम्पन्न भयो भनेर दलहरुले गर्ने गरेको दाबी आफैमा भद्दा मजाक सिद्ध भएको छ । सात सालमा क्रान्ति भएर राणा शासन समाप्त भयो भनिए पनि राणाकै नेतृत्वमा सरकार गठन गरिएको थियो । त्यसपछि सत्ताप्राप्तिका लागि राजनैतिक दलहरुबीच भएका अनेक छिनाझप्टीबीच सम्पन्न पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले दुइ तिहाइ बहुमत प्राप्त गर्यो र बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री भए तर दुइ बर्ष पनि नपुग्दै राजा महन्द्रले राजनैतिक कू मार्फत निर्दलीय पञ्चायती शासन लादे जसले देशलाई तीस बर्षसम्म राजनैतिक अन्धकारको कालकोठरीमा बन्धक बनायो । निर्दलीय पञ्चायती शासन विरुद्ध ०४६ सालमा जनआन्दोलन भयो र बहुदलीय शासन व्यवस्थाको पुर्नबाहली भयो । ०४७ सालमा संवैधानिक राजतन्त्रको व्यवस्थासहितको संविधान जारी गरियो जसलाई संसारकै उत्कृष्ट भनेर प्रचारबाजी गर्न कुनै कसर बाँकी राखिएन र अब जनताको जीवन कायाकल्प हुने सपना सर्वत्र बाँडियो । परन्तु त्यसपछि पनि देखिएको राजनैतिक दलहरुको सत्तालोलुप चरित्र, नैतिक दिवालियापन, सातपुस्तासम्मकालागि धन संग्रह गर्न राज्यको श्रोत र साधनको ब्रम्हलुट अनि नातावाद, कृपावाद र फरियावादको नग्न नृत्यले आम जनतामा प्रजातन्त्रमाथि नै वितृष्णा पैदा गरिदियो । जनताको यही चर्को वितृष्णाको पेट्रोल छर्केर माओवादीले देशभर जनयुद्धको दावानल सल्काए । तत्कालीन राजनैतिक दलहरुको निकम्मापन र धोकाधडीविरुद्ध भर्भराउँदा युवाहरुले आफूलाई आगोको पुतली बनाए र जनताको अमूल्य रगत पसिना र बलिदानको उपज जनयुद्धको जगमा उभिएको ०६२÷०६३को जनआन्दोलनले देशमा गणतन्त्रको अभ्युदय पनि गरायो । इतिहासमै पहिलोपटक संविधानसभामार्फत जनताले आफूले चुनेका जनप्रतिनिधिले लेखेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी र समानुपातिक प्रतिनिधित्वको विशेषतासहितको संविधान जारी गरियो ।
संविधानलाई कार्यान्वयन गर्दै देशलाई सात वटा प्रान्तमा विभाजन पनि गरियो ।संवैधानिक प्रावधान अनुरुप देशमा संघ तथा प्रान्तको निर्वाचन सम्पन्न भएको छ र देशले दुइ तिहाइ बहुमतप्राप्त इतिहासमै सर्वाधिक शक्तिशाली सरकार पाएकोछ ।हिजो जनताको मुक्तिको खातिर मृत्युको शपथ खाएकाहरुको कमानमा राज्यसत्ताको साँचो छ तैपनि वर्तमान नेपाली राजनीतिको धरातलीय यथार्थको विश्लेषण गर्दा देश र जनताको सपनामाथि पुनः गद्दारी हुदैछ भन्ने निष्कर्षमा पुग्न ढिलाइ गर्ने हो भने भयानक दुर्घटना हुने निश्चित छ ।
नेपालका नेताहरुले राजनैतिक क्रान्ति सम्पन्न भइसकेको छ भन्ने गरेकाछन् ।तर राजनैतिक नेतृत्वको चरित्र र व्यवहारले क्रान्तिको कुरा नेपाली इतिहासकै सबैभन्दा ठूलो झूट हो भनेर पुष्टि गरिदिएकोछ ।राजनैतिक प्रणाली र राज्यसत्तामा अमूक पात्रहरुको परिवर्तन मात्रै क्रान्तिको आधार हुन सक्दैन । राज्यव्यवस्थाको परिवर्तनसहित नैतिकवान, इमान्दार, जनउत्तरदायी र राष्ट्रिय अभिभाराप्रति पूर्ण बफादार नेतृत्वको प्रतिष्ठापन क्रान्तिको लक्ष्य र पूर्वाधार हुनुपर्छ ।तर नेपालको इतिहासको समग्र सिंहावलोकन गर्ने हो भने प्रत्येक आन्दोलनले केवल पात्रहरुको परिवर्तन र उही धोकापूर्ण घीनलाग्दो प्रवृत्तिहरुको पुनरावृत्तिको त्रासदीलाई जन्माएको प्रष्ट देखिन्छ ।हिजो श्रीपेच वाला राजाको जगजगी थियो भने आजको गणतन्त्रमा टोलटोलमा श्रीपेच नलगाएका राजाहरुको रजगज छ ।नेपाली समाज अहिले जुन निराशा, बेचैनी र असन्तोषबाट गुज्रिरहेको छ, त्यसलाई हेर्दा यस्तो भान हुन्छ कि सिंगो देश तमाम राजनैतिक कुडाकर्कटहरुलाई सदाकोलागि बढार्ने वास्तविक क्रान्तिको पर्खाइमा छ ।
नैतिक मूल्यमान्यताहरुको विघटन
अहिलेको नेपाली समाजको सबैभन्दा ठूलो त्रासदी भनको नैतिक मूल्यमान्यताहरुको निर्मम विघटन र आदर्शहरुको दर्दनाक स्खलन हो र त्यो भन्दा पनि भयानक त यो हो कि यस्तो कुरुप संघटनालाई नेपाली समाजले सामान्य मानेर पचाउन थालेको छ ।समाजमा लूटले वैधानिक छूट पाउने अवस्था सिर्जना भएको छ ।भ्रष्टाचार र व्यभिचार नेपाली समाजको आम चरित्रको रुपमा स्थापित हुने खतरा देखिदैछ ।नेपाली लोकतन्त्रमा नेताकालागि जनताको अभिमत पटकपटक लूटको लाइसेन्स साबित भएको छ र निवार्चन त्यसकोलागि केवल साधन !
गणतन्त्रको स्थापनापश्चात् जुन गतिमा नैतिक पतन र वैचारिक आत्महत्याको घटनाहरु परिदृश्यमा आए, त्यसको फेहरिस्त न सुनाइ साध्य छ, न त सुन्न सकिने नै छ ।नेपाली समाजको आमूल रुपान्तरणको सपना देखाएर हजारौं नेपालीलाई बलिदान हुन प्रेरित गरेका प्रचण्ड आफै सत्ता राजनीतिको फोहोरी खेलका सौदागर बने र घिटीघिटी अवस्थामा पुगेको राजनीति जोगाउन खड्ग ओलीसामु आत्मसमर्पण गर्न पुगे ।कसैलाई राष्ट्रपति, प्रधानमन्त्री अथवा मन्त्री बनाउनकै लागि त्यत्रो जनयुद्ध भएको त थिएन तर त्यसको औचित्यलाई त्यति साँघुरो दायरामा सीमित गर्ने खलपात्रमा उनी खुम्चिए ।जनयुद्धका रणनैतिक योजानाकार बादल गृहमन्त्री जस्तो पदमा बसेर निर्लज्जतापूर्वक बलात्कार सामान्य घटना हो, घटिरहन्छ भन्छन् ।नेकपाका शक्तिशाली महासचिव बालुवाटारकै सरकारी जग्गा हडपेर सबैभन्दा क्रान्ति र परिवर्तन प्रवचन सुनाउँछन र नेपाली जनता आफ्नो धैर्यताको परीक्षा आफै लिदै सुन्न बाध्य छन् ।देशको कानुन बनाउने तथा नीति नियम तर्जुमा गर्ने संघीय संसदका सभामुख कृष्णबहादुर महरा रातबिरात संसदकै कर्मचारीको डेरामा रक्सीको बोतल लिएर चहार्छन् र बलात्कार गरेको अभियोगमा गिरफ्तार हुन्छन् ।हिजो बहुविवाह र बलात्कार गरेको अभियोगमा गाउँ गाउँमा हत्याको कडा सजायको फरमान जारी गर्ने नेताहरु आज आफै बदनामीको रत्तिभर डर नराखी बलात्कारीहरुलाई नै छक्क पार्ने गरी समाजमा नाँगिदैछन् जसले देशको अन्तराष्ट्रिय बेइज्जती गरेकोछ ।काण्डै काण्ड र प्रकरणहरुको भारी केप ीओलीलाई दुई तिहाइभन्दा गह्रुंगो हुने संकेत देखिदैछ ।
यी तमाम नैतिक मूल्य मान्यताको हुर्मत लिने घटनालाई नेपाली समाजले जसरी पचाउन थालेकोछ, त्यो आफैमा भने सभ्य समतामूलक र न्यायपूर्ण समाज स्थापनाको सपनाकोलागि अकल्पनीय हिसाबले डरलाग्दो हो ।चिया पसलमा चोक चोकमा गल्ली गल्लीमा कुनै नेताले भ्रष्टाचार गरेको कुरालाई आम नेपालीले सजिलै पचाउने मात्र होइन उमाथि कुनै कारवाही हुदैन भनेर ठोकुवा समेत गरिदिन्छ ।कही कतै बलात्कार भएको घटनालाई सुनेको नसुन्यै गरिदिने स्तरमा नेपाली समाज संवेदनहीन बन्दै गइरहेकोछ ।अहिलेको समयमा इमानदारी र समाजलाई सही मार्गनिर्देश गर्ने कुरा कसैले गर्यो भने त्यो मनिसलाई कसैले पत्याउदैन, उल्टै उपहासको पात्र बन्दछ ।बेइमानहरुको बहुमत र हालीमुहाली यति धेरै छ कि सही र साँचो मानिस यहाँ एक्लो बृहस्पति हुन्छ ।विश्वासको जरोकिलो उखलेर यसरी मिल्काइएकोछ कि यस्तो लाग्छ कि यहाँ सबै एकअर्कालाई लुट्ने होडबाजीमा छन् ।नेपालीहरु पूँजीवादको फगत उपभोक्तावादी दास बनाएर नष्ट बनाइदिने षड्यन्त्रको सिकार बनिरहेकाछन् । बलात्कार, भ्रष्टाचार, व्यभिचार र दुराचारलाई सामान्य मान्ने पाचन ग्रन्थी भएको समाज एउटा मुर्दा समाज हो र त्यो पतनको मसानघाटतर्फ उन्मुख हुन्छ ।
कालो बादलमा चाँदीको घेरा
जहाँ सबैभन्दा धेरै समस्या हुन्छ, समाधानको सम्भावना र आवश्यक्ता पनि सर्वाधिक धेरै त्यहीँ हुन्छ ।नैतिकता र आदर्शको माग र आवश्यक्ता पनि सर्वाधिक त्यही हुन्छ, जहाँ त्यसको कमी छ ।त्यही त्यसैले भनिन्छ कालो बादलमा चाँदीको घेरा हुन्छ ।नेपाली समाज नैतिक विघटनको त्यो भीरमा छ जहाँबाट गुल्टिनबाट जोगाउन यहाँ रहेका केही इमान्दार, समाजप्रति जवाफदेही र राष्ट्रप्रतिको जिम्मेवार ओतप्रोत मानिसहरुले ऐक्यबद्ध भएर अभियान नचलाउने हो भने यो विकृति र विसंगतिको अजायबघर हुने छ ।पैताला देखि शीरसम्म प्रदुषित भएको नेपाली समाजलाई नैतिकता इमान र आदर्शको मूलबाटोमा ल्याउनु निकै नै दुष्कर कार्य प्रतीत हुन्छ ।
कुनै पनि समाज परिवर्तनको मेरुदण्ड भनेको राजनीति हो र राजनैतिक परिवर्तनका संवाहक भनेका युवा हुन् ।नेपालका अधिकांश युवा राज्यसञ्चालनको लागि रेमिट्यान्स भित्राउन खाडी, युरोप, अमेरिका र अष्ट्रेलिया जादैछन्। जे जति राजनीतिमा छन्, ती अध्ययनशीलतको अभावमा केवल नेताको स्वार्थसिद्धिको गोटी र झोले कार्यकर्ता बनिरहेकाछन् ।जो अध्ययनशील छन र राजनीतिमा परिवर्तनको अनिवार्यता औंल्याउँछन्, ती फोहोरी राजनीति भन्दै लाखापाखा लागिरहेकाछन् ।यस्तो बिडम्बनापूर्ण र चुनौतिको चेपबाट नेपाली समाजलाई अविश्वासबाट विश्वास, दुराचारबाट सदाचार, नैतिकहीनताबाट सच्चरित्रता र अराजकताबाट कानुनीराजतर्फ अभिमुख गराउनुछ ।नेपाली समाजमा रहेका अल्पसंख्यक त्यस्ता बौद्धिक नागरिक समाज र इमान्दार जुझारु तप्काले अभियानको स्तरमा समाज सुद्धिकरणको महान उत्तरदायित्व बहन गर्नुपर्ने आजको सर्वाधिक ठूलो माग हो ।
ठूला ठूला सपिंग मल, आलीशान घरहरु, फराकिला सडक र विज्ञान प्रविधिको सहज पहुँच र प्रयोग मात्रै विकास र समृद्धिका मापदण्ड कदापि होइनन् ।सुसंस्कृत सभ्यता, नैतिक व्यवहार, बौद्धिक इमान्दारिता र सुसंस्कारजन्य आचरण नभएको समाज भूतबंगला भन्दा बढी केही हुनसक्दैन ।तसर्थ नेपाली समाजलाई बदल्न राजनैतिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक र व्यवहारिक तहबाट नै रुपान्तरणको पहलकदमी गरिनुपर्दछ ।
अहिलेको नेपाली समाज जुन राजनैतिक विसंगति र दुराशययुक्त मार्ग बाट हिडिरहेको छ, समाज विज्ञानको नियम अनुसार यसले शीघ्र ठूलो आन्दोलन र उथलपुथलको आँधी निम्त्याउनेछ ।त्यो आँधीको उर्जालाई नेपाली समाजलाइ सही दिशानिर्देश गर्न प्रयोग गरिनुपर्दछ र त्यसकालागि सचेत, प्रबुद्ध र प्राज्ञिक र इमानदार राजनैतिक वर्गले अहिले देखि नै चाहे लेखनबाट होस्, विचार विमर्शबाट होस् अथवा संगठनात्मक अभियानमार्फत होस गम्भीर र सिर्जनात्मक तयारी गर्नुपर्छ ।जिम्मेवारी फेरि ती काँधहरुमा छ जो किनारामा छन् तर यो सबै नाँगो नाचको मूकदर्शक प्रत्यक्षदर्शी भएर बसिरहेकाछन् ।मौनता तोड्ने बेला आएकोछ र रमिते मात्र होइन हस्तक्षेपकारी भूमिका खेलेर आफैलाई चुनौति दनि बेला आएको छ एउटा सभ्य, नैतिकवान र सुसंस्कृत समाज निमार्णकोलागि ।समयले जिम्मेवारी सबैलाई बराबरी दिन्छ ।जिम्मेवारी बहन गर्न मैदानमा उत्रिने अथवा नीजी नाफाको आत्मरतिमा रमाएर भ्रमको जुठेल्नुमा कायरताको राग अलापिरहने ?रोजाइ भने आआफ्नो हो ।