हामी कहिलेसम्म ऐना फुटाइरहने ब्रो ?

कुनै एक विद्वानले भनेका छन् – “तिमी के खान्छौ मलाई बताऊ, तिमी के सोच्दछौ म बताइदिन्छु । तिम्रा साथीहरूको सूची मलाई देऊ र तिमी कहाँ र कस्तो ठाउँमा जान्छौ मलाई भन, तिमी को हौ म भनीदिन्छु ।” यही कुरा गीतको सन्दर्भमा पनि भन्न सकिन्छ । तिमी बाँचेको समाजमा कस्ता गीतहरु (आजको भोलिको भाषामा) भाइरल हुन्छन् मलाई बताऊ, तिम्रो समाज कस्तो हो र कता गइरहेको छ म भनिदिनेछु ।

प्रकरण सामाजिक विकृति र अश्लीलता फैलाएको आरोपमा प्रकाउ परेका गायक भिटेनको हो । द्वन्दको विज्ञानले के भन्छ भने कुनै पनि रुप सारको प्रतिबिम्बन हो । भनाईको तात्पर्य कुनै पनि बाहिरी घटनाको लागि त्यसभित्र अन्तरनिहित भित्री कारण जिम्मेवार हुन्छ । जब कुनै पनि समस्या पैदा हुन्छ, मूल कारकतत्व त्यसको जरामा हुन्छ । त्यसैगरी अहिले भिटेन जे जस्तो गीत गाएको आरोपमा पक्राउ परेका छन्, उनको त्यस्ता शब्दहरु समेटिएको गीत गाउने मनोविज्ञान कसरी तयार भयो भन्ने पृष्ठभूमि नखोतली यथार्थसम्म पुग्न सकिदैन ।

किन उनले गाएका सामाजिकरुपमा अपाच्य शब्दहरुले भरिएका गीतमा दुई करोडभन्दा बढीको भ्युज्स छ ? के एउटा भिटेनलाई पक्रेर दण्डित गर्दैमा विशेषगरी नेपाली युवामनोग्रंथीमा आइरहेकाे विचलनको निवारण हुन्छ ? वास्तवमा हामी साहित्य कला र संगीतको नाउँमा कस्ता सिर्जनाहरुलाई प्रोत्साहित गर्दैछौं र हाम्रो सामाजिक चेतनाको स्तर के हो ? हाम्रा विद्यालयहरुले विद्यार्थीहरुलाई के पढाए ताकि तिनीहरु कलेजमा पुग्नासाथ गाँजा चुरोटको लती हुन्छन् र सँगीतको नाउँमा भिटेनहरु सुनेर मदमस्त हुन्छन् ? यी यावत् प्रश्नहरु जवाफ नदिइकन समाज बिगारेको आरोप केही थान भिटेनहरुलाई लगाएर कसैले पनि आफ्नो दायित्वबाट उन्मुक्ति पाउने छैन । 

लेखक

खासगरि कुनै पनि कस्तो हो र कतातिर उन्मुख छ भनेर थाहा पाउन मूलतः त्यहाँ कस्ता पुस्तकहरु पढिन्छन्, ज्यादातर कस्ता गीतहरु लेखिन्छन् सुनिन्छन् र गाइन्छन् र कस्ता चलचित्रहरु निमार्ण गरिन्छन् र रुचाइन्छन् भन्ने कुरा हेर्दा धेरै हदसम्म अनुमान गर्न सकिन्छ किनकि समाजमा जस्तो सोच र धारणा बोकेका मानिसहरुको बाहुल्य हुन्छ, त्यस्तै चीजहरूको माग, उत्पादन र वितरण हुन्छ । त्यस्तै मार्काका पुस्तक लेखिन्छन्, त्यस्तै गीतहरु भाइरल हुन्छन् र त्यस्तै सिनेमाहरु ब्लकबस्टर हुन्छन् । यो कुनै आश्चर्यको विषय नै होइन । अधिकांश विवाह, वर्थडे, ऐनिभर्सरी आदि नाउँमा आयाेजित पार्टीमा जेजस्ता खाले गीतहरु बज्दछन् र मानिसहरु अन्धाधुन्ध कम्मर भाँचेर नाचिरहेका हुन्छन्, त्यसको अवलोकन गर्दा पनि नेपाली समाजको समग्र मनोविज्ञानको चित्र उतार्न सकिन्छ । पछिल्लो समयमा खुलापन र । स्वतन्त्रताको नाउँमा नेपालमा जेजस्ता प्रवृत्तिहरु आयातीत भए, त्यसैको प्रतिफल र नयाँ नयाँ संस्करणहरुकाे श्रृङखला मात्रै हो भिटेन र दुर्गेश प्रकरण । कुनै अमूक व्यक्तिलाई गाली गर्नु र समाज भाँडेको आराेप लगाउदैमा हामीले आफ्ना गल्तीबाट सफाइ पाउने छैनौ र न्यून सामाजिक चेतनाको स्तरबाट झन बच्ने सम्भावना त छदै छैन ।

कुनै पनि समाजलाई सभ्य बनाउने हो भने जेल होइन विद्यालय खाेल्नुपर्छ भनिएजस्तै सुसंस्कृत र सांस्कृतिक विचलनबाट मुक्त पुस्ता जन्माउने हो भने नेपाली पुस्तक लेखन तथा संगीत सिर्जनाको अन्तर्वस्तुमा व्यापक रुपान्तरणको खाँचो छ ।

कुनै समय कुमार बस्नेत आमाभन्दा छोरी तरुनी लिपिस्टिक पाउडरले लान्छ क्यारे घुमाउन झिल्के ड्राइभरले भन्ने गीत गाउँदा हाँसो ठट्टामा पचाउने त्यही समाजले नै थाइल्यान्डको माल हान्छु भन्ने गीत गाउने भिटेन जन्माएको हो । खासमा भिटेन भनेको हाम्रो चेतनाको स्तरको गर्भबाट जन्मेको नयाँ कुमार बस्नेत नै हो ।

कुनै पनि साहित्य र सिर्जनाको पछाडि एउटा राजनीति लुकेको हुन्छ । कुनै सिर्जनाले मुनाफाका लागि समाजलाई यथास्थितिवाद, उपभोक्ता वाद, तदर्थवाद र पूँजीवादको गोलचक्करमा घुमाइरहन खाेज्छ भने कुनै सिर्जनाले त्यसता पश्चगामी सिर्जना विरुद्ध सार्थक हस्तक्षेप गर्दै विद्रोह अोकल्छ र समाजलाई झक्झक्याउँछ । हामी जुन सामाजिक संरचनामा बाँचिरहेका छौं, त्यसले गाेजीमा गाँठ भएको सित पाेइल जान पाम भन्ने कोमल वलीहरु नै जन्माउँछ ।महिलाहरु उपभोग्य वस्तु भन्दा माथि नदेखेर प्रेमका नाउँमा उनीहरुको शरीरकाे वर्णन गरिएका यौन अपिलिङ गीत र गायकहरु नै जन्माउँछ केवल नयाँ नयाँ अवतारमा । तर, दुखको कुरा समाज रुपान्तरण गर्ने र नेपालीको चेतनाको स्तर अभिवृद्धि गर्ने सिर्जनात्मक क्षेत्र करिबकरिब बाँझो र बन्जर नै छ । स्रष्टाले त भविष्यलाई दिग्दर्शन गर्न सक्नुपर्दछ । तथाकथित व्यापारको नाउँमा जे बिक्छ त्यही पस्किने मानिस कलाकार हुनसक्दैन । आफूले प्रवाह गरेको कुराले कस्तो सन्देश दिएको छ र नयाँ पुस्तालाई कस्तो असर पार्छ भनेर आफैलाई सचेत प्रश्न गर्नुपर्छ प्रत्येक सर्जकले । साहित्य र संगीत फगत मनोरञ्जन का साधन मात्रै हुनसक्दैनन । कथित मनोरञ्जनका नाउँमा चेतनालाई भ्रष्टिकृत गरिरहेका छन भने ती विष नै हुन ।

माअोवादीले जनयुद्धताका मुलुकलाई सांस्कृतिक विचलनबाट जोगाउने र समाज रुपान्तरणकारी जनवादी गीतहरु मार्फत राष्ट्र बदल्ने जुन कुरा गरेको थियो, शान्तिप्रक्रियामार्फत संसदीय राजनीतिमा पसेपछि तिनका घगडान भनाउदाहरु नै वैचारिक स्खलन र सांस्कृतिक पतनको रसातलमा जाकिएको विकराल दृश्यले प्रकारन्तरले नेपाली समाजकै चेतनाको प्रस्फुटन गर्दछ । प्रचण्डले नेपालीहरुकाे चेतना संसारमै उच्च रहेको भनेर गरेको दावीलाई उनकै पार्टीका नेताहरुले एकपछि अर्को लोपारिरहेकाछन् ।

त्यत्राे बलिदानले स्थापित स्वयँ त्यही पार्टीका नेता कार्यकर्ताहरु भित्र भित्रै सांस्कृतिक विचलनबाट क्यान्सरग्रस्त रहेको तथ्यले नेपाली समाजको वास्तविक धरातललाई नै उजागर गर्दछ । कुनै पनि समाजमा चोरी डकैती हिंसा हत्या र बलात्कार जस्ता घटनाहरु बढिरहेका छन् त्यो समाज भयावह मानसिक रोगबाट आक्रान्त छ भन्ने बुझिनुपर्छ । त्यहाँ दोषीलाई दण्डित गरेर समस्याको क्षणिक समाधान निक्लेला तर त्यो दूरगामी उपचारको उपाय भने कदापि होइन । तसर्थ भिटेनहरुलाई कारवाही गर्दैमा नेपाली साहित्य र संगीतको प्रदूषण समाप्त हुने वाला छैन । भिटेनले खास भन्नुपर्दा हामी यस्तै त हो नि ब्राे भनेर दोहोरो चरित्रधारी नेपाली समाजकाे असली अनुहारलाई उदाँगो पारिदिएकाछन् ।

जस्तो कि दिउँसो भ्रष्टाचारको विरुद्ध गुड्डी हाँक्ने र रातकाे पर्दामा करोडौंको कमिसनखोरी गर्ने नेपाली राजनीतिलाई लात्ती प्रहार गरेका छन् । नारी दिवसमा महिला अधिकारकाे भाषण ठोक्ने र रक्सीको बोतल लिएर अर्काकी श्रीमतीको कोठा चाहर्ने महरा मनोविज्ञानलाई नँग्याइदिएकाछन् । जुवाको खालबाट राज्यकाे उच्च निकायका कर्मचारी प्रकाउ किन पर्दैछन् भन्नेतर्फ संगीन प्रश्न तेर्स्याइदिएका छन् । यहाँ दिउँसो सुकिलो भएर हिंड्नेहरुकाे अनुहार अँध्यारोमा भने सुकिलो छैन र योजना नेपाली समाजको जरो प्रवृत्ति हो । हामी सबै यस्तै छौं । त्यसैले कसैले म सही । छु भनेर खाेक्राे दावी नगरे हुन्छ भन्ने तर्फ संकेत गरिदिएकाछन् भिटेनले । सँगसँगै यो पनि भनेका छन् कि म यही समाजको उत्पादन हूँ ।

तसर्थ यति बेला नेपाली समाजको प्रत्येकले आफूलाई साेध्ने बेला आएकाे छ कि भ्रष्ट भयो भनेर सबैले सत्ताोसराप गरिरहेको नेपाली समाज बिगार्न आफू कत्तिको जिम्मेवार छु भनेर । के म बाहिर जस्तो देखिन्छु भित्र पनि त्यस्तो नै छु त भनेर आफैलाई ठुंग्ने बेला यही हो । यदि सभ्य र सुसंस्कृत समाज निर्माण हाम्रो इमानदार चाहना हो भने हामी भिटेनहरु किन जन्माइरहेका छौं छातीमा हात राखेर उत्तर दिने बेला पनि यही हो ।