त्यो देश गरिब हो जसले असल राजनेता जन्माउन सक्दैन– ओस्कार वाइल्ड
महान कवि ओस्कार वाइल्डले भनेजस्तै कुनै पनि देश जसले समग्र जनताको भावना विचार र मनोविज्ञानलाई परिवर्तन र समृद्धिको दिशामा एकसुत्रमा सङ्गठित गरेर गतिशील तुल्याउने असल राजनेता जन्माउन सक्दैन भने वास्तवमा त्यो देश गरिब हुन्छ र त्यो नेपालजस्तै हुन्छ । नेपाल समग्र राजनैतिक इतिहासलाई सुक्ष्म अध्ययन गर्दा सिङ्गो देशको आवाज बन्न सक्ने र वर्तमान र भावी पुस्तालाई आफ्नो नेतृत्व कौशल र दूरदर्शीताले दिग्दर्शन गर्न सक्ने सर्वस्वीकार्य नेताको उपस्थिति लगभग शून्यप्रायः देखिन्छ ।
कुनै पनि देश उसले उत्पादन गरेको सबल निःस्वार्थ र इतिहासको स्पन्दनलाई स्पर्श गर्नसक्ने नेताबाट चिनिन्छ । अमेरिका भन्नासाथ हामीलाई भीषण गृहयुद्धको प्रहारबाट विखण्डन हुन लागेको देशलाई एकताबद्ध बनाउने र राष्ट्रिय स्वार्थको लागि अनुपम नेतृत्व क्षमता प्रदर्शन गरेका अटूट आत्मविश्वासले भरिएका अब्राहम लिंकनको तस्वीर सबैको आँखासामु आउछ । भारत भन्ने बित्तिकै आफ्नो अहिंसात्मक आन्दोलन र सत्याग्रहमार्फत घाम कहिल्यै नअस्ताउने भनिएको बिट्रिस साम्राज्यको चंगूलबाट देश र जनतालाई स्वतन्त्रता दिलाउने मात्र होइन, विश्वलाई अहिंसा र सत्यको मार्ग सर्वाधिक शक्तिशाली हतियार हो भन्ने सन्देश प्रवाह गर्ने लौरो टेकिरहेका गान्धीको स्मरण हुन्छ । दक्षिण अफ्रिकाको नाम लिनासाथ नेल्सन मण्डेलाको त्यो अश्वेत अनुहार प्रत्येक मानिसको मस्तिष्कमा नाच्न थाल्दछ जसले गोराहरुको दमनचक्रमा पिल्सिएका काला जातिहरुलाई दासताबाट मुक्ति दिएर आत्मसम्मान र स्वतन्त्रताको अनुभूति मात्र होइन कि रंगभेदको पर्खाल भत्काएर काला र गोराबीच भातृत्व र मानवताको नाता गाँस्न आफ्नो सम्पूर्ण जीवन समर्पित गरिदिए । त्यसैगरी क्रुर जारहरुको निरंकुशता र अत्याचारबाट रसियन जनतालाई उन्मुक्ति दिने ऐतिहासिक आन्दोलन सफलतापूर्वक नेतृत्व गरेर आजको समृद्ध रसियाको रोडम्याप खिच्ने लेलिनको नाम उच्चारण गर्दा संसारले रसियालाई सम्झिन पुग्दछ । यही यथार्थ चीनका माओ, क्युवाका फिडेल क्यास्ट्रो, सिंगापुरका लि क्वान यु र मलेसियाका महाथिर मोहम्मद जस्ता इतिहासका चिरस्मरणीय नेताहरुमा लागू हुन्छ जसले देशको ऐतिहासिक आवश्यक्ता अनि जनताको चाहना र मागलाई सर्वोपरि ठानेर आफ्नो वैचारिक सामथ्र्य र नेतृत्वको विशिष्टिताको प्रयोग गरे ।
नेपालको सन्दर्भमा हेर्ने हो भने राष्ट्रिय हित र जनताको स्वार्थलाई मात्र केन्द्रमा राखेर इतिहासको गतिलाई सार्थक दिशाबोध गर्ने खालको सुदृढ नेतृत्वको सवर्था अभाव खड्किएको देखिन्छ । पृथ्वीनारायण शाहले टुक्रिएर छिन्नभिन्न रहेका ससाना भुरेटाकुरे राज्यहरुलाई ठूलो राज्यको राजा हुने महत्वकांक्षामा राज्यविस्तारकै नाउँमा सही एकताबद्ध बनाएर त्यो समयको वस्तुस्थिति र मागअनुरुप आफ्नो दूरदर्शीता र नेतृत्वक्षमता प्रदर्शन गरेको कुरालाई अस्वीकार गर्न सकिन्न । राज्यविस्तारको सिलसिलामा एउटा शासकको हिसाबले उनीबाट भलै उनीबाट केही कमीकमजोरीहरु भए, त्यो आलोचनात्मक मूल्याङ्कनको पाटो हो तर देश सम्पूर्ण जनताको अपनत्वबोधसहितको साझा फूलबारी हो भन्ने उनको ऐतिहासिक आह्वानलाई आज पनि नेपालीहरु उच्च सम्मान गर्दछन् । तर, त्यसपछिको नेपाली इतिहासलाई नियाल्ने हो भने आफ्नो विचारको पवित्रता, भिजन र दूरदृष्टिको आलोकमा देशलाई प्रभावित पार्न सक्ने असल राजनेता खोज्दा करिबकरिब निराशा हात लाग्न खोज्दछ ।
उसो त आफ्नो राजनैतिक चिन्तन, वैचारिक उद्देश्य र राष्ट्रको सर्वतोमुखी उन्नयनको चेतना भएका नेता हुदै नभएको पनि होइन । विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मनमोहन अधिकारी मदन भण्डारी जस्ता केही मुट्ठीभर नेताहरुले राष्ट्रिय हित र जनताको स्वतन्त्रताको उत्कण्ठालाई सम्बोधन गर्दै देशलाई केही शासकको महत्वकांक्षाको क्रीडास्थल बनाएको निरंकुश राणाशासन र एकदलीय पञ्चायती व्यवस्थाविरुद्ध वैचारिक दार्शनिक र राजनैतिक तहबाट खेलेको भूमिका इतिहासमा लिपिबद्ध भइसकेको छ तर तिनीहरु पनि आफ्नो दलगत स्वार्थको साँघुरो दायाराबाट पूर्णरुपेण मुक्त भएर राष्ट्रिय स्वार्थ हेतु दिगदिगन्तसम्म भावी पुस्तालाई मार्गनिर्देश गर्ने स्तरमा विवादरहित नेतृत्व बन्न सकेको देखिदैन । विपी कोइराला स्वयंले एकदलीय पञ्चायती शासनविरुद्ध संघर्ष गरेर देशलाई बहुदलयीय शासन प्रणाली स्थापन गर्ने उस्तै पवित्र उद्देश्य बोकेका पुष्पलाललाई स्वीर्काने चौडा छाती देखाउन सकेनन जसको कारण उनको जीवनकालमा पञ्चायत विरुद्धको आन्दोलनले साकार रुप लिन सकेन । गणेशमान मनमोहन कृष्णप्रसाद मदन भण्डारी जस्ता केही नेताहरुले जनआवाजको संवेदनशीलतालाई हृदयंगम गरेर निःस्वार्थ तवरले आफ्नो भूमिका निर्वाह गर्न इमानदार प्रयत्न गर्न खोजेको त देखिन्छ तर आफ्ना विरोधीहरुलाई पनि आफ्नो राजनैतिक भिजन, राष्ट्र निमार्णको मार्गचित्र र वैचारिक चिन्तनको प्रभावमा समेट्न सक्ने नेतृत्वयुक्त आशा गरिएको गुण तिनले प्रदर्शन गर्न सकेको मान्न कठीन हुन्छ ।
पछिल्लो समयमा आएर प्रचण्डले राजनैतिक दलहरुको निकम्मापन, राजनैतिक बेइमानी, देशमा व्याप्त ब्रम्हलुुट, युगौंदेखिको विभेद, राष्ट्रिय बेथितिविरुद्ध जनताको आक्रोशको रुपमा विस्फोटन भएको जनयुद्धको उठान र नेतृत्व गर्ने र २५० वर्षदेखिको सेतो हात्तीको रुपमा नारायण्हिटीमा पालित राजतन्त्रको अन्त्यको लागि खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न । परन्तु संविधानसभाको निवार्चनमार्फत सशस्त्र संघर्षको सफल अवतरण गराएपश्चात उनले खेलेको भूमिका, राजनैतिक तिकडमबाजी र जसरी पनि सत्ताशक्तिमा पुग्ने कुत्सित मनोग्रंथीले उनमा राजनेता त पर जाओुस् कतै हजारौंको रगतपसिनाको बलिदानलाई उनले आफू सत्तामा पुग्ने भर्यांग बनाएको देख्दा उनको हिजोको योगदान समेत ओझेलमा पारेकोछ । कुनै बेला क्रान्तिको तिलस्मी नायकको रुपमा चित्रित प्रचण्ड अहिले आफै प्रतिक्रान्तिका खलपात्र बनेको कुरुप दृश्यको साक्षी हिजो प्राण हत्केलामा राखेर लडेका लालसेनाहरु बनेका छन ।
वर्तमान नेपालको राजनैतिक परिदृश्य हेर्ने हो भने आम जनता राजनैतिक दल र तिनका नेताको नाम समेत सुन्न नसक्ने गरि आजित भइसकेका छन् । कतिसम्म भने टेलिभिजनमा एउटा सामान्य कार्यक्रम चलाउने पत्रकारको पछि आम जनताको आशाको मुख बाएको अनियन्त्रित भीड देख्दा देश असल नेताको अभावमा कति तन्नम भएछ भनेर सहजै अनुमान गर्न सकिन्छ । हिजो अस्थिर सरकार भएर देशमा भद्रगोल भयो भनेर जनताले दुई तिहाइ बहुमत सहितको स्थिर सरकारको पक्षमा अभिमत दिए तर सरकारको कामकारवाही र घृणित रबैया देख्दा जनतामा लोकतन्त्र र गणतन्त्रमाथि नै मोहभङ्ग हुने अवस्था सिर्जित हुँदैछ । त्यो हुनुको प्रमुख कारण भनेको फेरि पनि देश र जनताप्रति कटिबद्ध राजनैतिक नेतृत्वकै अभावले हो भन्नेमा दुबिधा छैन ।
लोकतन्त्रको सौन्दर्य भनेको जनताद्वारा निर्वाचित जनप्रतिनिधिले शासनव्यवस्था सञ्चालन गर्ने हो तर जनता र देशप्रति समर्पणभाव भएको र उत्तरदायी नेताहरुको अभाव यो स्तरमा छ कि आफ्नो अमूल्य मत दिएर शासनसञ्चालन गर्न चयन गर्ने योग्य उम्मेद्वार नै कही कतै नदेखिएको विकराल स्थिति छ । सर्वत्र मौकापरस्त, दलगत स्वार्थ अझ त्योभन्दा वैयक्तिक स्वार्थको जुठेल्नोमा रमाउने झिंगे कथित नेताहरुको जगजगी छ । हिजो हप्ता असुली गरेर गुण्डागर्दी गर्नेहरु राजनीतिको बर्को ओढेर देशलाई लुट्न र्याल चुहाइरहेकाहरुको मुखबाट आदर्शको भाषण सुन्न नेपाली जनता श्रापित छन् । यस्तो भयानक अन्योलको स्थितिमा फेरि पनि जिम्मेवारी युवाको काँधमा आउने निश्चित छ । किनभने कुनै पनि देशको हरेक क्रान्ति र परिवर्तनमा निणार्यक भूमिका खेल्ने वर्ग भने इमानदार सचेत र राष्ट्रकोलागि आफूलाई सम्पूर्ण रुपले होम्ने युवाशक्ति नै हो । अहिलेको वर्तमान नेपालको परिस्थितिको धरातलीय यथार्थलाई गम्भीर भएर सोच्दा सत्तालोलुपताको क्यान्सर रोगबाट आक्रान्त पुस्तालाई जनता र राष्ट्रको दूरगामी भविष्यले चिन्तनशील नयाँ युवा वर्गले दलगत क्षुद्र घेराविरुद्ध विद्रोह गर्नुको अर्को विकल्प देखिदैन । देशमा रहेका बौद्धिक र नागरिक समाजका निःस्वार्थ अग्रजले त्यसता युवावर्गलाई गोलबन्द हुन र बुढो गोरु भइसकेका पुरातन पाखण्डी राजनैतिक शक्ति विरुद्ध हस्तक्षेप गर्न, उत्प्रेरित गर्न र त्यसका लागि देशव्यापीरुपमा घनीभूत बहस र छलफलको अभियान चलाउनु इतिहासले सुम्पेको महान जिम्मेवारी हो । किनकि कुनै परिवर्तन र रुपान्तरणको जन्म विचार र बहसको गर्भबाट हुन्छ भन्ने कुरा इतिहाससिद्ध वैज्ञानिक तथ्य हो ।