वर्तमानको तितो यथार्थतालाई तपाईसामु राख्न मैले एक टुक्रा चकलेट मुखमा राखेर बसेको छु । त्यो बर्दियाको एउटा रणभूमी जहाँबाट हामी सधै–सधैका लागि भौतिक रुपमा छुट्टियौं । केही सय मिटर पारी दक्षिणमा भारत अनि २÷३ किलोमिटर पश्चिमतर्फ गुलरिया, २०÷२५ किलोमिटर पूर्वमा नेपालगंज÷गणेशपुरको लडाई, जहाँबाट तपाईले मृत्युलाई अमर बनाएर जीवनको बलिदान गर्नुभयो । त्यो मोर्चाको फिल्ड, कमाण्डर तपाई अनि तपाईको सह कमाण्डरमा मेरो जिम्मेवारी ! दुश्मनलाई धुलो चटाएर जनताको जीतको अभियानलाई अर्को उचाइमा पु¥याउने हाम्रो साझा संकल्प । तपाईको रणकौशल, साहस र वीरताको सधै–सधै उच्च मूल्याङकन भइरहन्थ्यो । कमाण्डर जीतको हरेक मोर्चाहरुमा उत्कृष्ट भुमिका भइरहन्थ्यो, जसको बारेमा सिङ्गो पार्टी, सेना र मोर्चाको चर्चा भइरहन्थ्यो । लडाईमा तपाईले देखाउने बहादुरीको चर्चा शब्दमा गरेर यहाँ सम्भव छैन । तत्कालिन हाम्रो पार्टी नेकपा (माओवादी) का अध्यक्ष तथा जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर कमरेड प्रचण्डले समेत तपाईको क्षमताको तारीफ गर्ने गर्नुहुन्थ्यो । गणेशपुरको त्यो युद्ध जीवन कै सबैभन्दा दर्दनाक स्मरण । दशबर्से जनयुद्धको इतिहासमा हाम्रो जनमुक्ति सेनाले व्यहोरेको सबैभन्दा ठूलो क्षति । अथवा दुश्मनको सेनाले हामीमाथि गरेको सफल प्रत्याक्रमण । जहाँबाट मुश्किलले बाँचेको म ! एउटा दुर्भाग्यपूर्ण जीवन बाँच्दैछु । तपाईसँगै दुर्भाग्यको गोलीले छेदन गर्न सकेको भए म, यो जुनीमा जिन्दगीको अर्कै मूल्य हुन्थ्यो होला । एउटा कसम त पुरा हुन्थ्यो तर म असफल भए, तपाई सफल हुनुभयो । आदरणीय वीर सहिद जीत—सलाम !
कमाण्डर जीत, गणेशपुरबाट हामी अनायासै छुट्टियौं, विदाईको हात पनि मिलाउन पाएनौं, तपाईको पार्थिक शरीरमा अन्तिम सलामी समेत प्रदान गर्न पाएनौं । जनताको मुक्तियुद्धमा लड्दा लड्दै तपाई हामीबाट छुट्टिएर अजम्बरी जीवन प्राप्त गर्नुभएको पनि आज झण्डै १५ वर्ष बितिसक्यो । तपाईलाई सम्झनासाथ ती सयौं सहयोद्धा महान वीर सहिदहरुको अनुहार (तस्विरहरु) सामनेमा खडा हुन्छ । मानसपटलमा धेरै–धेरै युद्धयात्राका ती आँधीमय दिनहरुको यादहरु बर्सिन्छ । यतिबेला युद्धको कुरा पुरानो जस्तो भइरहेको छ । हामी जुन युद्धको भीषण र निर्णायक चरणमा पुगेका थियौं । दुश्मनको सत्ता भित्र हाम्रो बिजयको लहरले कोलाहल (खैलाबैला) मच्चिरहेको थियो । संसदवादी दल, राजा र मण्डलेहरुका बीचमा एउटा डरलाग्दो संकट पैदा भएको थियो जनयुद्धको कारणले । पुरानो सत्ताको अन्तिम सुरक्षा अंग सेना, शसस्त्र र प्रहरी भित्र भागदौड मच्चिरहेको थियो । कथित युनिफाईड कमाण्ड भित्र पनि मनोबल गिरेका फौंजको बाहुल्यता थियो । तपाईलाई थाहा छ– मनोबल युद्ध जित्नको लागि पहिलो हतियार हो । पुरानो सत्ताको मुकाम बाहेकका सम्पूर्ण क्षेत्रमा जनसत्ता चलिरहेको थियो । जनमुक्ति सेनाको आधुनिक अस्त्र सहितको सातवाट डिभिजन निर्माण भएका थिए । एउटा दुर्भाग्य तपाई सहिद भएको केही महिनापछि रुकुमको चुनवाङ्गमा बसेको माओवादीको केन्द्रीय सदस्यको बैठकले ‘दुश्मनको ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने’ फौंजी कार्यक्रम बनायो भने सँगै अर्कोतिर लोकतान्त्रिक गणतन्त्र अथवा एक्कइसौ शताब्दीमा जनताको निकास भनेर सम्झौता परस्त नीति अख्तियार ग¥यो । जनयुद्धको विकासको तरंगले इमानदार, बहादुर र प्रतिबद्ध नेता, कमाण्डर र सिङ्गो पङ्क्तिमा उत्साह उमङ्ग छाएको थियो । जनयुद्धको गुणात्मक विकासले के प्रस्ट पारेको थियो भिने अब जनताको सुदिन नजिकैको क्षितिजमा उदाइसकेको छ । जनताको महान विजयको स्वागतको लागि सर्वहारा–श्रमजीवी तथा शोषित–उत्पीडित आम नेपालीहरु आतुर थिए । नेपालमा जनताको जीतलाई दुनियाँको कुनै पनि शक्तिले रोक्न सक्दैन भन्ने लागेको थियो ।
आदरणीय कमाण्डर क. जीत, २०६२ मंसिरतिर भारतको दिल्ली गएर ७ राजनैतिक दलका प्रतिनिधि सहित हाम्रो पार्टी नेतृत्वले १२ बुंदे सम्झौता गरेछन् । राजतन्त्र मिल्काउन तथा राजा ज्ञानेन्द्रलाई मिल्काएर गणतन्त्र ल्याउन भनेर । त्यसै सहमति अनुसार सात संसदवादी दलहरुले सहरमा आन्दोलन थाले, हामीले फौंजी कार्वाहीहरुलाई बढायौं । आन्दोलनकै क्रममा पार्टी हेडक्वाटरबाट एकतर्फी युद्धविरामको घोषणा गरियो ०६३ बैशाखमा । त्यसपछि भने हामी अलि भिन्न ठाउँमा पुग्यौ । हामी यतिबेला जहाँ छौं, हाम्रो देश जुन राजनैतिक स्थितिबाट गुर्जिरहेको छ, यो कल्पनासम्म गरिएको थिएन । हाम्रो सर्वोच्च कमाण्डर कमरेड प्रचण्डले हाम्रो पार्टी–सेनाको भेला–वैठकहरुमा भन्नुहुन्थ्यो– “यो युद्धविराम (शान्ति) नितान्त अस्थायी, सापेक्ष र कार्यनीतिक हो । हामीले अर्को उचाईको युद्धको तयारीको रुपमा यो युद्धविरामलाई बुझौं र लडाइको घनिभूत तयारीलाई जोड दिऔं । सम्पूर्ण शक्ति लाडाइको तयारीमा लगाऔं, एउटा अन्तिम लडाइ बाँकी छ ।” हामी विश्वस्त भयौं र सर्वोच्च कमाण्डरको आदेशअनुसार कार्यक्षेत्रमा लाग्यौ ।
दाजु जीत, तपाईलाई कति भनौ कति कुरा लुकाऔं ! तपाईलाई निराश बनाउने इच्छा छैन । तपाईको सदिक्षा (सपना) कुठाराधात भएको सन्देश सुनाउने मन छैन । तपाई र तपाई जस्तै हजारौ सहिदहरुको रगतको प्रत्येक बुंदाको गहिरोसँग मुल्यबोध भइरहेको छ । प्रतिक्रियाबादी सत्ताका रक्षकहरुको क्याम्पमा धावा बोल्दा देखेको सपना अधुरो छ । दुश्मनमाथि जाइलाग्दा व्यक्त गर्जनहरु आज मजाक जस्तो पो लागीरहेको छ । गन्तव्यमा पुगिरहेको छैन । हाम्रो लक्ष्य–उद्धेश्यको प्राप्तिका लागि कोरिएको एउटा बाटो अहिले भत्काइएको छ । युद्धयात्रीहरु अलमलमा छन् । आ–आफ्नै बाटाहरु बनाउदै छन् । कोही आफ्नो घरजमको बाटो खन्दै छन्, कोही सहरको सुबिधायुक्त बाटो छान्दैछन्, कोही स्वीट्जरल्यान्ड छान्दैछन् । कसैले त अस्ट्रेलिया, जापान र अमेरीकालाई आफ्नो कार्यक्षेत्र बानाइसके । आजको मितिसम्म तपाई भौतिक रुपमा बाँचिरहेको भए के भन्नुहुन्थ्यो होला ? मलाई थाहा छैन केवल कल्पना गर्न सक्छु । तपाईले यो परिस्थितिको अवलोकन गर्न पाउनु भएको भए सायद जनयुद्धका नायकहरुलाई धितमर्ने गरी गाली गर्नुहुन्थ्यो होला । वयस्क जनक्रान्तिलाई विचल्लिमा पारेर सिंहदरबार हिडेको त्यो गद्दारहरुको भिडलाई ढाडे हात लगाएर सराप्नुहुन्थ्यो होला । जनयुद्धको कसम खाएर आफ्नो भँुडी भर्न लालायित धोकेबाजहरुको मुखभरी थुक्नुहुन्थ्यो होला । तर ती धोकेबाज गद्दारहरुले त यो परिस्थितिलाई नै ठूलो उपलब्धि र आफ्नो बिजय ठानेका छन् ।
“ओए लम्बु कान्छा, तेरो त्यो औँलाको छर्रालाई त मै भर्खर अप्रेशन गरी निकालिदिन्छु, खै तेरो हात यता ल्या….पत्तीले चिरेर एकैक्षणमा निकालिदिन्छु….।” भनेर तपाईले तर्साएको हातको छर्रा अहिले पनि राखेको छु, झिकेको छैन दाजु । मलाइ यो छर्रा कहिल्यै झिकु जस्तो पनि लागेको छैन । मैले झिक्ने कष्ट पनि गर्ने छैन । यसले मलाई दुःख पनि दिएको छैन, तर शुभचिन्तकहरुले क्यान्सर पनि हुन सक्छ शरीरमा राख्नुहुँदैन भनेर भन्छन् । मलाई त्यस कुराको रतिभर डर छैन । म्याग्दीको सदरमुकाम बेनी मोर्चाको ऐतिहासिकतासँग जोडिएको खुसी र बलिदानको पीडालाई सम्झनका लागि यो एउटा उत्कृष्ट निशानी हो । २०६० चैत ७ गते हामीले वेनीमा धावा बोल्यौ । मोर्चामा हाम्रा क्षेत्रिय कमाण्डरहरुलाई गुमायौं । ती योद्धा र वहुवीरहरुले लडाईमा वीर गति प्राप्त गरे । हाम्रा ७० भन्दा बढी सहयात्रीहरुले बलिदानी दिनुभयो । सयभन्दा बढी सहकर्मी योद्धाहरु घाइते अपाङ्ग बन्नुभयो । हामीले बेनीमा एउटा ठूलो विजयको सपना बोकेर हाम फालेका थियौं । जुन सपना सम्पूर्ण रुपले पूरा गर्न नसके पनि हामीले त्यहाँबाट महत्वपूर्ण सफलता हात पारेका थियौ । दुश्मनको किल्लाबाट हामी माथि हमला गरिरहेका ५०आँै फौँजलाई जिउदै हाम्रो नियन्त्रणमा ल्यायौ, सयौं हातहतियार सहित युद्ध सामग्रीहरु बरामद गर्याै । जिल्लाको सीडीओलाई जिउदै उनको कार्यकक्षबाट हामीले युद्धबन्दि बनायौ, हाम्रो जनसत्ताको भ्रमण गराएर उनको आफन्तलाइ जिम्मा लगायौ । हामीले बेनीमा धावा बोल्यौ तर त्यो आक्रमणको धक्काले सिंहदरबार र नारायणहिटी मात्रै थर्किएन अमेरिका समेत कम्पन भयो । हामीले कालीगण्डकी र म्याग्दीखोलाको छालहरुमा बलिदानको ठूलो रगत मिसायौ सँगै युद्धको उचाइलाई माथि उठायौं । त्यसैले मेरो हातको छर्रा बेनी मोर्चाको मात्रै होइन, नेपाली जनयुद्धको ‘मेमोरीज’ हो ।
दशवर्षे जनयुद्धको सर्वोच्च कमाण्डर यो देशको कार्यकारी प्रमुख अर्थात दुई–दुई पटक देशकै प्रधानमन्त्री भइसक्नुभएको छ । युद्धमोर्चाका सबैभन्दा ठूला र सफल कमाण्डर जसले तपाई हामीलाई दर्जनौ मोर्चाहरुमा लड्न र जित्न सिकाउनु भएको थियो । रुकुमको मैकोटमा म्याप अध्ययन गराएर युपालको धुरीलाई टेक्दै दुनै जित्न गयो । रुकुमको लुकुममा स्याण्डमोडेल व्रिफिङ गरेर ढोेरपाटन, गुर्जाघाट तर्दै बेनी जलाउन लगियो । रोल्पा टेकेर घोराहीको ब्यारेक बढा¥यो । जसले कालिकोटको लालु र कुमाल गाउँ टेकेर अछामको मंगलसेन र साफेबगर खाली ग¥यो । हो त्यो सफल फौंजी कमाण्डर अहिले यो देशको उपराष्ट्रपति हुनुहुन्छ । उहाँ यतिबेला खुसी हुनुहुन्छ वा नतमस्तक त्यो चाही थाहा छैन । उहाँले तपाई हामी जस्ता सयौं युद्धका कमाण्डरहरु उत्पादन गर्नुभयो र सैन्य विज्ञानको स्कुलिङ्ग गर्नुभयो । जित्न सिकाउनुभयो तर आफु अन्तिम जीतसम्म लड्न सक्नुभएन । हाम्रा डेपुटी कमाण्डरहरु सबै–सबै यो देशको मन्त्री परिषदको सदस्य बनिसक्नुभयो । उहाँहरुले गरिव किसानका लागि के दिनुभयो यो जवाफ माग्नैपर्ने छ । हामीले असाध्यै सम्मान गर्नुपर्ने नेता क. बादल (राम ब. थापा) यतिबेला प्रहरी प्रसासनको सर्वोच्च कमाण्डर अर्थात गृहमन्त्री हुनुहुन्छ । उहाँले शान्ति, न्याय र सत्यका पक्षमा काम गर्दै हुनुहुन्छ कि दमन र फेक इन्काउन्टरको पक्षमा ? त्यो सवाल जनताले उहाँसँग सोध्दैछन् । अन्य धेरै युद्धका हाम्रा सहकर्मीहरु सरकारी भत्ता खाने महत्वपूर्ण कुर्सीमा आसीन हुनुहुन्छ । यस्ता धेरै अपत्यारिला सन्देशहरु छन् जसले आम क्रान्तिकारी महान् जनतालाई अलिकति पनि सन्तुष्टि दिन सकिरहेका छैनन् बरु यी कुराहरुले उनीहरुप्रति घृणा, आक्रोश साथै बदलाको भावनाले ओतप्रोत गरेको छ । अझ यसो भनौ कि यो देशमा माओवादी आन्दोलनको कार्यदिशा कहाँ गयो ? भनेर खोज्नुपर्ने स्थिति छ । हाम्रा माओवादी नेताहरुले संसदवादीहरुसँग मिलेर एउटा राजको सिंहासन त भत्काए तर आज स्वयं सयौँको संख्यामा महाराजाहरु भएर जन्मिए । जनताको कार्यकर्ताको र सहिद–वेपत्ता परिवारको विश्वासमाथि तेजाब खन्याए, सबै पुँजीवादी संसदीय व्यवस्थाका मालिक जस्ता भएर उदाए । रोल्पा, रुकुम, जुम्ला, कालिकोट, दैलेख, जाजरकोटको मात्रै होइन तराइका थारु, मधेसी जनताको जिन्दगी आज पनि बेरोजगारी, अशिक्षा, भोकमरीले ग्रष्त छ । ८० प्रतिशत जनताहरु अभाव नै अभावको जातोमुनि पिल्सिएका छन् । दलित, जनजाति, थारु, मधेशी, महिलाहरुको राज्यसत्तामा पहुँच छैन ।
कमाण्डर कमरेड, यतिवेला फेरि गाँउ–गाँउमा ‘युद्ध कि शान्ति’ भनेर बहस चल्दैछ । युद्धको आवश्यकता छैन, अब विकास र सम्वृद्धि सहितको आर्थिक शान्ति गर्नुपर्छ भन्नेहरु पनि उनै १० वर्षे जनयुद्धका कमाण्डरहरु छन् । देशैभरका माओवादी आन्दोलनका लाखौ समर्थकहरुमा एउटा डरलाग्दो निराशाको छायांले अंगालो मारेको छ । यो देशमा जुन कुराको अन्त्यको लागि हामीले बन्दुक बोक्यौ आजको मितिमा त्यही कुराको बिगबिगी छ । राष्ट्रियताको समस्या छ, वर्गीयताको समस्या छ, अनेकन प्रकारका सामाजिक विसङ्गती र विकृतिले गाँउ सहर व्याप्त छ । रातो झण्डा बेक्ने र क्रान्तिको सपना बोकेकाहरुले नै जनताका वैरीहरुको कित्तामा आफुलाई उभ्याएका छन् । देशमा लाल कित्ते जंगबहादुर राणाहरुको जन्म भएको छ । बलात्कार, हत्याहरुको विरुद्धमा न्याय, अनुसन्धान र कानुनी कार्वाहीको माग गर्दै सडकमा शान्तिपूर्ण आन्दोलन गर्नेहरुलाई राज्यले राइफलको गोलीले ताक्छ । प्रहरी प्रशासनले आफ्नो कमजोरी लुकाउन व्यक्ति हत्यामा बढावा दिएको छ । फेक इन्काउन्टरको चलन चलेको छ । सरकारी बर्दिधारी बन्दुकले गोली ठोक्नु, निहत्था–निशस्त्र नागरिकको ज्यान लिनु उसको खल्तीको अधिकार हो । राज्यसत्ता यति शक्तिशाली हुँदोरहेछ कि उसले निष्पट अध्यारो रातलाई दिन र सुकोको दाउरालाई हरियो वृक्ष भनेर प्रमाणित गर्न सक्दो रहेछ । दाजु हामीले यस्तै वेहालपूर्ण, दर्दनाक जिन्दगी बाँचिरहेका छौ । तपाई हामीले उठाएको बन्दुक सहितको जनक्रान्तिको निष्ठताको आवश्यकता बोध गरिरहेका छौ । के फेरि यो देशमा क्रान्ति सम्भव छ ? मलाइ लाग्छ यो वर्गीय समाजमा वा विभेदकारी व्यवस्थामा जहिले पनि क्रान्ति सम्भव छ । यति हँुदा हुँदै पनि हामी तपाईको अधुरो सपना पूरा गर्न प्रतिवद्ध छौ । हामी यो कालो वर्तमानको साङ्लोमा बांधिन बाध्य अभागीहरु हौं । तपाई त भग्यमानी हुनुहुन्छ । तपाई अमर सहिद हुनुभयो– तपाईलाई कोटी–कोटी श्रद्धा सुमन !!
विजय के.सी ‘विकल्प’
५ भदौ २०७६, बिहीवार
पोखरा कारागार, कास्की