शंकाकै बाटो भएर पुगिन्छ विश्वासको गन्तव्य

हिमालचन्द्र बराल

प्रिय
तिमी मेरो प्रेममाथि शंका गर
म भन्दिनँ आँखा चिम्लेर विश्वास गर
मैले तिमीलाई गर्ने हरेक व्यवहारबारे
कुनै प्रश्न नगर त भन्दै भन्दिनँ

अनेक खोल्साखोल्सी र गल्छी छिचोल्दै
कतै साँघुरिदै त कतै फैलिदै
कतै भँगालो फाट्दै
कतै सुकेर बिलाउँलाझैं गर्दै
हिमाल पहाड र मैदानमा
अविरल र अथक संघर्षका परीक्षा उत्तीर्ण गरेर
अन्ततः महासागरमा समाहित हुने नदीजस्तै
शंकाको डोरी समाउदै समाउदै
अविश्वासको चिप्लो हिउँमा टेक्दै
धैर्यको टर्चलाइट शीरमा बोकेर
तिमी विश्वासको चुलीमा पुग्नु
र त्यसपछि खोज्ने छैनौ
तिमीले मेरो प्रेमको दसी प्रमाण
जसरी सन्तानलाई जन्म दिने आमालाई
चाहिदैन कुनै आमा हुनुको प्रमाणपत्र

म तिम्रा प्रत्येक शंकाहरुलाई स्वागत गर्छु
उसैगरी जसरी भीरमा फुल्ने गँरासले
सहासले स्वीकार्दछ असिनाको चुटाइ
मलाई बोध भइसकेको छ कि
हिउँको सगरमाथा चढ्नुभन्दा
गुणनले गुना गर्न नसक्ने गरि कठीन छ
प्रेमको सगरमाथा आरोहण
र प्रेमको यात्रामा
शंकाकै बाटो भएर पुगिन्छ विश्वासको गन्तव्य !