लहान, ७ चैत । होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो ।
होटलभित्र अवैधरूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयवासीको गुनासोपश्चात सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दियका छन।
पछिल्लोपटक गत सोमबार राति काठमाडौँबाट आएका दुई युवक उक्त होटलमा कोठा भाडा लिएर बास बसेको र बिहान पैसा तीर्ने विषयमा होटल सञ्चालक र युवाबीच झगडा भएको थियो । सो क्रममा एक युवक होटलको तेस्रो तलाबाट स्थानीय शम्भु साहको घरको छतमा हामफालेपछि युवकको खुट्टा भाँच्चिएपश्चात यस्तो रहस्य बाहिर आएको स्थानीयवासीले बताएका छन् ।
होटल सञ्चालक सञ्जय ठाकुर र ललिताविरुद्ध सार्वजनिक मुद्दा दायर गरी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गौतमले बताउनुभयो । यसअघि पनि ती होटल सञ्चालकमाथि मुद्दा चलाइएको थियो ।
प्रहरीले सिरहा नगरपालिका–१२ लगडीगोठबाट आज बिहान १६ कार्टुन मदिरा बरामद गरेको छ । नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी लगडीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा मदिरा बरामद गरेको हो ।बरामद गरिएको मदिरा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मार्डरमा बुझाइने प्रहरीले जनाएको छ ।