देशभर बाढी र पहिरोका कारण एक लाखभन्दा बढी विद्यार्थीहरु प्रभावित भएका छन् । सयौं विद्यालय भवन क्षतिग्रस्त भएका छन् । एक सयको हाराहारीमा विद्यार्थीहरुको दुःखद निधन भएको छ । त्यसैगरी सयभन्दा बढी विद्यालय भवनमा रहेका विद्यालयका शिक्षण सामाग्रीसहित महत्वपूर्ण कागजपत्रहरु पूरै नष्ट भएको छ । वर्षेनी तराईमा बाढीका कारण वर्षा याममा विद्यालय र विद्यार्थीहरु प्रभावित हुने भए पनि यसपटक भने ठूलो विपत्ती नै देखिएको छ । यति ठूलो सङ्ख्यामा विद्यालयहरु क्षति भएको, शैक्षिक सामाग्रीहरु नष्ट यसअघि नभएको विज्ञहरु बताउँछन् ।
कतै विद्यालय भवन नै बगेका छन्, कतै पहिरोले पुरिएका छन् भने कतै विद्यालय भवनहरु बाढी पहिरोबाट विस्थापित भएकाहरुको सेल्टर बनेका छन् । जसका कारण ती विद्यालयको पढाइ बन्द भएको छ । जनजीवनमा देशव्यापी बाढी र पहिरोको सन्त्रास देखिएको भए पनि सरकार भने त्यति संवेदनशील देखिएको छैन । सिन्धुपाल्चोकमा पहिरोमा ५० जना विद्यार्थीसहित १५६ जना वेपत्ता भइरहेका बेला सरकारको ध्यान मोदीतर्फ गयो । मोदीका पछिपछि कुद्न र उनको भाषणका प्रत्येक वाक्यमा ताली बजाउनमै प्रतिस्पर्धा चल्यो– मन्त्री र सभासदहरुको । त्यतिबेला मांखाको पहिरोले बनेको ताल फुटाउन छिमेकी देशसँग सहयोग माग्ने निर्णय मात्र ग¥यो सरकारले तर त्यसलाई कार्यान्वयन भने गरेन । त्यस लगत्तै अहिले देशभर बाढी र पहिरोले जनजीवन त्रस्त बनाएको छ । तर, सरकारको चासो त्यसतर्फ बढेको देखिदैन । पीडितहरुले राहत नै पाउन नसकेका पीडा दिनहुँ संचारमाध्याममा छाइरहेका छन् । यत्रो ठूलो विपती देखिँदा पनि पीडितको उद्धार, विस्थापितहरुलाई पुनरस्थापना तथा राहत दिने कुरा अहिले जिल्ला स्थित दैवी प्रकोप उद्धार समितिको जिम्मामा दिइएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने उक्त समितिले अहिले पनि जिल्लामा के कति क्षति भएको हो भन्ने तथ्याङ्क पनि सङ्कलन गर्न सकेको देखिदैन ।
बाढीका कारण यसपटक सबैभन्दा धेरै विद्यार्थीहरुको निधन सिन्धुपाल्चोकमा भयो । साउन १७ गते शनिवार बिहान ३ बजे सिन्धुपाल्चोकको मांखामा आएको पहिरोमा परी ५० जना विद्यार्थीको निधन भयो । एकै पहिरोमा परी निधन भएका १५६ जना मध्ये ५० जना विद्यार्थी थिए । त्यसमध्ये ३१ जना त वनसाँघु माध्यमिक विद्यालयका विद्यार्थी थिए । पहिरोले वनसाँघु मावि नामनिशानै नरहने गरी पहिरोमा पुरियो भने अन्य ८ वटा विद्यालय प्रभावित भए । त्यसैगरी एउटा संस्थागत विद्यालयको गाडी पहिरोमा पुरियो ।
सिन्धुपाल्चोक मांखाको जुरे पहिरोको खबर सेलाउन नपाउँदै लगत्तै साउन २८ देखि परेको अविरल वर्षाका कारण मध्यपश्चिममा अर्को विपत्ती आयो । मध्यपश्चिमका सुर्खेत, बर्दिया, बाँकेमा सबैभन्दा बढी विद्यार्थी र उनीहरुले पढ्ने विद्यालय क्षति भए । अहिले पनि त्यस क्षेत्रमा हजारौ विद्यार्थी विस्थापित भएका छन् । विद्यालयहरु बन्द छन् । बाढी र पहिरोले विद्यालय लगेपछि अब विद्यार्थीहरुलाई कहाँ पढाउने भन्ने समस्या नै पैदा भएको छ ।
साउन अन्तिममा आएको बाढी र पहिरोले सबैभन्दा बढी क्षति सुर्खेत जिल्लामा गरेको छ । सुर्खेतमा १० हजार विद्यार्थीहरुको पोशाक, पुस्तक, शिक्षण सामाग्री क्षति भएको छ । सुर्खेतका ८ वटा विद्यालय र ७ वटा इसीडी गरी १५ वटा विद्यालय पूर्णरुपमा क्षति भएका छन् भने ३२ वटा विद्यालयहरु आंशिक रुपमा क्षति भएका छन् । यी सबै विद्यालय कतै बाढीले बगाएर लगेको छ भने कतै पहिरोमा पुरिएका छन् । त्यस्तै २५ वटा विद्यालयहरु विस्थापितहरुको सेल्टरका रुपमा प्रयोग भएका छन् ।
सुर्खेतका जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले अझै पनि क्षतिको विवरण सङ्कलन गरिरहेको बताए । उनका अनुसार पूर्ण रुपमा क्षति हुने विद्यालयहरुमा विजयश्वरी उच्च माध्यमिक विद्यालय हरिहरपुर, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिस्नेरी, हरिहरपुर, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डोप्का, हरिहरपुर, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय थर्मसे, लेकपराजुल, कालिका प्राथमिक विद्यालय बच्छी, तातोपानी, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चैते, लेकपराजुल, कालिका प्राथमिक विद्यालय तिखाकुना, बाबियाचौर, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कुटमिरे, लेकपराजुल रहेका छन् । यी आठ वटा विद्यालयमा ९ सयभन्दा बढी विद्यार्थी रहेको जिशिअ उपाध्यायाले बताए ।
त्यसैगरी पूर्ण रुपमा ध्वस्त हुने इसीडीहरुमा लेकपराजुलमा रहेको मसेरी इसीडी, साजघाट इसीडी तातोपानी, कुन्ती इसीडी लाटीकोइली, भेरी इसीडी, हरिहरपुर, तातापानी इसीडी, उत्तरगंगा, डोप्का इसीडी, हरिहरपुर, प्रावि ठाँटी इसीडी, बाबियाचौर रहेका छन् । यी ७ वटा इसीडीमा १६७ जना विद्यार्थी रहेको जिशिअ उपाध्याय बताउँछन् ।
सुर्खेतमा आएको बाढी र पहिरोमा परी अहिलेसम्म तीन दर्जनको मृत्यु भइसकेको छ । त्यसमध्ये एक दर्जन विद्यार्थी रहेका छन् । सुर्खेतमा आधा शताब्दीपछि यो विपत्ती आएको विज्ञहरु बताउँछन् । बाढीले सदरमुकाम विरेन्द्रनगरमा नै ठूलो क्षति पु¥याएको छ । सुर्खेत उपत्यकामा रहेका इत्राम खोला र ….. खोलाको बाढीले विनास नै निम्त्यायो । हिउँदमा पानी नै नहुने खोलामा यति ठूलो बाढी आएर यो विनास निम्त्याउँछ भन्ने सुर्खेतवासीले नसोचेको बताउँछन् । त्यसैगरी भेरी नदी किनारका थुप्रै बस्तीहरु बगेका छन् । हरिहरपुर र तातोपानीमा केही गाउँ नै बाढी र पहिरोले बगाएर लगेको छ ।
बर्दियामा बबई र कर्णाली नदीमा आएको बाढीले पनि हजारौ नागरिकहरु विस्थापित भएका छन् । जिल्ला शिक्षा कार्यालय बर्दियाले सङ्कलन गरेको विवरण अनुसार बर्दियामा २५ हजार विद्यार्थीका पाठ्यपुस्तक, शैक्षिक सामाग्री तथा पोशाक नष्ट भएको छ । बर्दियामा बाढीले बगाएको भन्दा बाढी वस्तीमा पसेर भएको डुबानको समस्या अत्यधिक छ । बाढी पसेपछि माटोले बनेका विद्यालय भवनहरु भत्केका छन् भने अन्य पक्की भवनमा रहेका सम्पूर्ण शिक्षण सामाग्री नष्ट भएको छ ।
बर्दियाका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले दिएको जानकारी अनुसार ८५ वटा विद्यालयमा बाढीले आशिंक क्षति पु¥याएको छ । त्यसैगरी ३० वटा विद्यालयहरुमा बाढीबाट विस्थापितहरुको सेल्टरका रुपमा प्रयोग भइरहेको छ । बर्दियाको ठाकुरद्वारामा रहेको एउटा संस्थागत विद्यालयको भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बाढी पसेका विद्यालय र वस्तीमा ५ फिटसम्म लेदो भरिएको छ । त्यो लेदो फाल्न महिनौ लाग्ने अनुमान गरिएको छ । लेदोका कारण विद्यालयहरु निकै दुर्घन्धित भएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिले बर्दियामा ५ दिनसम्म बाढी प्रभावित विद्यालयका लागि विदा पनि दिएको थियो ।
बाढीबाट विस्थापितहरुलाई जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिको भवनमै राखिएको छ । जिशिअ शाहले १ सय ५० जनाभन्दा बढी विस्थापितहरुलाई जिल्ला शिक्षा कार्यालयको भवनमा राखिएको बताए । बाढीले सबैभन्दा बढी सदरमुकाम गुलरिया–वार्ड नं. २ मा रहेको सुकुम्वासी वस्ती डुवानमा पारेको छ । पाँच सय भन्दा बढी घरधुरी रहेको संगम सुकुम्वासी वस्तीको ५ वटा टोलमा बबई नदी पसेपछि त्यहाँका सुकुम्वासी र मुक्त कमैयाहरु घरवास विहीन बनेका छन् । माटोले बनाईका घर भएका कारण उक्त वस्तीका सबै घरहरु भत्केका छन् भने बाढीले पूरै लेदो भरेको छ । उनीहरुको खाने अन्नपात, लुगाकपडा, भाँडाकुँडा र अन्य सरसामान पूरै डुबाएको छ । केही बगाएको छ भने केही सामान लेदोमा पुरिएर नष्ट भएको छ । साथै त्यस वस्तीमा रहेका सबै विद्यार्थीहरुको पाठ्यपुस्तक, पोशाकहरु बाढीले नष्ट गरेको छ ।
संगम वस्तीका मुक्त कमैया तथा सुकुम्वासीहरु अहिले गुलरियाका विभिन्न विद्यालय र क्याम्पसमा आएर बसेका छन् । संगम वस्ती डुब्दा विस्थापित भएका २ सय जना नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय पूर्णपुरमा आएर बसेका छन् । त्यस्तै २ सयभन्दा बढी विस्थापितहरु सुकुम्वासी वस्तीमै रहेको प्राथमिक विद्यालयमा बसेका छन् । त्यस्तै ६० भन्दा बढी विस्थापितहरु गुलरियाको बबई बहुमुखी क्याम्पसमा आएर बसेका छन् । त्यस्तै खैरापुर माध्यमिक विद्यालयमा पनि ६० जना बढी व्यक्तिहरु बसेका छन् । विस्थापित भएका सुकुम्वासीहरु दिनभर आफ्नो वस्तीतिर हेर्दै दुःखीत हुने गरेका छन् । तर, वस्तीमा पस्न सक्ने स्थिति छैन । विस्थापित भएकाहरु खानेपानीको समेत अभाव भएको छ । सबैतिर बाढीले डुवानमा पारेपछि उनीहरुका लागि खानेपानीको अभाव भएको हो । त्यसैगरी खाना नपाएर विस्थापितहरु विरामी पर्न थालेका छन् । सुत्ने, खाने र बस्ने समस्या व्यहोरिरहेका सुकुम्वासीहरु आफ्ना झिटिझाम्टा सबै बबईको लेदोले पुरिदिएपछि ठूलो समस्यामा परेका छन् । बाढीले बर्दियामा एक जना विद्यार्थी अझै पनि वेपत्ता छन् ।
बबई नदीमा आएको बाढीले बर्दियामा नेपाली सेनाको एक पोष्ट बगाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको पोष्ट बबई नदीको बाढीले बगाएको हो । उक्त पोष्टमा रहेका दुई जना सैनिक अहिलेसम्म पनि वेपत्ता छन् । बबई नदीको बाढीले बर्दियाका बगनाहा, बनियाभार, पदनाहा, नेउलापुर, धधवारका सयौं घर डुबानमा पारेको छ । साथै थुप्रै घरहरु बगाएको स्थानीयवासीले जनाएका छन् । त्यसैगरी कर्णाली नदीको बाढीले बर्दियाका सुर्यपटुवा, दौलतपुर, भिम्मापुर, पाताभारका थुप्रै घरहरु डुवानमा पारेको छ । कर्णाली नदीले राजापुर नगरपालिकाका थुप्रै घर पनि डुबेका छन् ।
त्यसैगरी बाढीले बाँकेमा पनि ठूलो क्षति पु¥याएको छ । बाँकेमा २९ वटा विद्यालयमा बाढीले क्षति पु¥याएको छ । ती सबै विद्यालयका शैक्षिक सामाग्री, कम्प्युटरहरु बाढीले नष्ट गरेको छ । ९ वटा विद्यालयका भवनमा नै क्षति पुगेको छ भने बाँकी विद्यालयमा बाढी पसेर शैक्षिक सामाग्रीहरु नष्ट गरेको छ । बाढीले क्षति पु¥याएका विद्यालयमा अहिले पढाउन समेत समस्या भएको छ । केही विद्यालयहरुले अस्थायी लर्निङ सेन्टर खोलेर पठन पाठन सूचारु गराउने प्रयास गरिरहेका छन् । बाढीले नेपालगञ्ज नगरपालिका भित्रैका थुप्रै विद्यालयहरुमा पढाइ प्रभावित भएको छ ।
त्यसैगरी मध्यपश्चिमको जाजरकोटमा पहिरो र वर्षाको पानीले एक दर्जन विद्यालयमा क्षति पुगेको छ । पहिरोले एउटा विद्यालय भवन पूर्ण रुपमा क्षति पु¥याएको छ । जाजरकोटको डाँडागाउ–३, चिउरीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवन आइतबार बिहान ३ बजे पहिरोले पुरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धमेन्द्र नेपालीले पहिरोले विद्यालय भवण पुरेका कारण विद्यार्थीहरुहरुलाई खुल्ला चौरमा राखेर पढाउनु परेको बताउँछन् । २ सय ५१ जना विद्यार्थी भएको उक्त विद्यालयमा खुल्ला चौरमा पढाउन सुरु गरिएका कारण आकाशबाट पानी आउन थालेपछि विदार्थीलाई नजिकै रहेका गाउँलेहरुको घरमा पठाउनुपर्ने बाध्यता भएको शिक्षकहरु बताउँछन् । जिल्लाको नायकवाडा सक्ला, रामिडाँडा, रोकायागाउँ लगायतका क्षेत्रमा विद्यालय भवनमा क्षति पुगेको छ ।
अविरल वर्षाले आएको पहिरो र खोलामा आएको वाढीले बाटो र पुलहरु वगाउँदा एक गाउँदेखि अर्को गाउँको आवत जावत पनि बन्द भएको छ । आवत जावत बन्द भएपछि जाजरकोटको उत्तरी भेगका तीन दर्जन बढी विद्यालयको पढाइ बन्द भएको छ । विद्यालय बन्द भएपछि १० हजार बढी विद्यार्थीहरुको पढाइ अलपत्र परेको छ । पहिरो प्रभावित क्षेत्रमा प्राथमिक तहदेखि उच्च माविसम्मका सबै विद्यालयको पढाइ बन्द भएको छ । वर्षाको पहिरो र पानीका कारण विद्यालय भवनहरु जिर्ण बनेका छन् ।
स्थानिय सामान्य प्रयासले बाटो मर्मत तथा पुल पुनरनिर्माणको सम्भावना नभएपछि कति दिनसम्म विद्यालयको पढाइ रोकिने हो भन्ने निश्चित छैन । नभएको विद्यालयका शिक्षकहरु वताउछन् । एकातिर विद्यालयको भवन भत्किएको तथा भवन पहिरोको उच्च जोखिममा रहेको अर्काे तर्फ एक गाउँवाट अर्काे गाउँमा जानका लागि बाटो नै नभएका कारण विद्यालय वन्द हुने अवस्थामा रहेको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठ बताउँछन् । शिक्षक, विद्यार्थीहरुको बाटो र विद्यालय भवनको अवस्था निकै जोखिमपूर्ण रहेकोले विद्यालयहरु केही समयका लागि बन्द गर्नु परेको जिशिअ श्रेष्ठले बताए ।
जिल्लामा पहिरोले सबैभन्दा बढी क्षति रामिडाँडा र रोकायगाउँ गाविसमा गरेको छ । रोकायगाउँमा २७, रामीडाडाँमा ५ र सक्लामा ४ घर पूर्ण रुपमा पुरिएका छन् । अझै पनि त्यस क्षेत्रमा १५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । जाजरकोटमा गएको पहिरोमा परी २ जना विद्यार्थीको ज्यान गएको छ ।
त्यसैगरी सुदुरपश्चिमको कञ्चनपुर, कैलाली, दाङ, मध्यपश्चिमाञ्चलका सिन्धुली, रौतहट, सर्लाही, महोत्तरी, धनुषामा पनि बाढीका कारण विद्यालयमा क्षति पुगेको छ ।
देशभरका बाढी र पहिरोमा परी शिक्षण सामाग्री नष्ट भएका विद्यालयमा करोडौको क्षति पुगेको छ । भत्केका विद्यालय बनाउन तथा नष्ट भएका शिक्षण सामाग्रीहरु फेरि बनाउन एक वर्ष समय लाग्ने देखिन्छ । कतिपय विद्यालयका पुराना तथ्याङ्कहरु नष्ट भएका छन्, जुन फेरि बनाउन कठिन छ । यसै त देशका विभिन्न जिल्लामा लामो समयसम्म पुस्तक पाएका थिएनन् विद्यार्थीले । बाढीले पुस्तक नष्ट भएका विद्यार्थीले पुनः पाउन पनि निकै समस्या देखिन्छ ।