शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । शिक्षक अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत मंसिरमा लिइएको शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । 

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ४५ हजार ६ सय ४१ जना उत्तिर्ण भएका छन् । यो कूल परीक्षाको ४० प्रतिशत हो । विद्यालय शिक्षाको माध्यमिक र निम्न माध्यमिक तहमा कूल १ लाख १३ हजार ९ सयले परीक्षा दिएका थिए । 

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माध्यमिक तहमा १२ हजार ६ जना, निम्न माध्यमिक तहमा ३३ हजार ६ सय ३५ जना उत्तिर्ण भएका छन् । त्यसमध्ये माध्यमिक तहमा १८ हजार ६ सय ६ जना थिए भने निम्न माध्यमिक तहमा ९५ हजार २ सय ९४ जनाले परीक्षा दिएका थिए । आयोगले गत मंसिर २७ र २८ गते अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो । यो परीक्षा देशभरका जिल्ला शिक्षा कार्यालयमा लिइएको थियो । 

शिक्षा शास्त्र संकायमा पढेर लाइसेन्स पाएपछि मात्र सामुदायिक विद्यालयमा अध्यापन गर्न पाउने प्रावधान लागु गरिएपछि अध्यापन अनुमति पत्र लिनेहरुको संख्या अत्यधिक बढेको छ । शिक्षक सेवा आयोगले लिने स्थायी शिक्षकको दरवन्दीमा आवेदन दिनका लागि पनि लाइसेन्स परीक्षा उत्तिर्ण गर्नु अनिवार्य गरिएको छ । 

शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्रको नतिजा आफ्नो वेवसाईटमा राखेको छ ।

http://www.tsc.gov.np/site/results यसमा क्लिक गरी नतिजा हेर्न सक्नुहुनेछ ।

Loading...