काठमाडौं । प्रहरीले बारम्बार करोडौं मूल्य बराबरको सुन बरामद गर्दै आएको छ, तर पनि तस्करी रोकिएको छैन । यति धेरै सुन बरामद हुँदा पनि किन तस्करी रोकिएन ? किनकि सुन तस्करीका नाइकेहरु सधैँ सुरक्षित हुने गर्दछन् । प्रहरीले जतिसुकै अनुसन्धान गरेपनि उनीहरु जेल जानु पर्दैन । एक पटक बरामद भएको सुनको लगानी २÷४ पटक तस्करी गर्दा उठाइहाल्छन् ।
एकथरी ठूला तस्करहरुको प्रहरीका हाकिमहरुसँग दोस्ती छ, जसकारण उनीहरुमाथि छानबिन हुँदैन । अर्कोतर्फ प्रहरीले मुद्दा नै चलाए पनि अदालतबाट सजिलै उन्मुक्ति पाइन्छ । त्यहीकारण देशमा संगठित रुपमा सुन तस्करी मौलाइरहेको छ ।
बहुचर्चित साढे ३३ किलो सुन तस्करीका मुख्य नाइकेहरु पनि अहिले अदालतमा ‘सेटिङ मिलाएर’ धमाधम छुट्न थालेका छन् । भरियाहरु जेलमा रहँदा मुख्य नाइकेहरु भने साधारण तारेखमै छुट्न थालेपछि धेरै प्रहरीहरु चकित परेका छन् । दरबारमार्गस्थित आरके ज्वलेर्सका सञ्चालक राजेन्द्रकुमार शाक्य गत साता डेढ लाख धरौटीमै छुटेका छन् । त्यस्तै मल्लिाका बज्राचार्य त साधारण तारेखमै छुटेकी छिन् । अन्य नाइकेहरु पनि अदालतमा उपस्थित हुने तयारीमा छन् । आफूहरु धरौटीमै छुट्ने वातावरण मिलाएर मात्र उनीहरु अदालतमा उपस्थित हुने गरेका छन् ।
सीआइबीले गत २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७ दशमलव ४० ग्राम सुन बरामद गरेको थियो । विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्री, भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पक्राउ परेका थिए । तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्की जेलमा छन् । सुन तस्करीमा भरियाका रूपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई समेत अदालतले जेल चलानको आदेश दिएको थियो । मुख्य एजेन्ट कार्कीले उत्तरढोकास्थित दरबार दोहोरी साँझबाट विभिन्न सुन पसलमा तस्करीको सुन बिक्री गर्दै आएका थिए । सुन तस्करी गरेर भिœयाउँदा एक किलो सुनमा आठ लाख रुपैयाँसम्म नाफा कमाउने गरेका थिए । सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्रीसमेत पक्राउ परे पनि उनी धरौटीमा छुटेका छन् । भन्सार कर्मचारीहरुलाई भने अदालतले पुपक्र्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
तस्करीका मुख्य नाइकेहरु दुबईमा रहेको स्रोत बताउँछ । तस्करीका मुख्य नाइके गुप्तलाल (रोशन) भुसाल र हरि खड्का हुन् । दुवैजना हाल दुबईमा छन् । सुन बरामद भएको भोलिपल्टै भुसाल दुबई गएका थिए । खड्का दुबईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुन पसलका मालिक हुन् । दुबईको सो सुनपसलका अन्य सञ्चालक पनि तस्करीमा संलग्न हरेको स्रोत बताउँछ । साढे ३३ किलो सुन तस्करीमा संलग्न चूडामणि उप्रेती (गोरे), रामकिशन अग्रवाल (काले) र अर्जुन खरेललगायत पनि बिदेशमै छन् । हरि खड्काका भाइ राजकुमार खड्का र अर्जुन खरेलका भाइ प्रकाश खरेल फरार छन् । लाजिम्पाट उत्तरढोकास्थित दरबार रोधीघरमार्फत् तस्करीको सुन विभिन्न पसलमा जाने गरेको प्रहरीले पत्ता लगाएको छ । दुई वर्षदेखि एयरपोर्टबाट सुन तस्करी गर्दै अँएका उनीहरुले करोडौं कमाइसकेका छन् । त्यही पैसाबाट उनीहरुले अहिले अदालतमा समेत चलखेल गर्न लागेको आशंका गरिएको छ ।
पुरानै नजिर
यसरी भरियालाई जेलमा हानेर मालिकहरुलाई उन्मुक्ति दिने अदालतको यो नयाँ नजिर होइन । विगतदेखि नै भरियाहरु मात्र जेल पर्दै आएका छन् । सीआईबीले २५ असार २०७० मा तातोपानी नाकाबाट सामान लिएर काठमाडौं आउँदै गरेको बा ३ ख २५८० नम्बरको कन्टेनरलाई कोटेश्वरमा नियन्त्रणमा लिई चेकजाँच गर्दा ३५ किलो सुन भेटिएको थियो । गाडीमा फल्स बटम बनाई सुन लुकाइएको थियो ।
गाडीमा चालक निमाछिरिङ तामाङ मात्र थिए । उनलाई सोधुपछ गर्दा उनले मोहन अग्रवाल र ग्याम्जो लामाले आफूलाई उक्त सुन ओसार्न लगाएको बताए । ग्याम्जो र अग्रवाललाई पनि प्रहरीले भोलिपल्ट पक्राउ गरी अनुसन्धान अघि बढायो । उनीहरुलाई राजश्व अनुसन्धान विभागले ३५ किलो सुनको मुल्य बराबरको धरौटी माग्यो । तर उनीहरुले त्यसविरुद्ध माथिल्लो निकायमा पुनरावेदन दिए । दुवै जना अदालतको आदेशमा सामान्य तारेखमै छुटे । २÷४ हजार रुपैयाँको लोभमा तस्करीको भरियाको रुपमा काम गर्ने लामा जेलमा छन् । उनलाई राजश्व अनुसन्धान विभागले करिब १७ करोड रुपैयाँ धरौटी मागेको छ । निम्न आर्थिक अवस्था भएका तामाङ १७ लाख पनि धरौटी राख्न सक्ने अवस्था छैन ।
बयानको क्रममा उनले आफूलाई सुन तस्करी गराउन लगाउने व्यक्तिको नाम लिएका थिए । सोही आधारमा प्रहरीले बौद्धबाट ग्याम्जोलाई पक्राउ गरेको थियो । सुन मात्र नभई अरु धेरै अवैध सामानको तस्करीमा ग्याम्जो संलग्न व्यक्ति भएको प्रहरी अधिकारीहरु बताउँछन् ।
स्रोतका अनुसार आफूविरुद्ध मुद्दा नचलाउन उनले विभिन्न निकायमा लबिङ गरेका छन् । आफूलाई सर्वाेच्च अदालतले साधारण तारेखमा छाड्ने आदेश दियो । प्रहरीले दर्जनौं पटक राजधानीमा सुन बरामद गरेको छ । जसमध्ये १÷२ पटक मात्र मालिकहरुसम्म प्रहरी पुग्न सफल भएको छ । नत्र भरियाहरु मात्र कारबाहीको भागिदार बनेका छन् ।
सुन तस्करीको घटनामा सामान्यतया प्रहरीले गम्भीरताका साथ अनुसन्धान गर्दैन । प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरेमा राजधानीका अधिकांश सुन पसले अहिले जेल गइसक्थे । किनकि धेरै तस्करीकै सुन बिक्री गर्दै आएका छन् । केहीले लगानी नै गरेका छन् । जसकारण भरियाहरु मात्र पक्राउ पर्दछन् । सीआईबीले भने संगठित अपराधअन्तर्गत मुख्य तस्करहरुसम्मैलाई कानुनी दायरामा ल्याएको थियो । तर, अदालतले मुख्य नाइकेहरुलाई धमाधम छाडिदिन थालेपछि अनुसन्धानमा आबद्ध प्रहरीहरु निराश भएका छन् । यसले संगठित तस्करी फेरि बढ्ने आशंका गरिएको छ ।