जनयुद्धमा बगेको रगतलाई रजस्वाला बराबर भन्ने काजी र किराँतीबीच घम्साघम्सी

काठमाडौं, ७ साउन । माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठक जारी छ । बैठक पहिलो र दोस्रो चरण चुनावको समिक्षा गर्ने र तेस्रो चरणको तयारी गर्न बोलाइएको थियो । तर, बैठकको विषयान्तर भएको छ ।

देशभरबाट नेताहरु पेरिसडाँडामा जम्मा भएको बेला पार्टीभित्रको असन्तुष्टी र अन्तरविरोध छताछुल्ल भएको छ । यही मौकाको फाइदा लिँदै नेताहरुमात्र होइन माके निकट पत्रकारहरुले अाफूले चलाएका संचारमाध्यमबाट एक अर्काविरुद्ध कस्सिएरै लागेका छन‍‍् ।

प्रवक्ता पम्फा भुसाललाई १० करोड खाएको अारोप र १२ नेताका १८ काम, जोवन ढल्काउने नेता जस्ता सामाग्रीहरु यसका उदाहरण हुन् । यी सामाग्रीहरु माओवादी केन्द्रकै नेताहरुको लगानीबाट चलिरहेका मिडियाले उत्पादन गरेका हुन् । यिनै सामग्रीहरु सामाजिक संजालमा भइरल भएका छन् । माअाेवादी केन्द्रकाे बैठक पनि अरु विषयमा केन्द्रीत नभएर यस्तै प्राविधिक विषयमा केन्द्रीत भएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले नई प्रकाशनको सम्मान स्वीकार गरेको विषयमा उत्पन्‍न विवाद सेलाउन नपाउँदै दुई नेता नारायणकाजी श्रेष्ठ र गोपाल किराँतीबीच दुश्मनीपूर्ण भनाभन सुरु भएको छ ।

बैठकमा नारायणकाजीले जनयुद्ध लडेको फुर्ती लगाउँने भन्दै मार्क्स-एङ्गेल्सले बन्दुक नबोकेको तर क्रान्तिकारी भएको बताए थिए ।
त्यसको जवाफ अर्का नेता गोपाल किराँतीले कडा रुपमा दिएका छन् ।

किराँतीले अाफ्नो फेसबुकमा लेखेका छन्, ”महान जनयुद्धलाई ‘सामाजिक फासिवादी’ भन्ने र ‘जनयुद्धमा बगेको रगत महिलाको रजस्वलामा बगेको रगत बराबर हो’ भन्ने नेताको जघन्य अपराधविरुद्ध जबसम्म सार्वजनिक आत्मआलोचना गरिँदैन, तबसम्म स्पष्टिकरण दिइरहनै पर्छ । मार्क्स-एङ्गेल्सले बन्दुक बोक्नुभएन, तर पेरिस कम्युनमा बगेको रगतलाई त्यसरी प्रतिकृयावादी टिप्पणी गर्नुभएन भनेर हेक्का राख्नुपर्छ ।”

किराँती अगाडि लेख्छन्, ”अझ गिरिराजमणिलाई कथित सक्षमको बहानामा आजीवन मन्त्री बनाउने माग मार्क्सवाद नभएर, सिधा सामाजिक डार्विनवाद हो । जुन गुटवन्दीको चरम अभिव्यक्ती हो, भनेर बुझ्नुपर्छ ।”

Loading...