परीक्षा बोर्डले गर्यो कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले बैठक बसी परीक्षाफल प्रकाशित गरेको हो ।
यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।

ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा नियमित तर्फ ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा ५८,३४५, २.४१ देखि २.४० जीपीए ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।

यस्तै १.६१देखि २.० जीपीए ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।

गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। बोर्डले पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो ।

त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा पुरक परीक्षा दिन सक्ने बोर्डले जनाएको छ ।

पुरक परीक्षा भदौ १६ गते हुने र नतिजामा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ ।

Loading...