अदालतभित्रै डा. केसीले प्रधानन्यायाधिशको यसरी उडाए धज्जी, पराजुलीले गम्भीर अपराध गरेको दावी

पराजुलीले भ्रष्टाचारलार्इ प्रशय दिएको, भूमाफियाको हितमा काम गरेको, न्यायको हत्या गरेको केसीको आरोप

काठमाडौ, २५ पुस । अदालतकाे मानहानी गरेकाे भन्दै पक्राउ परेका डा. गाेविन्द केसीले अदालतभित्रै सर्वाेच्च अदालतका प्रधानन्यायाधिशकाे धज्जी उडाएका छन् । सर्वाेच्च अदालतमा बयानका लागि उपस्थित गराइएका डा. केसीले नक्कली सर्टिफिकेट र नक्कली नागरिकता लिएका प्रधानन्यायाधिश पराजुलीले अाफूमाथि प्रश्न उठाउन नैतिकताले नै नदिने बताए । पराजुली सर्वाेच्च अदालत काे प्रधानन्यायाधिश जस्ताे गरिमामय पदमा बस्न लायक नरहेकाे बताउँदै उनले तत्काल राजिनामा दिनुपर्ने समेत उनले दावी गरेका छन् । पराजुलीले न्यायकाे बेचविखन समेत गरेकाे अाराेप केसीले लगाएका छन् । 

त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले मंगलबार सर्वोच्च अदालतमा लिखित बयान दिएका छन । अाफ्नाे बयानमा केसीले प्रधानन्यायाधीश पराजुलीले एसएलसी पास गरेको प्रमाण कहीँ कतै नरहेको दावी गर्दै पराजुलीले दोहोरो नागरिकता समेत लिएकाे दावी गरेका छन् । उनले यस विषयमा पराजुलीमाथि न्यायिक छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।

बयानमा डा. केसीले भनेका छन् ‘प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको कुरा कहीँ कतै छिपेको छैन । पराजुलीले दुई ठाउँबाट नागरिकता लिएका मात्र छैनन्, उमेर पनि सच्चाएका छन् ।’ २०७४ असार महिनामा नै ६५ वर्ष उमेर पूरा भइसकेका पराजुलीले काठमाडाैंबाट लिएकाे नक्कली नागरिकताका भरमा अहिले पनि न्यायाधिश भइराखेकाे दावी केसीले गरेका छन् । 

पराजुलीले एसएलसी पास गरेको नगरेको कुरामा पनि विवाद रहेको कुरा बयानमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पराजुलीले एसएलसी पास गरे नगरेकोबारे विगतमा प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको आदेशको मिसिल पनि हेर्न पाऊँ । पराजुलीको शैक्षिक प्रमाणपत्र जाँची पाऊँ । न्यायाधीश हुन प्रमाणपत्रै नभएको व्यक्ति कसरी प्रधानन्यायाधीश हुन सक्छन् ? के यो राज्य र अदालत जस्तो संस्थालाई गुमराहमा राख्ने अपराधिक कार्य होइन ?’

यसअघि प्रधानन्यायाधीश पराजुलीबाट भएका न्यायिक निर्णयहरुको सूची नै प्रस्तुत गर्दै त्यसमाथि प्रश्न पनि उठाएका छन् । डा. केसीले आफ्नो बयानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणको पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।

‘गोपाल पराजुलीले लोकमानसिंहलाई गलत कानुनी आधारमा सफाइ मात्र दिएनन्, सफाइ दिएपछि उनका नातेदार (भानिज) लाई अख्तियारको कानुनी सल्लाहकार पनि बनाए । यसले न्यायिक गरिमाको अवस्था के भयो ? नातेदारलाई जागिर खुवाउने क्रममा न्यायिक गरिमा र न्यायिक आस्थालाई किनबेच गरेको देखिन्छ ।’

जग्गा प्लटिङ राेक्ने बारे सरकारकाे नीति र निर्णयलार्इ पराजुलीले उल्ट्याएर भूमाफियाकाे हित हुने गरी जगदिश अाचार्यकाे मुद्दामा एकतर्फी अादेश पराजुलीले गराएकाे दावी पनि केसीले बयानमा गरेका छन् । केसीले चुडामणी शर्माकाे मुद्दा, गाेपाल खड्काकाे मुद्दा र एनसेलकाे मुद्दामा समेत पराजुलीले भ्रष्टाचारलार्इ प्रशय दिने गरी फैसला गरेकाे दावी केसीकाे छ । उनकाे फैसलाले एनसेलले देशलार्इ बुझाउनु पर्ने ६० अर्ब रकम तिर्नु नपर्ने अवस्था सिर्जना गरेकाे अाराेप केसीकाे छ । यसले कानुनी राजकाे उपहास गरेकाे भन्दै केसीले पराजुलीले गरेका यी फैसलाकाे छानविन गर्नुपर्ने माग दाेहाेर्याएका छन् । 

साथै डा. केसीले पराजुलीले अाफैले अाफैलार्इ प्रधानन्यायाधिश घाेषणा गरेकाे पनि बताएका छन् । प्रधानन्यायाधिश शुशिला कार्कीमाथि महाअभियाेग लगाएका बेला पराजुलीले अाफूलार्इ मध्यरातमा प्रधानन्यायाधिशमा पदबहाली गरी गैरकानुनी कार्य गरेकाे दावी उनले बयानमा गरेका छन् । 

उनले बयानका क्रममा न्यायालयको अनादार गर्ने आफ्नो कुनै उद्धेश्य नरहेको पनि उल्लेख गरेका छन् । ‘न्यायालयप्रति उच्च सम्मान छ, अनादर गर्ने उद्धेश्य छैन’, केसीले बयानका क्रममा भने, ‘मेरो उद्धेश्य न्यायालयको अपमान गर्ने नभइ, भ्रष्टहरुको विरोध गर्नु मात्रै हो ।’

सर्वोच्च अदालतको अपहेलना गरेको अभियोगमा सोमबार पक्राउ परेका डा. केसीलाई म‌गलबार बिहान अदालतमा उपस्थित गराइएको थियो । बयान लिइसकेपछि केसीको पक्ष विपक्षमा बहस थालिने भएको छ । केसीको पक्षमा बहसका लागि करिब १२ जना वकील सर्वोच्चमा भेला भएका छन् ।

यस्ताे छ डा. गाेविन्द केसीकाे बयान

१. प्रधानन्यायधीश गोपाल पराजुलीले २ ठाउँबाट नागरिकता लिएको कुरा कसैबाट छिपेको छैन । कुनै पनि व्यक्तिले एउटाभन्दा बढी नागरिकता लिने कार्य अपराध हो, अनैतिक र गैरकानुनी हो । त्यसैले निजमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्दछ ।

२. नागरिकता २ ठाउँबाट मात्रै लिएका छैनन्, उनले उमेर समेत सच्याएका छन् । पछिल्लो पटक काठमाडौंबाट नागरिकता लिएका आधारमा उनी हालसम्म पनि प्रधानन्यायाधीशको पदमा आसिन छन् । तर, उनको सुरुको नागरिकताको आधारमा उनी २०७४ असारमै ६५ वर्ष उमेर पुगिसकेका छन् । यस विषयमा छानबिन होस् । ६५ वर्ष उमेर पूरा भएर पनि प्रधानन्यायाधीशको पदमा बस्नु गैरकानुनी हो । ओहाेदाको दुरूपयोग हो । यस किसिमको कार्य भनेको न्याय बेचविखन गर्नुसरह हो ।

३. गोपाल पराजुलीले लोकमानसिंह कार्कीलाई गलत कानुनी आधारमा सफाइ मात्र दिएनन्, बरु सो सफाई दिएपछि उनका नातेदार (भानिज) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कानुनी सल्लाहकार बनाइएको छ । यसरी मुद्धामा सफाइदिने र आफ्ना नातेदारलाई जागिर खुवाउने कामले न्यायिक गरिमा र न्यायिक आस्थालाई किनबेच गरेको देखिन्छ । यस विषयमा यथार्थ छानबिन गरी सत्य–तथ्य बाहिर ल्याइयोस् । निज गोपाल पराजुलीमाथि पद र ओहाेदाको दुरुपयोग गरेकोमा कारबाही गरियोस् ।

४. निज गोपाल पराजुलीले एसएलसी पास गरेका छन् कि छैनन् भन्नेबारेमा विवाद छ । सो सम्बन्धमा विगतमा प्रधानन्यायधीश शुशीला कार्कीबाट भएको आदेश र मिसिललाई पनि हेरी संलग्न गरिपाऊँ । निज पराजुलीको शैक्षिक प्रमाणपत्र जाँच गरिपाऊँ । शैक्षिक प्रमाणपत्र नभएको व्यक्ति प्रधान न्यायाधीश हुन सक्छन् ? के यो राज्य र अदालतजस्तो संस्थालाई गुमराहमा राख्नु अापराधिक कार्य होइन ?

५. सार्वजनिक सञ्चार माध्यममा उनको शैक्षिक प्रमाणपत्र र योग्यदाका बारेमा जुन प्रश्न उठेको छ, त्यस सम्बन्धमा न्यायपरिषद् र संवैधानिक परिषद्ले के छानबिन गरे र के निर्णयमा पुगे भन्ने बारेमा सक्कल निर्णय कागजात हेरियोस् । सो झिकी बुझिपाऊँ ।

६. जग्गा प्लटिङ व्यवसायलाई नियमित र व्यवस्थित गर्न सरकारले लिएको नीति र निर्णयलाई उल्टाई भू–माफियाको हित हुने गरी जगदिश आचार्यको मुद्धामा एकतर्फी (EX Parte) रुपमा निज गोपाल पराजुलीले जुन आदेश दिए, त्यसबाट न्याय बेचिएको देखिँदैन र ? यस विषयमा छानबिन गरिपाऊँ ।

७. क्यासिनो चलाएवापत होटलले रोयल्टी तिर्नु नपर्ने गरी जो फैसला निज गोपाल पराजुलीले गरेका छन्, त्यसबाट न्याय मरेको छ । राज्यले राजश्व गुमाएको छ । न्याय मार्ने व्यक्तिले कसरी न्यायिक स्वाधिनताको जगेर्ना गर्न सक्दछ ?

८. निज गोपाल पराजुली प्रधानन्यायाधिश भएपछि भएका विभिन्न आदेश र फैसलामध्ये चुडामणि शर्माको मुद्धा, गोपाल खड्काको मुद्धा र एनसेलको मुद्धाले भ्रष्टाचारीलाई प्रश्रय पुग्नुका साथै ६० अर्ब बराबरको राजश्व एनसेलले तिर्नु नपर्ने अवस्था सिर्जना भएको छ । के यस्ता क्रियाकलापले कानुनको शासनलाई उपहास गरेका छैनन् ? उक्त सम्पूर्ण मुद्धाहरुमा भएका आदेशबाट न्याय मरेको छ छैन भनेर न्यायिक निरूपण एवं छानबिन गरियोस् ।

९ आफ्ना भान्जेज्वाइँ नातेदार नहकुल सुवेदीलाई ६–७ महिनाको अवधिमा रजिष्ट्रार, मुख्य रजिष्ट्रार र उच्च अदालतको मुख्य न्यायाधीश बनाउने कार्यले न्यायिक स्वाधिनतामा कुठाराघात भएको छ । आफ्ना नातेदार मानिसलाई ६–७ महिनामा ३ पटक प्रमोसन गर्नेजस्तो अस्वाभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो गरिमामय सार्वजनिक ओहाेदामा बस्न मिल्दैन । त्यसैले एक सचेत नागरिकको हैसियतले मैले उनको राजिनामा मागेको हुँ । निजले राजिनामा दिनुपर्छ भन्ने मेरो विश्वास छ । अन्यथा, न्यायपालिका स्वाधिन र स्वतन्त्र बन्न निजबाट बाधा र अवरोध भइरहन्छ । न्यायिक स्वाधिनतामा अवरोध सिर्जना गर्ने व्यक्ति प्रधानन्यायाधिश बन्नु हुँदैन ।

१०. शुशीला कार्कीलाई महाअभियोग लगाइएको राति १०ः३० बजे निज गोपाल पराजुलीले आफूलाई प्रधानन्यायाधिशका रुपमा पदबहाली गरेका छन् । यो कुन कानुन र मर्यादाले मिल्छ ? यस किसिमको गैरकानुनी काम गर्ने व्यक्तिबाट न्यायपालिकाको गरिमा उच्च हुनै सक्दैन । त्यसैले उनको राजीनामा अत्यन्तै जायज छ ।

११. जता–जता गोपाल पराजुली, उतै–उतै मेडिकल कलेजका मुद्धा शीर्षकमा कान्तिपुर दैनिकले लेखेको समचारउपर कान्तिपुर दैनिकमाथि लगाइएको अपहेलना मुद्धामा कान्तिपुर दैनिकले सफाई पाएको छ । त्यसको अर्थ हो, कान्तिपुरको उक्त समाचार न्यायिक रुपमै पुष्टि भएको छ । निम्नलिखित मुद्धाहरुमा निज गोपाल पराजुलीले गरेका निर्णय र आदेशले सोही कुरा पुष्टि गर्दछ । यसरी न्यायिक रुपमै निजको चरित्र स्पष्ट भइसकेको अवस्थामा त्यस्तो व्यक्ति प्रधानन्यायधीश जस्तो गरिमामय पदमा आसिन हुन सुहाउँदैन ।

 

Loading...