राजधानीका दुई ठूला अस्पताल गरियो सिल, चिकित्सक र विरामीमा समेत कोरोना फैलिएपछि इमरजेन्सी समेत बन्द

काठमाडौं, २७ साउन । कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामी समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन् । बुधवार राजधानीका दुई ठूला अस्पताल सिल भएका छन् ।

अहिले केही समय अघि राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालको इमरन्जेसी सेवा सिल गर्न थालिएको त्यहाँ उपचार गराइरहेका विरामीका आफन्तले जानकारी दिएका छन् । भर्याङबाट लडेर उपचार गराउन टिचिङ अस्पताल पुगेका एक विरामीका आफन्तले अस्पतालको इमरजेन्सीमा रहेका स्वास्थ्यकर्मी र विरामीमा समेत कोरोना भाइरस पोजिटिभ देखिएको भन्दै त्यहाँबाट विरामीहरु धमाधम अर्को वार्ड सार्न थालिएको बताए । अस्पतालमा रहेका विरामीहरु केहीलाई अरु वार्डमा सार्ने र केहीलाई अरु अस्पतालमा सार्न थालिएको पनि बताइएको छ । इमरजेन्सीको निश्चित एरिया अहिले पूरै सिल गरिएको एक विरामीका आफन्तले जानकारी दिए । यसका बारेमा जानकारी लिनखोज्दा शिक्षण अस्पताल महाराजगञ्जको फोन लाइन लामो समयसम्म व्यस्त रहेको छ । अहिले अस्पतालकाे मुख्य गेट नै बन्द गरिएकाे छ । अस्पताल भित्र रहेका विरामी, स्वास्थ्यकर्मी कसैलाइ बाहिर निस्कन र बाहिरका कसैलाइ पनि भित्र छिर्न दिइएकाे छैन । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका दुई चिकित्सक र चार स्वास्थ्यकर्मी गरी ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका एक स्वास्थ्यकर्मीले ननस्टपखबरलाइ जानकारी दिए । त्यसमध्ये दुई चिकित्सक इमर्जेन्सीमा कार्यरत रहेकाे र इमरजेन्सीमा कार्यरत चार नर्सिङ स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएकाे छ ।

आजै राजधानीको मध्यभाग बागबजारमा रहेको मोडेल अस्पतालमा पनि सिल गरिएको छ । दिउसो २ बजेदेखि नै मोडल अस्पतालमा कोरोनाले निकै ठूलो त्रास उत्पन्न गराएको त्यहाँ उपचारमा गएका अर्का विरामीका आफन्तले ननस्टपखबरलाई बताए । उनले दिएको जानकारी अनुसार मोडेल अस्पतालमा दिउसो २ बजेतिर एकाएक त्यहाँ भर्ना भएका एक विरामीमा कोरोना पुष्टि भएको हल्ला फैलियो । त्यसपछि अस्पतालका स्टाफले सबै विरामीहरुलाई सचेत हुन आग्रह गरे । त्यहाँ उपचारका लागि आजै पुगेका विरामी र विरामीका सहयोगीहरुलाई बाहिर हटाइयो । त्यसपछि त्यहाँबाट डिस्चार्ज भएका एक विरामीमा कोरोना फैलिएको बताइयो । त्यही अस्पतालमा भर्ना भएर उपचार गराएका विरामीमै कोरोना पुष्टि भएको थाहा भएपछि अस्पताल सिल गरिएको बताइएको छ ।

पछिल्लो समय राजधानीमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । कोरोनाको संक्रमण दर बढेपछि उपत्यकाका सबै स्थानीय तह तीन साताका लागि बन्द गरिएका छन् । साथै सरकारले राजधानीका सबै रेस्टुरेन्ट तथा होटेलमा बसेर खान नपाइनेगी प्रतिबन्ध लगाएको छ । रेस्टुरेन्टबाट लगेर आफ्नो निवासमै खान मात्र पाइने गरी रेस्टुरेन्ट खोल्न पाइने व्यवस्था गरिएको छ । त्यसैगरी सरकारी कार्यालयहरुमा समेत आधा कर्मचारीहरुको मात्र उपस्थित हुने गरी व्यवस्था गरिएको छ । लकडाउन खोलेर सामान्य अवस्थामा फर्किसकेपछि राजधानीमा फेरि यस्तो प्रतिबन्धमा जान थालिएको हो ।

कोरोना भाइरसको संक्रमण राजधानीमा बढ्न थालेपछि केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएर छलफल पनि गरेका थिए । उक्त छलफलमा केही विज्ञहरुले कम्तिमा २ हप्ता कडा लकडाउन गर्नुपर्ने सुझाव राखेका थिए । त्यसैगरी केही विज्ञहरुले सामाजिक दुरी कडिकडाउ रुपमा लागु गर्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गराउनुपर्ने तर लकडाउनमै नगरे हुने सुझाब दिएका थिए । त्यसपछि सरकारले भदौ १ गतेदेखि खोल्ने भनेका हवाइ सेवा र लामो दुरीका यातायात भदौ १५ गतेसम्म नखोल्ने निर्णय गरेको थियो । साथै अन्य क्षेत्रमा पनि प्रतिबन्ध लगाएको थियो ।

Loading...