एकैदिन कोरोनाले ११ को मृत्यु, थपिए ४८४ नयाँ संक्रमित

काठमाडौं, २८ साउन । कोरोना भाइरसबाट एकैदिन ११ जनाको ज्यान गएको छ । साथै बुधवार ४८४ जना संक्रमित थपिएका छन् ।

बुधवार सबैभन्दा धेरै संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ भएको छ । संक्रमित मध्ये अहिलेसम्म ९२ जनाको मृत्यु भएको छ । अहिलेसम्म १६ हजार ७ सय २८ जना निको भएका छन् । पछिल्लाे ८ दिनमा ३६ जनाको मृत्यु भएको छ । ३६ मध्ये १७ जनाको मृत्यु उपत्यकाका अस्पतालहरुमा भएको छ ।

पछिल्लाे समय मृत्यु भएका मध्ये ललितपुरकाे किस्ट अस्पतालमा दुई जना छन । उनीहरुकाे किस्ट अस्पतालमा गएराति मृत्यु भएकाे हाे । त्यसैगरी मेडिसिटी अस्पतालमा एक, ह्याम्स अस्पतालमा एक, पाटन अस्पतालमा एक, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक, बुटवल कोरोना विशेष अस्पतालमा एक र कोशी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति किस्ट अस्पतालमा मृत्यु भएको हाे । उनलाई कोरोना संक्रमण भएको बुधबार विहान पुष्टि भएकाे छ । ज्वरो र झाडावान्ता भएपछि पाटन अस्पताल पुगेकी उनलाई २६ गते किस्ट लगिएको थियो ।

त्यसैगरी बारा, कलैयाका ७७ वर्षीय पुरुषको बुधबार विहान मृत्यु भएकाे छ । २६ गते त्रिवि शिक्षण अस्पतालबाट रिफर भएर किष्ट पुगेका उनको पनि मृत्युपछि संक्रमण पुष्टि भएकाे हाे । त्यस्तै जनकपुरकी ३८ वर्षीय महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी १८ गते अस्पताल भर्ना भएकी थिइन् । जनकपुरका पूर्वय ७२ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी जनकपुरका पूर्व मेयर तथा कांग्रेसका नेता समेत हुन् । श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरेर अस्पताल ल्याइएकाे थियाे । मेडिसिटीमा उनको एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुँवाकोटका ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि २४ गतेनजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकी पुगेका उनी भोलिपल्ट जिल्ला अस्पताल गएका थिए । स्वास्थ्यमा अवस्था थप गम्भीर भएपछि उनलाई २७ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो । कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मंगलबार राति मृत्यु भएको छ । उनी २५ गते भर्ना भएका थिए ।

सप्तरीको डाक्नेश्वरी–८ घर भई राजविराज ६ मा बस्ने ७२ वर्षका संक्रमितको मंगलबार राति मृत्यु भएको छ । चार दिनदेखि ज्वरो आएका उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको थियो । त्यही दिन साँझ उनको आइसोलेसन सेन्टर लैजाने क्रममा को एम्बुलेन्समै मृत्यु भएको छ ।

मोरङ, बुढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ । सोमबार राम जानकरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । मंगलबार दिउँसो वीरगञ्ज–१६ नगवास्थित सडकमा मृत भेटिएका बाराको बिश्रामपुर–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो । ‘स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा महोत्तरी, बारा विश्रामपुर र मोरङका मृतक समावेश गर्न बाँकी छ ।’

स्वास्थ्य मन्त्रालयका अनुुसार देशभरका प्रयोगशलामा १० हजार ४८१ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा सबैभन्दा धेरै काठमाडौंमा १०९ संक्रमित भेटिएका छन् । जसमध्ये मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५÷१५ जना, कास्कीका १३, झापा र सिराहाका १०÷१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६÷६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५/५ जनामा संक्रमण पुष्टि भएको बताइएकाे छ ।

त्यसैगरी दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३÷३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २÷२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एकएक जनामा संक्रमण देखिएको छ ।

Loading...