२ चिकित्सकसहित ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, त्रिवि शिक्षण अस्पतालसहित राजधानीका २ ठूला अस्पताल सिल

काठमाडौं, २७ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । अस्पतालका चिकित्सकमा समेत कोरोना भाइरसको संक्रमण भएपछि अहिले बुधवार साँझ अबेर अस्पताल सिल गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएको खबर आउने बित्तिकै अस्पतालको मूल गेट बन्द गरेर सिल गरिएको त्यहाँ उपचारका लागि गएका विरामीले जानकारी दिएका छन् । अस्पतालबाट अहिले कसैलाई पनि बाहिर आउन पनि नदिइएको र भित्र छिर्न पनि नदिइएको त्यहाँका विरामीले टेलिफोन मार्फत जानकारी गराएका छन् ।

अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासले दुई डाक्टर र चार नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले संक्रमित चिकित्सकमा लक्षण समेत देखा परेको जानकारी दिए ।

चिकित्सकबाट अरुलाई पनि संक्रमण सरेको हुनसक्ने भएकाले बिहीबारबाट अस्पतालको आकस्मिक सेवा बन्द गर्ने निर्णय गरेको जानकारी दिए । संक्रमित चिकित्सक इमरजेन्सीमै कार्यरत थिए । आज आएका इमरजेन्सीका विरामीहरुलाई भने सकेसम्म त्यहाँबाट अरु अस्पतालमा जान भनिएको थियो । तर, विरामीहरु साँझको समयमा भएकोले कहाँ जाने भन्दै अल्मलिएका थिए । तर, विरामीसँगै गएका आफन्तहरु भने केही कोरोना फैलिएको थाहा पाउने बित्तिकै निस्किएको एक विरामीले जानकारी दिए । उनले त्यहाँ धेरै मानिसहरु रहेको र एकाएक इमरजेन्सी सिल गर्ने हल्ला चलेपछि उनीहरु निस्किएको बताए ।

त्रिवि शिक्षण अस्पतालले ओपीडी सेवा भने सञ्चालन नै रहने जनाएको छ । संक्रमण जुन वार्डमा हुन्छ त्यही वार्ड मात्र सिल गरिने र बाँकी सुचारु रहने तयारी गरिएको बुझिएको छ । राजधानीको ठूलो अस्पताल नै यसरी संक्रमण फैलिएर सिल भएपछि विरामीहरुमा पनि त्रास उत्पन्न भएको छ ।

बुधबा नै राजधानीको मध्यभाग बागबजारमा रहेको मोडेल अस्पतालमा पनि सिल गरिएको छ । दिउसो २ बजेदेखि नै मोडल अस्पतालमा कोरोनाले निकै ठूलो त्रास उत्पन्न गराएको त्यहाँ उपचारमा गएका अर्का विरामीका आफन्तले ननस्टपखबरलाई बताए । उनले दिएको जानकारी अनुसार मोडेल अस्पतालमा दिउसो २ बजेतिर एकाएक त्यहाँ भर्ना भएका एक विरामीमा कोरोना पुष्टि भएको हल्ला फैलियो । त्यसपछि अस्पतालका स्टाफले सबै विरामीहरुलाई सचेत हुन आग्रह गरे । त्यहाँ उपचारका लागि आजै पुगेका विरामी र विरामीका सहयोगीहरुलाई बाहिर हटाइयो । त्यसपछि त्यहाँबाट डिस्चार्ज भएका एक विरामीमा कोरोना फैलिएको बताइयो । त्यही अस्पतालमा भर्ना भएर उपचार गराएका विरामीमै कोरोना पुष्टि भएको थाहा भएपछि अस्पताल सिल गरिएको बताइएको छ ।

पछिल्लो समय राजधानीमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । कोरोनाको संक्रमण दर बढेपछि उपत्यकाका सबै स्थानीय तह तीन साताका लागि बन्द गरिएका छन् । साथै सरकारले राजधानीका सबै रेस्टुरेन्ट तथा होटेलमा बसेर खान नपाइनेगी प्रतिबन्ध लगाएको छ । रेस्टुरेन्टबाट लगेर आफ्नो निवासमै खान मात्र पाइने गरी रेस्टुरेन्ट खोल्न पाइने व्यवस्था गरिएको छ । त्यसैगरी सरकारी कार्यालयहरुमा समेत आधा कर्मचारीहरुको मात्र उपस्थित हुने गरी व्यवस्था गरिएको छ । लकडाउन खोलेर सामान्य अवस्थामा फर्किसकेपछि राजधानीमा फेरि यस्तो प्रतिबन्धमा जान थालिएको हो ।

कोरोना भाइरसको संक्रमण राजधानीमा बढ्न थालेपछि केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएर छलफल पनि गरेका थिए । उक्त छलफलमा केही विज्ञहरुले कम्तिमा २ हप्ता कडा लकडाउन गर्नुपर्ने सुझाव राखेका थिए । त्यसैगरी केही विज्ञहरुले सामाजिक दुरी कडिकडाउ रुपमा लागु गर्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गराउनुपर्ने तर लकडाउनमै नगरे हुने सुझाब दिएका थिए । त्यसपछि सरकारले भदौ १ गतेदेखि खोल्ने भनेका हवाइ सेवा र लामो दुरीका यातायात भदौ १५ गतेसम्म नखोल्ने निर्णय गरेको थियो । साथै अन्य क्षेत्रमा पनि प्रतिबन्ध लगाएको थियो ।

कोरोना भाइरसबाट बुधवार मात्र ११ जनाको ज्यान गएको छ । साथै बुधवार ४८४ जना संक्रमित थपिएका छन् । मृत्यु र संक्रमित हुने याे अहिलेसम्मकै ठूलाे संख्या हाे । पछिल्लाे ८ दिनमा ३६ जनाको मृत्यु भएको छ । ३६ मध्ये १७ जनाको मृत्यु उपत्यकाका अस्पतालहरुमा भएको छ । यसले उपत्यकामा काेराेनाकाे निकै भयावह अस्वस्था देखाउँछ । 

याे पनि

राजधानीका दुई ठूला अस्पताल गरियो सिल, चिकित्सक र विरामीमा समेत कोरोना फैलिएपछि इमरजेन्सी समेत बन्द

 
Loading...