सवारी पास ठप्प पार्न गृह मन्त्रालयले दियो कडा निर्देशन

काठमाडौं, २८ साउन । कोरोना भाइरसको संक्रमणदर बढेपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले बुधबार परिपत्र गरेको हो ।

मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड-१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ ।’