काठमाडौं, २८ साउन । सर्वोच्च अदालतका दुई जना न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । सुरक्षामा खटिएका प्रहरीमा काेराेना पुष्टिभएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका हुन ।
न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएकाे थियाे । ती सुरक्षाकर्मीको २६ साउनमा संकलन गरेको स्वाबको रिर्पोट बुधबार आएको हो । उनी २२ साउनसम्म न्यायाधीशको सुरक्षामा खटिएका थिए ।
संक्रमितको सम्पर्कमा आए पनि आफूलाई कुनै समस्या नभएको र स्वास्थ्य मन्त्रालयको अधिकारीहरूसँग परामर्शमा रहेको न्यायाधीश खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
अर्का न्यायाधीश फुयाँलले भने न्यायाधीश खतिवडासँग सँगै बेन्चमा बसेकाले आफू पनि ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका छन् ।