८ सय मत गन्दा मत अन्तर १५३ मा झर्यो । रेणु निरन्तर उकालोमा देवी ओरालोतिर

चितवन , २१ साउन । मत गन्न बाँकी अन्तिम वडा भरतपुर महानगरको २० नम्बरमा रेणु दाहालले अर्का उम्मेदवार देवी ज्ञवालीसँगको मतअन्तर तीब्र गतिमा घटाइरहेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार रेणु दाहाल र देवी ज्ञवालीको मत अन्तर १ सय ५३ मा पुगेको छ । वडा नम्बर २० मा खसेको ३ हजार ३ सय १८ मत मत मध्ये ८ सय मत गणना भइसकेको छ । यही अनुपातमा मत आएमा भरतपुर महानगरमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेणु दाहालको जित हुने देखिन्छ ।

यसअघि वडा नम्बर १९ को मत गणना गर्नुअघिसम्म एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७ सय ८४ मतले अगाडि थिए । वडा नम्बर १९ को मत गणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मत च्यातेपछि लामो समय यहाँको मत गणना रोकिएको थियो । लामो विवादपछि यो मुद्दा सर्वोच्चसम्म पुगेको थियो । सर्वोच्चले वडा नं. १९ मा मात्र पुनः मत गणना गर्ने फैसला दिएपछि शुक्रबार पुन मतगणना भएको हो ।

शुक्रबार भएको मतदानको शुक्रबार रातीदेखि नै मत गणना सुरु भएको थियो । यो मतगणनाबाट रेणु दाहालले मतान्तर ह्वात्तै घटाइन । वडा नम्बर १९ को मतगणनाअघि ७ सय ८४ मतको अन्तर मतगणनापछि २ सय २१ मा आइपुगेको थियो ।

गत जेठ १४ गते मध्यराति १९ नम्बर वडामा मत गणना हुँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यात्दासम्म १८ सय ९ मत गणना भएको थियो । त्यतिबेला देवीको मत ४० हजार ९८० थियो भने रेणुको ४० हजार १९६ थियो । तर, हिजो शुक्रबार भएको मतदानबाट रेणुले अघिल्लोपटकभन्दा धेरै बढी मत ल्याएको देखिन्छ । यसपटक रेणुले वडा नं. १९ बाट देवी ज्ञवालीभन्दा ५ सय ६३ मत बढी पाएको देखिन्छ ।

भरतपुर महानगरपालिकाका २९ वटा वडा मध्ये २८ वटाको परिणाम यसअघि नै घोषणा भइसकेको छ । जसमा १४ वटा वडा एमालेले, ११ वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् ।

अब गणना हुन बाँकी २० नम्बर वडा पनि नेपाली कांग्रेसको राम्रो पकड रहेको वडा हो । यस वडामा गत बैशाख ३१ गते नै मतदान भएको थियो ।

Loading...