शिक्षकको लाठीले विद्यार्थीको आँखामा गम्भीर चोट

दाङ । दाङको सदरमुकाम घोराहीको एक विद्यालयका शिक्षकको लाठी प्रहारबाट विद्यार्थी घाइते भएकी छन् । 
सदरमुकाम घोराही नजिकै रहेको मनकामना इङ्ग्लिस बोर्डिङ स्कूलकका शिक्षकले सोही विद्यालयमा अध्ययनरत छात्रालाई लाठीले प्रहार गरेका थिए । जसबाट छात्राको आँखामा गम्भीर चोट लागेको छ । 

घोराही नगरपालिकाको वार्ड नं. ४ मा रहेको मनकामना स्कूलमा कक्षा ७ मा अध्ययनरत छात्रा रसियाली बुढालाई शिक्षक सोम पौडेलले लाठी प्रहार गरेका हुन । शिक्षक पौडेलले छात्रा बुढालाई राम्रो अक्षर नलेखेको भन्दै लाठी प्रहार गरेको बताइएको छ । अरु दिनमा पनि विद्यार्थीलाई निकै आक्रोशित भएर कुट्पिट गर्ने गरेका शिक्षक पौडेलले छात्रा बुढाको टाउको र आँखामै लाग्ने गरी झिगटीको लठ्ठीले हानेको अन्य विद्यार्थीले बताएका छन् । 

घाइते भएकी छात्रा बुढालाई उपचारका लागि भैरहवामा पु¥याइएको छ । घोराहीको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई भैरहवा लगिएको हो । भैरहवा आँखा अस्पतालमा उनको आँखाको अपरेशन समेत गर्नुपरेको छ । आफन्तका अनुसार डाक्टरले छात्रा ढिला ल्याएको भए बुढाको आँखाको ज्योति गुम्न सक्ने अवस्था रहेको तर अपरेशन सफल भएको बताएका छन् । 

उता शिक्षक पौडेलले भने आफूले अर्को विद्यार्थीलाई लाठी प्रहार गरेको तर त्यो लठ्ठी भाँचिएर बुढाको आँखामा लागेको बताएका छन् । साथै उनले भूलबस घटना भएको भन्दै माफी दिन पनि आग्रह गरेका छन् । 

शिक्षक पौडेलले लाठी प्रहार गरेपछि छात्रा बुढा तत्कालै बेहोस भएको र त्यस लगत्तै उनलाई राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । सो अस्पतालमा चिकित्सकहरुले उनको अवस्था निकै जटिल भएको बताएपछि तत्काल भैरहवा पु¥याइएको थियो । 

यसैबीच छात्रा बुढाका परिवारले शिक्षक पौडेलमाथि कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । साथै उनीहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।

Loading...