धादिङ पूर्ण रुपमा साक्षर जिल्ला घोषणा

धादिङ । धादिङ जिल्लालाई निरक्षरता मुक्त क्षेत्र घोषणा गरिएको छ । नेपाल सरकारले संचालन गरेको ‘साक्षर नेपाल’ नामक अभियान अन्तर्गत संचालन गरिएको अभियानपछि आइतबार सदरमुकाममा एक विशेष कार्यक्रम गरेर यस्तो घोषणा गरिएको हो । सरकारले सन् २०१५ अर्थात विसं २०७२ भित्र नेपाललाई पूर्ण रुपमा साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ । जिल्लामा ९५ प्रतिशत जनताले सामान्य लेखपढ गर्न सक्ने भएमा उक्त जिल्लालाई साक्षर घोषणा गर्न सकिने सरकारले बताएको छ । 

जिल्ला शिक्षा कार्यालय धादिङले जिल्लामा सञ्चालित सबै अभियान सफल भएको र सोही आधारमा प्राप्त उपलब्धीका आधारमा जिल्लालाई साक्षर घोषणा गरेको जनाएको छ । धादिङमा ४६ गाउँ विकास समिति र निलकण्ठ नगरपालिकामा निरक्षरता उन्मुलन अभियान संचालन गरिएको थियो । यसअघि नै तीन महिना साक्षरता कक्षा जिल्लाभर संचालन गरिएको हो । तीन महिने साक्षरता कक्षा प्रत्येक वडा र टोलटोलमा संचालन गरिएको थियो । सोही अनुरुप यसअघि विभिन्न गाविसलाई एक्ला एक्लै साक्षर घोषणा गरिदै आएको थियो । 

धादिङ जिशिकाले अब जिल्लाको साक्षरता ९८ दशमलव ४ प्रतिशत पुगेको जनाएको छ । जिल्लालाई पूर्ण रुपमा साक्षर घोषणा गर्नका लागि जिशिकाले शिक्षा विभाग र मन्त्रालयमा पत्राचार गरेको थियो । 

जिशिका धादिङले यसअघि जिल्लाका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ७५ हजार ५ सय ६ जना निरक्षर रहेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसमध्ये अहिले ७२ हजार ५ सय २२ जनालाई साक्षर बनाइएको जिशिकाले जनाएको छ । 

जिल्लालाई पूर्ण रुपमा साक्षर घोषणा गरे पनि अझै अभियान नरोकिएको जिशिकाले जनाएको छ । जिशिकाले अझै जिल्लामा २ हजार ९ सय ८४ जना निरक्षर रहेको र अरु निरक्षरहरुको पनि व्यापक खोजी भइरहेको जनाएको छ । अहिले जिशिकाले निरक्षरहरुको खोजी तथा साक्षरोत्तर अभियान चलाइरहेको छ । 
यसअघि सरकारले ललितपुर, सिन्धुपाल्चोक र पाल्पा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिसकेको छ । 
 

Loading...