विद्यार्थी विहीन भएपछि वार्षा कलेज बन्द

काठमाडौं । मेरिगोल्ड उच्च माविको नाम विदेशी नाम धारण गरेको तिनकुनेमा रहेको वार्षा कलेज अन्ततः बन्द भएको छ । यसवर्ष विद्यार्थी भर्ना नै नपाएपछि कलेज बन्द भएको हो । वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न नसकेर समस्यामा परेका वार्षा कलेजका संचालक फरार भएका छन् । 
 
वार्षा कलेजमाथि गत वर्ष पनि ११ को भर्नामा रोक लगाइएको थियो । गतवर्ष ११ मा भर्ना गर्न नपाएको कलेजले यसवर्ष विद्यार्थी नै नपाएपछि कलेज विद्यार्थी विहीन बनेको छ । तिनकुनेमा रहेको श्रीराज विजनेश विल्डिङको फ्ल्याट भाडामा लिएर संचालन गरिएको कलेजका बारेमा लामो समयदेखि विवादास्पद कुराहरु बाहिर आइरहेका थिए । 
 
यो कलेज तिनकुनेमा सुरु भएदेखि नै विवाद थियो । खासगरी मेरीगोल्ड नाम रहँदाका संचालक र पछि नाम परिवर्तन गरेपछि थपिएका नयाँ संचालकहरुबीचको विवाद बढेका कारण पनि यो कलेज समस्यामा परेको हो । सुरुमा भएको सम्झौता वमोजिम पुराना संचालकलाई नै पैसा नतिरेपछि उनीहरु परिषदमा पुगेको स्रोतले जनाएको छ । मेरीगोल्डबाट नामसारी गरेर वार्षिलोना एजुकेशन नेटवर्क बनाइएको थियो । उक्त कलेजको प्रमुख कार्यकारी अधिकृत नरेन्द्रकुमार सिंह हुन् । 

दुई दुई ठाउँमा कलेज संचालन गरेको भन्दै गत वर्ष उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ मा नयाँ भर्ना लिन रोकेको थियो । परिषदको रोकका कारण अप्ठेरोमा परेका वार्षा कलेजका संचालकले उक्त फ्ल्याटको आधाभन्दा बढी भाग वेभ सर्फर कम्पनीलाई भाडामा दिएको थियो ।  

Loading...