गणतान्त्रिक नेपालका राष्ट्रपतिबाट सञ्चारमाध्यममाथि राजाकालीन विभेद

काठमाडौं, ३ साउन । मुलुकको शासनपद्धति र शासक फेरिए पनि प्रवृत्ति भने अझै फेरिएको छैन। त्यसको पछिल्लो उदाहरण हो सोमबार भएको नयाँ प्रधानन्यायाधीशको शपथ ग्रहण। उक्त सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति कार्यालयले निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेश दिएन।

जनआन्दोलनको बलमा दुई सय ४० वर्ष लामो राजतन्त्रको अन्त्यपछि मुलुकको सर्वोच्च पदमा जनता पुग्दा पनि राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशको शपथ ग्रहणको समाचार संकलनमा सरकारी र निजी भनेर विभेदको नीति लिएको छ।

राष्ट्रपति कार्यालयमा हुने यस्ता औपचारीक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाइएको यो पहिलो पटक भने होइन। पछिल्लो एक वर्षदेखि शीतल निवासले प्रधानमन्त्रीको शपथबाहेक अन्य औपचारिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमलाई रोक लगाउँदै आएको छ।

फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले स्वतन्त्र रुपमा समाचार संकलन गर्ने र जनतालाई सुसूचित गर्ने अधिकारमाथि अंकुश लगाएको बताए। शासन र सत्तामा नपुग्दासम्म सबैले सञ्चारमाध्यमको खोजी गर्ने तर आफू शक्तिकेन्द्रमा पुगेपछि अंकुश लगाउन उनीहरु नै सक्रिय हुने गरेको गुनासो गर्दै कार्कीले भने, ‘अप्ठेरो पर्दा मिडिया खोज्ने र सत्तामा पुगेपछि आफूलाई नै राजा–महाराजा ठान्ने प्रवृत्ति र सोच परिवर्तन नभएसम्म यस्ता समस्या समाधान हुँदैन।’

राष्ट्रपति कार्यालयमा हुने कार्यक्रमको फोटो खिच्नभन्दा विगतको दरबारमा फोटो खिच्न सहज भएको सुनाउँदै कार्कीले भने, ‘दरबारले बरु पत्रकारको इज्जत गर्थ्यो, शीतल निवासले पत्रकारको मानमर्यादाको कुरै भएन, फोटो खिच्न पनि दिँदैन।’

राष्ट्रपति कार्यालयका सचिव कुलप्रसाद चुडालले विगतको परम्परालाई निरन्तरता दिँदै सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिने गरेको बताए। ‘प्रधानमन्त्रीको शपथ बाहिर हुने भएकाले सबैलाई प्रवेश छ,’ उनले भने, ‘अरु शपथ कोठाभित्र हुने भएकाले स्थान अभावका कारण सरकारी सञ्चारमाध्यमलाई मात्र बोलाउने प्रचलन बसाइएको होला।’ विगतको परम्परालाई आफूले निरन्तरता दिएको उनको भनाइ थियो।

राष्ट्रपतिका जनसम्पर्क सल्लाहकार माधव शर्माले स्थान अभावका कारण सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिने गरेको सुनाए। ‘कोठाभित्र हुने कार्यक्रममा ठाउँ नै नभएकाले सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिने गरेको हो,’ उनले भने। निजी क्षेत्रका सञ्चार माध्यमलाई राष्ट्रपति कार्यालयले तस्बिर उपलब्ध गराउने गरेको उनले बताए।

राष्ट्रपति कार्यालयले गत भदौ १० गतेदेखि नै प्रधानमन्त्रीको शपथ ग्रहणबाहेक अन्य औपचारिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाउँदै आएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ १० गते चौथो पटक सरकार विस्तार गर्दै मन्त्रीलाई शपथ ग्रहण गराएका थिए। त्यति बेला कार्यक्रमको फोटो र समाचार संकलनका लागि शीतलनिवास पुगेका पत्रकारलाई प्रवेश गर्न दिइएको थिएन।

प्रवेश नपाएपछि शीतलनिवासबाहिर रहेका सञ्चारकर्मीले शपथ लिँदै गरेका मन्त्रीसँग पत्रकारलाई प्रवेश नदिएको कुरा उठाइदिन आग्रह गरेको कार्कीले सुनाए। ‘हामीले केही पहल गर्‍यौं तर स्थान अभाव भनेपछि वास्ता गर्नै छाडिदियौं,’ उनले भने, ‘जे तन्त्र आएपनि सोच र प्रवृत्ति नफेरिएसम्म केही हुँदैन।’

Loading...