एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ८५.३७ प्रतिशत पुग्यो

आकाश गजुरेल, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा मंगलबार बिहान सार्वजनिक गरेको छ।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार गत असार १ देखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी १ लाख २९ हजार १ सय १४ परीक्षार्थीमध्ये ८३ हजार ५ सय २३ जना वर्गीकृत भएका छन्। यो कुल सहभागीको ६४.६८ प्रतिशत हो।

पूरक परीक्षाको नतिजा सार्वजनिक भएसँगै यस वर्षको एसईईमा समग्र उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत ८५.३७ पुगेको बोर्डले जनाएको छ। नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ जना परीक्षार्थी रहेका थिए।

मूल परीक्षामा ननग्रेडेड भई ग्रेडवृद्धिका लागि योग्य ठहरिएका १७ हजार ३ सय ९३ विद्यार्थी भने पूरक परीक्षामा सहभागी भएनन्।

प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीले उत्तरपुस्तिका पुनर्योग तथा पुनः परीक्षणका लागि पनि आवेदन दिन सक्नेछन्। यसका लागि असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिनुपर्ने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए। पुनः परीक्षणसम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा www.see.gov.np मा हेर्न सकिने छ।