आकाश गजुरेल, भक्तपुर । लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभियान अन्तर्गत मध्यपुर थिथि नगरपालिका–३ को संयोजन तथा सामुदायिक विकास तथा सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
कौसलटारबाट सुरु गरिएको सचेतनामूलक र्याली गठ्ठाघरमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा सामुदायिक प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, सामाजिक अभियन्ता तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको सामुदायिक विकास तथा सेवा केन्द्रका उपाध्यक्ष नरेश रन्जितले जानकारी दिएका छन् ।
कार्यक्रममा सहभागीहरूले ‘लागूऔषध त्यागौँ, सुरक्षित भविष्य निर्माण गरौँ’, ‘युवालाई बचाऔँ, समाजलाई सशक्त बनाऔँ’ लगायतका सन्देश अंकित प्लेकार्ड बोकेर सचेतना अभिवृद्धि गरेका थिए। आयोजकले दुर्ब्यवसन विरुद्ध जनचेतना मूलक दृष्य सामाग्री प्रदर्शन गरेका थिए ।
कार्यक्रममा प्रहरी बृत्त थिमिका प्रहरी नायव उपरीक्षक निशान थापाले लागूऔषधको प्रयोग र यसको पहुँच बढ्दै जानु समाजका लागि गम्भीर चुनौती बन्दै गएको बताउदै यसविरुद्ध प्रहरीलाई समुदायको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।
समुदायिक विकास तथा सेवा केन्द्रका अध्यक्ष राज भक्त श्रेष्ठले किशोर–किशोरी र युवा पुस्तालाई लागूऔषधको दुर्ब्यसनबाट जोगाउन विद्यालय तहदेखि नै सचेतना शिक्षा सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष एवं मध्यपुर थिमिका नगर प्रवक्ता कृष्णहरि आचार्यले युवा पुस्तालाई गलत बाटोबाट जोगाउँदै जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न स्थानीय सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता प्रकट गरे ।
लागूऔषध दुव्र्यसनले व्यक्तिको स्वास्थ्य, शिक्षा, पारिवारिक सम्बन्ध, आर्थिक अवस्था र सामाजिक संरचनामा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने भएकाले यसको नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्ने जिल्ला समन्वय समिति सदस्य बिनु केसीले बताइन् ।
कार्यक्रमको उद्देश्य लागूऔषध दुव्र्यसनबाट समाजमा पर्ने नकारात्मक असरबारे जनचेतना अभिवृद्धि गर्नुका साथै समुदाय, विद्यालय, स्थानीय तह र सुरक्षा निकायबीच सहकार्य सुदृढ गरी सुरक्षित र सभ्य समाज निर्माणमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ।
यस्ता अभियानले विशेष गरी युवा पुस्तामा सकारात्मक सोच, जिम्मेवारीबोध र सामाजिक उत्तरदायित्व विकास गर्न सहयोग पुग्ने राष्ट्रका लागि दु!घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेलले विश्वास व्यक्त गरे ।
सरकारी तथ्यांक अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ता (दुर्व्यसनी) रहेका छन् । यो तथ्यांक २०७६ सालको हो। त्यसयता नयाँ राष्ट्रिय सर्वेक्षण सार्वजनिक नगरिकाले अहिलेको वास्तविक संख्या भने यकिन गर्न सकिएको छैन ।







