काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संसद् व्यवस्था हजारौँ सहिदको बलिदान, आन्दोलन र संघर्षको उपलब्धि भएको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उनले अहिलेको संसद् केवल सिमेन्ट, इँट र फलामले बनेको संरचना मात्र नभई सहिदहरूको रगत र बलिदानको प्रतीक भएको बताएका हुन्।
“बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको देखिन्छ, तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान छ,” उनले भने, “हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद्का लागि हामीले बन्दुक उठायौँ, आन्दोलन गर्यौं।”
सम्बोधनका क्रममा प्रचण्ड भावुकसमेत देखिएका थिए। उनले संसद् भवनका हरेक भित्तामा बलिदानको इतिहास लेखिएको उल्लेख गर्दै सशस्त्र संघर्षदेखि शान्तिपूर्ण आन्दोलन र पछिल्लो ‘जेनजी आन्दोलन’ सम्मका सहिद, बेपत्ता, घाइते योद्धा तथा अभियानकर्मीप्रति श्रद्धा प्रकट गरे।
“यो भवनको जगमा शहादत छ, यसको हरेक भित्तामा बलिदानको रङ छ,” भन्दै उनले इतिहास निर्माणमा योगदान दिने सबैप्रति कृतज्ञता व्यक्त गरे।
त्यसक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन सफलताको पनि प्रशंसा गरे। निर्वाचनमा झन्डै दुई तिहाइ सफलता हासिल गरेको उल्लेख गर्दै उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई विशेष बधाइ दिएका थिए।
प्रचण्डले आफ्नो दल निर्वाचन परिणामका हिसाबले खुम्चिएको स्वीकार गर्दै पनि नयाँ राजनीतिक वातावरण निर्माण गर्न आफ्नो पार्टीले खेलेको भूमिकाको स्मरण गरे।







