हुलाकलाई पुनर्जीवन दिनुपर्नेमा जोड

भक्तपुर । कुनैबेला सूचना र सञ्चारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको हुलाक सेवालाई पुनर्जीवन दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला हुलाक कार्यालय भक्तपुरको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले हुलाक सेवालाई पुनर्जीवन दिनुपर्नेमा जोड दिएका हुन् ।

बिहीवार आयोजित कार्यक्रममा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा विश्वासिलो, भरपर्दो र सस्तो भएपनि यसको प्रचारप्रसार हुन नसकेको बताइन । बदलिएको परिवेशमा हुलाकले चिठीपत्र आदानप्रदानसंगै अनलाइन ब्यापारको क्षेत्रमा समेत योगदान गरिरहेको उनले जानकारी गराईन । बन विभागको भन्दा बढी राजस्व संकलन गरेपनि हुलाकलाई हेयको दृष्टीले हेर्ने गरिएको उनले गुनासो गरिन ।

कार्यक्रममा महानिर्देशक मनमायाले विश्व हुलाक संघमा नेपाली हुलाकको उच्च प्रशंसा गरिने तर, स्वदेशमा यसको अवमूल्यन हुनु दुखद भएको बताइन । नेपाल सरकारका अन्य निकायमा सेवा लिन कार्यालयमा पुग्नुपर्ने बाध्यता रहेको बताउँदै महानिर्देशक मनमायाले हुलाक सेवा भने सेवाग्राहीको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने एकमात्र सरकारी सवाप्रदायक भएको बताएकी छन् ।

संघीय संरचना अनुरुप ४ हजार ६ सय १९ संघीय कर्मचारी कार्यरत हुलाक सेवा स्थानीय तहसम्म फैलिएको संघीय सरकारको सबैभन्दा ठुलो संरचना भएको उनको भनाइ छ । ”शिक्षा, स्वास्थ्य प्रदेश र स्थानीय तहमा गएपछि हुलाक सेवा नै संघीय सरकारको सबैभन्दा ठुलो संरचना हो ।” उनले भनिन ।

हुलाकमा श्रोतको भन्दा पनि सोचको अभाव भएको भन्दै उनले हुलाक सेवामा काम गर्न पाउनुमा कर्मचारीले गर्व गर्नुपर्ने बताएकी छन् । जनता संग प्रत्यक्ष जोडिने हुलाक सेवा समाजवादको जग भएको जिकिर गर्दै उनले यहाँ काम गर्दा उच्च मनोबलका साथ् काम गर्न निर्देशन समेत दिएकी छन् ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले हुलाक सेवा हटाउने र घटाउने भन्दा पनि यसलाई अझ समय सापेक्ष बनाउनुपर्ने बताए ।हुलाक सेवा चिठी पठाउने माध्यम मात्र नभई आधुनिक डेलिभरी र डिजिटल सेवाको क्षेत्रमा लाग्नुपर्नेमा उनले जोड दिएका छन् । निजी कुरियर कम्पनी भन्दा साधन श्रोतमा बलियो भएकोले हुलाक सेवाले अव कुरियरको क्षेत्रमा आफूलाई एक नम्बर सेवा प्रदायक सावित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कार्यक्रममा सरकारी कार्यालयका कार्यालय प्रमुखहरुले हुलाक सेवामार्फत चिठीपत्र आदान प्रदान गर्दा सुरक्षित सेवा पाएको अनुभव सुनाउदै सरकारी सेवा प्रदायक भएकोले यसको विश्वसनीयता अझैं कायम रहेको बताए ।

राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक हेमन्त कार्कीले डिजिटल ठगीबाट मानिसहरु पीडित भैरहेकाले डिजिटल ज्ञान र डिजिटल सेवा सहजकर्ताको रुपमा हुलाक सेवा बिकल्प बन्नुपर्ने बताए ।

पत्रकारहरुले सूचनाको हक प्रवर्द्धन र सञ्चारमाध्यमको दर्ता, नवीकरण र प्रेस पासका लागि हुलाक कार्यालयले पूरा गरेको जिम्मेवारीको प्रशंसा गरे । ग्रेस एफएमका स्टेसन मेनेजर गोविन्द बिकले हुलाककै कारण केन्द्र सम्म धाउनुपर्ने अवस्था अन्त्य भएको बताए ।

कार्यक्रममा सेवाग्राहीहरुले प्रविधिमैत्री सेवा, छिटोछरितो सेवा र अनलाईन ट्र्याकिंग सिस्टममा जोड दिए । सो अवसरमा हुलाकले सामाजिक सुरक्षा भत्ता, पेन्सन पट्टा, अनलाईन भुक्तानी लगायतमा सेवा बिस्तार गर्नुपर्नेमा जोड दिंदै सेवा क्षेत्र बिस्तार गर्नुपर्ने आवश्यकता औल्याइएको थियो ।

जिल्ला हुलाक कार्यालय भक्तपुरकी कार्यालय प्रमुख सीता साम्बा र प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज कार्कीको कार्यपत्रमा अन्तरक्रिया केन्द्रीत रहेको थियो ।