
भक्तपुर । सहिद दिवसको अवसर पारेर राग रागिनी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको नयाँ राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक गरिएको छ। गीत राग रागिनी इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
‘नेपालको छोरो’ गीतमा कपिल कसपालको स्वर तथा शब्द रहेको छ भने संगीत भुपेन्द्र रायमाझीले भरेका छन् । गीतको भिडियो निर्देशन निशान एस.के.को रहेको छ।
यसअघि होटल शंकर, काठमाडौंमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा पूर्व अर्थमन्त्री तथा गीतकार शंकर कोइराला लगायतले गीतको लोकार्पण गरेका थिए ।
गीतकार तथा गायक कपिल कसपालले ‘नेपालको छोरो’ गीत आफूले समाजप्रतिको जिम्मेवारी, भावनात्मक समर्पण र राष्ट्रप्रेमको भावनाबाट सिर्जना गरेको बताए।
देश कठिन अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा राष्ट्रिय एकता अपरिहार्य रहेको उल्लेख गर्दै उनले विदेशी शक्तिको पछि नलागी नेपालीले आफ्नै देश आफैं निर्माण गर्नुपर्ने सन्देश गीतमार्फत दिन खोजिएको बताएका छन् ।
देशको प्राकृतिक सुन्दरता, स्वाभिमान र एकताको भावलाई समेटिएको यस गीतको रेकर्डिङ प्रकाश श्रेष्ठले गरेका छन् । सहिद दिवसको अवसरमा यो राष्ट्रिय गीतलाई उपहारस्वरूप नेपाली जनतामाझ प्रस्तुत गरिएको कपिल कस्पालले जानकारी दिए ।







