चिकित्सक संघको निर्वाचन रोक्न अन्तरिम आदेश

ललितपुर । उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गर्दै हाललाई निर्वाचन नगर्न तथा नगराउन आदेश दिएको हो। सोमबार निषेधाज्ञा सम्बन्धी रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त अन्तरिम आदेश सुनाएको हो।

डा. अजय कुमार मिश्रसहितका निवेदकले नेपाल चिकित्सक संघलाई विपक्षी बनाई रिट दायर गरेका थिए। अदालतका अनुसार संघले २०८२/६/२० मा प्रकाशित सूचनाका आधारमा अघि बढाएको निर्वाचन प्रक्रिया निर्वाचन नियमावली, २०७० को परिच्छेद ४ अन्तर्गत नियम ६ अनुसार पूरा भएको देखिँदैन।

अन्तिम आदेश नभएसम्म हालको अवस्थामा निर्वाचन प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने निष्कर्ष अदालतले निकालेको छ।

सुनुवाइका क्रममा निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य र अधिवक्ता गोकुल भण्डारीले बहस गरेका थिए। विपक्षी नेपाल चिकित्सक संघको तर्फबाट वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी तथा अधिवक्ता बाबुराम अर्यालले बहस गरेका थिए।

चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर माघ ६ र ७  गते तथा उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचनको मिति तय भएको थियो । पदाधिकारीका लागि २२ र सदस्यका लागि १४ गरी ३६ जना उम्मेदवारहरूको अन्तिम नामावली समेत सार्वजनिक भएको थियो । उम्मेदवारहरु मत माग्न थालिसकेका थिए।