मेयर सुनिल प्रजापति भन्छन्, “ओलीको अहंकारले क्षति ब्यहोर्नुपर्यो’

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेनजी आन्दोलनका क्रममा व्यापक क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ, घमण्ड, अहंकार र अदुरदर्शीता प्रमुख कारण रहेको बताएका छन् । एक रेडियो अन्तर्वार्ताका क्रममा उनले आन्दोलनमा ओली प्रमुख जिम्मेवार भएका बताए ।

“भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने जेनजीको माग थियो, भाद्र २३ गते नै प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएको भए देशले यति धेरै क्षति भोग्नु पर्ने थिएन ।” उनले भने ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दम्भ देखाएको र गृहमन्त्रीको राजीनामा गराएर थामथुम पार्ने दुस्साहस गर्दा त्यसैको परिणाम भाद्र २४ गते अकल्पनीय घटना घट्न पुगेको नेता प्रजापतिले प्रष्ट पारे ।

“सरकारविहीनताको अवस्था सिर्जना हुँदा धेरैको ज्यान गयो । देशको खरबौं सम्पत्ति ध्वस्त भयो । सरकारको नेतृत्वमा रहेकाले नै त्यस घटनाको जिम्मेवारी लिनु पर्छ ।” प्रजापतिले भने ।

२०३१ सालमा सिंहदरबार जलेको बेला तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टले राजीनामा गरेका त्यसैगरी दशरथ रंगशालामा मानिस किचिँदा केशरबहादुर विष्टले राजीनामा दिएका उदाहरण प्रस्तुत गर्दै उनले भने- “भागदौडामा भएको घटनामा खेलकुद मन्त्रीको के दोष थियो ? तर पनि विष्टले नैतिकताको आधारमा राजीनामा दिनुभयो । यस्ता न्युनतम कुरा पनि केपी ओलीबाट भएन ।”

शासक दलहरुका नेताहरूमा नैतिकता नभएकै कारण देशले यति छोटो समयमै दुर्भाग्यपूर्ण अवस्था व्यहोर्नु परेको उनले बताए ।

राजनीतिमा नैतिक शक्ति ठूलो बल हुने र भौतिक शक्ति भनेको त क्षणिक हुने भन्दै उनले नैतिक बल नहुदाँ शेरबहादुर देउवालाई कुटपिट र लछारपछार गर्दा पनि कांग्रेसका लाखौंलाख कार्यकर्ताले।केही गर्न नसकेका दावी गरे ।

राजनीतिमा एक व्यक्ति आज कांग्रेस, भोलि एमाले, पर्सि माओवादी र अर्को दिन राप्रपामा जाने एकै व्यक्तिले वर्षमा चारवटा पार्टी चाहार्ने प्रवित्तिले राजनीतिले बिचारिक सेना बन्नुपर्नेमा अवसरवादी जमातमा परिणत भएको उनको भनाइ छ । “जब राजनीतिमा नैतिकता हुँदैन, सारा जनताले दुःख पाउँछन् ।” उनले भने ।

देश अहिले राजनीतिक संकटतर्फ धकेलिएको टिप्पणी गर्दै नेता प्रजापतिले अन्तरिम सरकारले निर्धारित समयमै प्रतिनिधिसभाको चुनाव गराउनपर्नेमा जोड दिए । वर्तमान सरकारले चुनावको अतिरिक्त कुनै पनि स्वार्थका अथवा दीर्घकालीन महत्वका निर्णय गर्ने अधिकार नभएको उनले चेतावनी पनि दिएका छन् ।

उनले राजनीतिलाई ब्यापार बनाउनेहरुहरुका कारण यो क्षेत्र बदनाम भएकोले सेवालाई केन्द्रमा राख्ने नेमकिपा जस्ता शक्ति स्थापित नभई राजनीति सङ्लिन नसक्ने तर्क गरे ।