अविजित नेपाल उपाधी नजिक

काठमाडौं । ओमानलाई हराउँदै नेपाल टि२० विश्वकपको एसिया तथा इस्ट एसिया क्षेत्रीय छनोटको उपाधी नजिक पुगेको छ ।

ओमानको मस्कटमा बधबार भएको खेलमा घरेलु टोलीलाई ३८ रनले पराजित गरि अपराजित यात्रा कायम राखेको नेपालले उपाधी जित्ने सम्भावना बलियो बनाएको छ ।

नेपाल र ओमान बुधबार नै युएईले समाओमाथि जित निकालेसँगै भारत र श्रीलंकामा हुने विश्वकपका लागि छनोट भएका थिए । तर, यस प्रतियोगिताको च्याम्पियन बन्न महत्वपुर्ण रहेको खेलमा नेपालले ओमानलाई पराजित गरेको हो ।

नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन मात्रै बनाउँन सक्यो । ओमानका लागि विनायक शुक्लाले १९ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३२ रनमा आउट भए । मोहम्मद नदिमले ३१ बलमा १ छक्काका साथ २५ रन बनाए ।

कप्तान जतिन्दर सिंह १४ तथा आर्यन बिष्ट ११ रनमा आउट हुनु बाहेक अन्य ओमानी ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेपालका लागि गुलसन झाले ३, सोमपाल कामी र नन्दन यादवले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार गरेको थियो ।
नेपालका लागि ओपनर कुशलले ५१ बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले । कुशलले प्रतियोगितामा आफ्नो दोस्रो तथा टि२० करियरको १३औं अर्धशतक बनाएका हुन् ।

अर्का ओपनर आसिफ शेख २० बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाउँदै आउट भए । मोहम्मद आदिल आलम १५ बलमा ३ चौकाको सहयोगमा १६ रनमा आउट भए ।

गुलसन झा १० बलमा २ छक्काको सहयोगमा १८ रनमा पेभिलियन फर्किए । कुशल मल्ल ७, उपकप्तान दीपेन्द्र सिंह ऐरी २ तथा कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भए ।

ओमानका लागि ४ सफलता नदिम खानले दिलाएका थिए । सफियान मोहम्मद र जितेन रामानन्दीले समान २ विकेट आफ्नो नाममा गरे ।
जितसँगै प्रतियोगिताको उपाधी जित्ने सम्भावना बलियो बनाएको नेपालले शुक्रबार अन्तिम खेलमा समाओको सामना गर्नेछ ।