नगरपालिकाले पठाएको समाचारमै मेयरको असन्तुष्टि, पत्रकारलाई आक्षेप लगाउँदा महासंघ मौन

भक्तपुर । “चाँगुनारायण मन्दिर सुनको कचौरा हो, तर स्थानीयले पित्तल बनाए” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाको आधिकारिक इमेलबाट आएको समाचारको विषयलाई लिएर मेयर जीवन खत्री पत्रकार माथि खनिएका छन् ।

नगरपालिकाको आधिकारिक वेबसाइट चाँगुनारायण समाचार डटकमको इमेलबाट प्राप्त समाचारलाई स्थानीय पत्रकारले हुबहु प्रयोग गर्दा पनि नगर प्रमुख खत्रीले पत्रकारलाई दोष दिएर आफ्नो आङको छारो उडाए ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूले भनेको विषयलाई बङ्याएर पत्रकारले भ्रम छर्ने काम गरेको आरोप लगाए ।

“समुदाय र हामी मिलेर यस मन्दिरलाई बिश्वका हिन्दु धार्मिक पर्यटक आउने स्थलको रूपमा बिकास गर्न स्थानीय समुदायको अझ बढी भूमिका हुन्छ भनेको बिषयलाई ,,,, कति सजिलोसंग पत्रकारिताको प्रयोग गरेर ,,,, काखमा राखेर छुरा रोपेको वा वा वा पत्रकार महोदय धेरै धेरै धन्यबाद छ।” उनले भनेका छन् ।

बिहीबार विश्व सम्पदा सूर्चीमा रहेको चाँगुनारायण मन्दिरमा
चाँगुनारायण नगरपालिकाको पर्यटन शाखाले आयोजना गरेको मन्दिर व्यबस्थापन सम्बन्धी छलफलमा भएका कुरा मिडियामा आएपछि मेयर खत्री असन्तुष्ट देखिएका हुन् । उनले आफूले स्थानीयलाई आरोप नलगाएको आशय ब्यक्त गरेका छन् ।

हेर्नुस् मेयर खत्रीको स्टाटस

 

मेयर खत्री नै संरक्षक रहेको नगरपालिकाको आधिकारिक अनलाइन चाँगुनारायण समाचार डटकमबाट सस्प्रेषण गरिदिन आग्रह गरि आएको समाचार जस्ताको तस्तै छापिएको भएपनि मेयर खत्रीले पत्रकारलाई विषय बङ्याएको आक्षेप लगाउनु आपत्तिजनक भएको स्थानीय पत्रकार कृष्ण किसीले बताएका छन् ।

“हामीले त अझ समाचार क्यारी गरिदियौ नि ! उल्टै आक्षेप सहनुपर्ने?” उनले असन्तुष्टि व्यक्त गरे ।

चाँगुनारायण समाचार डट्कमका सम्पादक समेत रहेका पत्रकार रमेश गिरीले भने धेरै व्यक्तिले समाचार पुरा नपढी टिप्पणी गरेको प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत समाचारको विषय वास्तविक भएको र स्थानीयले मनन गर्नुपर्ने सुझाव समेत दिए ।

प्रेस सेन्टर नेपालका भक्तपुर अध्यक्ष मदन ढुङ्गानाले भने नगरपालिका प्रमुखले पत्रकारप्रति औंला ठड्याउनु आपत्तिजनक रहेको र यसले सिङ्गो पत्रकारिता जगतको मानमर्दन भएकोले उनले सार्वजनिकरुपमा आरोप फिर्ता लिनुपर्ने बताए ।

त्यस्तै, नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार एवं पूर्व अध्यक्ष जगत कृष्ण प्रजापतिले विषय सामाजिक संजालमै आइसकेकोले स्पष्ट पार्ने दायित्व नगरपालिका र पत्रकार महासंघको भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर भने यस् विषयमा मौन छ । अध्यक्ष सुन्दर सिल्पकारलाई यस विषयमा धारणा सार्वजनिक गर्न कार्यसमितिले दबाब दिइरहेको एक सदस्यले जानकारी गराए ।

चाँगुनारायण नगरपालिकाको प्रवक्ता जनक खत्रीले ननस्टपखबरसंग कुरा गर्दै नगरपालिका प्रमुख जीवन खत्रीले अन्जानमा पत्रकारलाई आक्षेप लगाएको हुनसक्ने भन्दै नगरपालिकाकै आधिकारिक श्रोतबाट पठाएको समाचार सस्प्रेषण गरेको भए नगर प्रमुखले भूल सुधार गर्नपर्ने प्रतिक्रिया दिएका छन् ।

” मेयरज्यूसंग छलफल गरि शुक्रवार यसबारे स्पष्ट धारणा राख्नेछु” प्रवक्ता खत्रीले भने ।