भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका युवा नेता, सूर्यविनायक नगर कार्यसमिति सदस्य तथा समाजसेवी रवि राणाले मिर्गौला रोग पीडित जपिन्द्र अवाल (मेथी)लाई रु १ लाख २५ हजारको चेक हस्तान्तरण गरेका छन्।
आईतवार पार्टी कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राणाद्वारा प्रदान गरिएको सहयोग अवाललाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा सांसद थापाले राजनीतिकर्मी समाजका सेवक भएको उल्लेख गर्दै समाजलाई निस्वार्थ भावले सेवा गर्नुपर्ने दायित्वबोध प्रति राणाको प्रसंशा गरे । “दुःखी र विपन्न जनताको सेवा गर्नु नै राजनीति हो” उनले भने ।
उनले युवा नेता रवि राणाले देखाएको सेवाभाव प्रशंसनीय रहेको बताउँदै भने, “धन भएर मात्र पुग्दैन, मनको धनी चाहिन्छ। आजको उदाहरणीय व्यक्तित्व रवि राणा हुनुहुन्छ ।”
सो अवसरमा युवा नेता राणाले परिवार र पार्टीबाट प्राप्त प्रेरणाले समाज सेवामा सक्रिय भएको प्रतिक्रिया दिए ।
“राजनीति भनेको शुद्ध समाजसेवा हो, म यही उद्देश्यका साथ जनतामाझ आएको हुँ” राणाले भने ।
उनले यसअघि पनि भूकम्प, दैवीप्रकोप, कोभिड–१९ लगायतका विपतमा परेकालाई सहयोग गर्दै आएको स्मरण गर्दै मिर्गौला प्रत्यारोपणपछि उपचाररत अवाललाई आर्थिक सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरे ।
करिब चार महिना अघि आफ्नी आमाबाट मिर्गौला पाएपछि अवालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनले नेता राणा जस्तै सहयोगी र सेवा भाव भएका ब्यक्तिहरुका कारण आफूमा रोगसंग लड्ने बल मिलेको बताउँदै आफूपनि अन्य मिर्गौला रोगीहरुलाई आवश्यकता सहयोगको लागि लागिरहेको उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरुले नेता राणाको यो समाजसेवी योगदानले कार्यकर्ताहरूमाझ सेवा भाव र प्रेरणा थप जागृत भएको धारणा राखेका थिए।







