
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा वरिष्ठ अधिवक्ता प्रा.डा. रजितभक्त प्रधानाङ्ग र सहन्यायाधिवक्ता सोमकान्ता भण्डारीको संयुक्त लेखनमा प्रकाशित पुस्तक ‘फौजदारी कानुन र फौजदारी न्याय’ शनिबार सार्वजनिक गरिएको छ।
सो पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका संविधान सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले कानुनमा के छ भन्दा पनि कानुन लागु गर्ने शासक पार्टीहरूको नियत के हो समयमै बुझ्नुपर्ने बताए ।
कानुन थाहा नहुँदा धेरै क्षति हुने अनुभव साझा गर्दै उनले अन्तर्राष्ट्रिय कानुनका साथै देशको राष्ट्रिय कानुनबारेमा जानकारी हुनु जरूरी रहेको बताए ।
” हरेकले कानुन जान्नु जरूरी भएकोले न्यायिक शिक्षाको बारेमा टोल टोलमा गई जनतालाई जानकारी दिनुपर्दछ ।” उनले भने ।
सरकार सचेत नहुँदा नेपालको शैक्षिक स्तर खस्किँदै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष बिजुक्छेंले जाचमा पास हुन नभई जनताको सेवा गर्न शिक्षा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
सरकारमा गएका पार्टीहरूले नेपालको हितमा भन्दा पश्चिमी देश, विदेशी पुँजी र बहुराष्ट्रिय कम्पनीको हितमा काम गरिरहेको र षड्यन्त्रपूर्वक नेपाली युवाहरूलाई उच्च शिक्षा वा, वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न बाध्य बनाइरहेको उनले आरोप लगाए ।
कार्यक्रमका विशेष अतिथि एवं वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानुन जडसूत्रवादी हुन नहुने र कानुन न्यायको लागि हुनुपर्ने उल्लेख गर्दै ९९ प्रतिशत न्यायाधीश भ्रष्टाचारी भएको समाचार सुनिएकोमा चिन्ता व्यक्त गरे ।
लोकतन्त्रको अभ्यास र विकास हेर्न भक्तपुर हेर्नुपर्ने सुझाव दिँदै उनले न्याय हेर्न कहाँ जाने भन्ने अन्यौल रहेको बताए । अहिले अन्याय र नेपाल पर्याय जस्तो बन्दै गएको उनको भनाइ छ ।
पुस्तकका लेखक प्रा.डा. रजितभक्त प्रधानाङ्गले न्यायाधीशहरूको उत्ताउलो र हतारो प्रवृत्तिका कारण धेरै निर्दोष व्यक्तिले अनावश्यक दुःख पाइरहेको अनुभव प्रस्तुत गर्दै कानुन ब्यवसायीले त्यसलाई करेक्सन गर्नु पेशागत धर्म र कर्तब्य भएको बताए ।
कार्यक्रमका सभापति एवं अधिवक्ता समेत रहेका भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नेपालको फौजदारी न्याय प्रणाली सिद्धान्त र व्यवहारमा एकरूपता नहुँदा अदालतप्रति जनविश्वास घट्दै गएको उल्लेख गरे। उनले गैरकानुनी थुना, झूटो मुद्दा, राजनीतिक हस्तक्षेप, सजाय माफीजस्ता विवादास्पद घटनाले न्यायपालिकामाथि गम्भीर प्रश्न उठाएको बताए।
नेमकिपाका केन्द्रीय सदस्य समेत रहेका मेयर प्रजापतिले भने, “भ्रष्टाचार, मानव बेचबिखन, लागुऔषध कारोबार, बलात्कार र हत्याजस्ता अपराधमा मृत्युदण्डको व्यवस्था हुनु आवश्यक छ ।”
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश डा मेघराज पोखरेल, भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश बासुदेव न्यौपाने, नेपाल बार एसोसिएसनका अध्यक्ष बिजयप्रसाद मिश्र, नगरपालिकाकी उपप्रमुख रजनी जोशी, वडाध्यक्ष रवीन्द्र ज्याख्व, ख्वप कलेज अफ लको प्राचार्य अनिता जधारी लगायतले न्यायीक क्षेत्रमा कार्यरत सबैले न्यायको रक्षाको लागि इमान्दार प्रयास गर्नुपर्ने प्रष्ट पारे ।

प्रकाशित पुस्तक ‘फौजदारी कानुन र फौजदारी न्याय’ मा फौजदारी न्यायको सिद्धान्त, फौजदारी कानुन, प्रमाण कानुन, व्यक्तिविरुद्धका अपराध, बालबालिकाविरुद्धका अपराधलगायतका विषयमा २१ अनुसन्धानमूलक लेख संकलित रहेका छन्।
पुस्तक विद्यार्थी, प्राध्यापक,कानुन ब्यवसायी, न्यायाधीश, प्रशासनिक अधिकारी र सर्वसाधारण सबैका लागि उपयोगी हुने प्रकाशक पैरवी बुक हाउसका अध्यक्ष एवं अधिवक्ता चन्द्र सिवाकोटीले बताएका छन् ।
५ सय ३८ पृष्ठ भएको पुस्तकको मूल्य ८ सय ७५ रुपैयाँ राखिएको छ ।








