भक्तपुर अस्पतालमा मिर्गौलाको पथ्थरी पनि झिकिने, सफल शल्यक्रियापछि सांसद श्रेष्ठ डिस्चार्ज

भक्तपुर । मिर्गौलामा पथ्थरी भएकाले भक्तपुर अस्पताल भर्ना भएका बागमती प्रदेश सभाका सदस्य देवेन्द्र श्रेष्ठ दिवाकर आइतबार डिस्चार्ज भएका छन् ।

शुक्रवार उनको मिर्गौलामा रहेको पथ्थरी निकालिएको र स्वास्थ्य अवस्था सामान्य भएसंगै आइतबार उनलाई डिस्चार्ज गरिएको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले बताए ।

युरोलोजिष्ट डा सुरोज गिरी नेतृत्वको टोलीले शुक्रवार सांसद श्रेष्ठको सफल शल्यक्रिया गरी चिकित्सकीय निगरानीमा राखेको थियो ।

ओपिडिमा युरोलोजी सेवा थप गरेको भक्तपुर अस्पतालले मिर्गौलाको पथ्थरी पनि निकालेको भने यो पहिलो शल्यक्रिया हो ।

सांसद श्रेष्ठको मिर्गौलामा १७×३० एमएमको पथ्थरी पाइएको युरोलोजिष्ट डा गिरीले जानकारी गराए ।

अस्पतालको आफ्नै “सर्जिकल इन्स्ट्रुमेन्ट सेट” नभएकोले बाहिरबाट ल्याएर शल्यक्रिया गर्नुपरेको उनले बताएका छन् ।

भक्तपुर अस्पतालको निमित्त निर्देशक डा सुरेन्द्र भट्टले अस्पतालमा मिर्गौलाको पथ्थर फोड्ने औजार मात्र नभएको स्वीकार गरे । त्यसबाहेकका अन्य उपकरण रहेका र पथ्थर फोड्ने पनि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत उपलब्ध गराइने उनले प्रतिवद्धता प्रकट गरेका छन् ।

“प्रदेश सभा सदस्य माननीय देवेन्द्र श्रेष्ठले पूर्ण सेवा शुरु नहुँदै सरकारी अस्पतालप्रति देखाउनु भएको बिश्वासले हामीलाई थप हौसला मिलेको छ, हामी यथाशीघ्र सम्पूर्ण इन्स्ट्रुमेन्ट सेटबाट सेवा शुरु गर्छौ।” उनले भने ।

भक्तपुर अस्पतालले सोमबार र बुधबार मुत्ररोगसम्बन्धी ओपिडि सेवा र शुक्रबार शल्यक्रिया सेवा प्रदान गर्ने निमित्त निर्देशक डा भट्टको भनाइ छ ।

यस अघि पित्तथैलीको पथ्थरी मात्र झिक्ने गरेकोमा अब मिर्गौलाको पथ्थरी पनि झिक्न सकिने भएकोले सेवाग्राही लाभान्वित हुने उनले बिश्वास व्यक्त गरे ।

बागमती प्रदेश सरकार मातहत रहेको भक्तपुर अस्पतालमा दैनिक एक हजार बढी बिरामी स्वास्थ्य समस्या लिएर आउने गरेका छन् ।