उज्बेकिस्तान । जुलाई २३ देखि २७ सम्म उज्बेकिस्तानको ताशकेंट शहरमा सम्पन्न ‘वर्ल्ड यूथ सभात च्याम्पियनशिप प्रतियोगिता’मा नेपालको प्रतिनिधित्व गरेका बसील त्वायनाले ऐतिहासिक सफलता प्राप्त गर्दै रजत पदक जित्न सफल भएका छन्।
८५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका बसीलले प्रतियोगिताको दोस्रो दिन लिग चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पहिलो खेलमा आयोजक देश उज्बेकिस्तानका खेलाडी जीदीरोभ मोहम्मदलाई पराजित गर्दै ३ अंक प्राप्त गरे। दोस्रो खेलमा अजरबैजानका मेहमेद सुलेमनोभलाई पराजित गरी ६ अंक पुर्याए।
तेस्रो खेलमा फ्रान्सका मलभिन पेरीले वाकओभर दिएपछि बसील ९ अंक सहित फाइनलमा प्रवेश गरेका थिए, फाइनल खेलमा भने फ्रान्सका मलभिन पेरीसँग पराजित भइ रजत पदकमा चित्त बुझाउन बाध्य बने ।
नेपालमा करिब दुई वर्षअघि मात्र औपचारिक रूपमा भित्रिएको सभात खेलमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा यस्तो सफलता हासिल गर्नु गौरवको विषय भएको नेपाल सभातका संस्थापक अध्यक्ष, टिम कोच तथा एशियन सभात कन्फिडेरेसनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले बताए।
“फ्रान्स जस्तो सभात खेलको पावर हाउस मुलुकका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै फाइनलसम्म पुग्नु नेपाली खेलकुदको लागि ऐतिहासिक उपलब्धि हो,” उनले भने, “हाम्रो खेलाडीको उत्कृष्ट प्रदर्शनले थुप्रै देशका प्रशिक्षक र खेलाडीहरूलाई प्रभावित पारेको छ।”
प्रशिक्षक बस्नेतका अनुसार, यदि नेपालका संघीय, प्रदेश तथा स्थानीय तहका सरकारहरूले सभात खेलमा आवश्यक लगानी र सहयोग गरेमा नेपाल पनि निकट भविष्यमा सभातको पावर हाउस बन्न सक्छ र अन्तर्राष्ट्रिय मञ्चमा देशको शिर उच्च बनाउन सक्छ।

