भक्तपुर । नेपाल निजामती कर्मचारी संगठनको शिक्षा विभागीय समितिले यस वर्ष थप चारजना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई विद्यालय भर्ना गराएको छ ।
आर्थिक,पारिवारिक र सामाजिक बाध्यताले विद्यालय जानबाट वञ्चित बालबालिकाको पहिचान गरी यस वर्ष थप चार जनालाई विद्यालय भर्ना गराइएको संगठनका केन्द्रीय सदस्य एवं शिक्षा विभागीय समितिका इन्चार्ज शिवराज पोखरेलले जनाएका छन् ।
हालसम्म विद्यालयको पहुँचमा पुग्न नसकेका ८ जना विद्यार्थीको अभिभावक बनी विद्यालय भर्ना गराएको इन्चार्ज पोखरेलले प्रष्ट पारे । अभिभावकत्व लिएका विद्यार्थी इसिडी देखि कक्षा ७ सम्म पुगिसकेका छन् ।
बालबालिकालाई भक्तपुरको लौहकिंथलीस्थित सरस्वती आधारभूत विद्यालयमा भर्ना गराइएको छ भने उनीहरूको लागि आवश्यक शैक्षिक सामाग्री, पोशाक लगायत आवश्यक खर्च ब्यवस्थापन संगठनको शिक्षा विभागीय समितिको तर्फबाट पुर्याउदै आएको इन्चार्ज शिवराज पोखरेलले बताएका छन् ।
२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको अभिभावकत्व लिदै विद्यालय भर्नामा सरकारसंगै ब्यक्तिगत र सांगठनिक सहकार्यको आवश्यकता औल्याएसंगै शिक्षा विभागीय समितिले पनि भर्ना अभियानमा सहयोग पुर्याउदै आएको छ ।
शुक्रबार एक कार्यक्रम गरी नेपाल निजामती कर्मचारी संगठनको शिक्षा विभागीय कार्यसमितिले बालबालिकालाई यस वर्ष आवश्यक शैक्षिक सामाग्री र पोशाक हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई झोला, पोशाक (सर्ट, पाइन्ट, ट्राउजर, जुत्ता, मोजा) र शैक्षिक सामग्रीहरू (ज्यामिति बक्स, कपी, कलम, इरेजर) समेत वितरण गरिएको हो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष भवानी दाहाल प्रमुख अतिथि रहेका थिए भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री विशिष्ट अतिथि र पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेल विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए ।
सो अवसरमा उनीहरूले शिक्षा विभागीय समितिले उदाहरणीय कार्य गरिरहेको भन्दै यसको निरन्तरताको अपेक्षा गरे । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने मात्र नभई टिकाउने र सिकाउने कार्य प्रशांंसायोग्य भएको उनीहरूको भनाइ छ ।
सो अवसरमा संगठनले अभिभावक नभएका, न्यून आय भएका र सहारा खोजिरहेका बालबालिकाको अभिभावकत्व लिएर शैक्षिक एवं सामाजिक अभियान चलाएको र यसले सकारात्मक प्रभाव पारेको स्पष्ट पार्दै अभियान अझ सशक्त बन्दै जाने विश्वास गरिएको थियो ।
शिक्षा विभागीय कार्यसमिति अध्यक्ष प्रेमप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम, उपाध्यक्ष कृष्णबहादुर केसी, उपत्यका इञ्चार्ज गणेश आचार्य, महासचिव रामचन्द्र अधिकारी, उपमहासचिव बामदेव ओली, सदस्यहरू शिवराज पोखरेल, सुशिला कुमारी शाह, मनोज झपेन्द्र तथा अक्षय कोष अध्यक्ष लिलानाथ पोखरेलको पनि उपस्थिति थियो।
त्यसैगरी विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदायका प्रतिनिधि समेत सो अवसरमा उपस्थित रहेका थिए ।