कानुन थाहा भएन भन्न पाइदैन : पूर्वमन्त्री चित्रकार

ललितपुर । बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले कानूनी राज्यमा कसैले पनि “कानून थाहा छैन” भनेर बेवास्ता गर्न नपाइने बताएका छन्।

ललितपुर उद्योग वाणिज्य संघको पोलिसी एण्ड एडभोकेसी समितिको संयोजनमा शुक्रबार आयोजित उद्योग व्यवसायीका लागि कानूनी साक्षरता तथा अन्तरक्रियामा बोल्दै चित्रकारले उद्योग सञ्चालनका क्रममा आइपर्ने विभिन्न झमेलाबाट जोगिन कानूनी जानकारी आवश्यक रहेको बताएका हुन्।

उनले व्यवसायमा संलग्न सबैले सम्बन्धित कानूनको जानकारी राख्नुपर्नेमा जोड दिए। “कानूनको मूल स्रोत संविधान हो, ऐन, नियम, कार्यविधि र अध्यादेशहरू संविधानअनुसार बनाइएका हुन्छन्,” भन्दै उनले संसद र सरकारले निर्माण गरेका कानूनी प्रावधान कार्यान्वयनमा ल्याउन कर्मचारीतन्त्रको भूमिकालाई महत्त्वपूर्ण बताए।

राजनीतिक हस्तक्षेप र अस्थिरताको कारण कानून कार्यान्वयनमा चुनौती आएको उल्लेख गर्दै उनले चन्दा आतंक, श्रमिक आन्दोलनजस्ता समस्याले उद्योग क्षेत्र प्रभावित भएको धारणा राखे।

चित्रकारका अनुसार व्यवसाय दर्ता ऐन, आयकर ऐन, मूल्य अभिवृद्धि कर, भन्सार ऐनलगायतका कानूनी व्यवस्था व्यवसायीले बुझ्नुपर्छ। ठूला व्यवसायीहरूले कानूनी सल्लाहकारको सहयोग लिएर अघि बढ्न सक्ने उनले बताए।

“एउटै कानूनी प्रावधानभित्र पनि द्विविधा हुन्छन्, तर राजपत्रमा प्रकाशित भएपछि ती कार्यान्वयनमा जान्छन्। कानून नबुझेको भनेर उन्मुक्ति पाउन सकिँदैन,” भन्दै चित्रकारले उद्यमशीलताको माध्यमबाट आयस्रोत बढाउन सकिने बताए।

उनले उद्योग वाणिज्य संघलाई केवल आफ्ना सदस्यका लागि होइन, समग्र उद्योग क्षेत्रको नेतृत्व गर्ने संस्थाको रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताए।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रेमलाल महर्जनले तीन तहका सरकारले बजार अनुगमन गर्ने भएकाले व्यवसायीले कानूनी व्यवस्था पालना गर्नुपर्नेमा जोड दिए। उनले कानूनी साक्षरताले अन्जानमा हुने गल्ती न्यूनीकरण गर्न मद्दत पुग्ने धारणा राखे।

संघका महासचिव विश्वराज बज्राचार्यले संघ, प्रदेश र स्थानीय सरकारका कानूनअनुसार व्यवसाय सञ्चालन सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

पोलिसी एण्ड एडभोकेसी समितिका संयोजक अनिल महर्जनले यस्ता साक्षरताले व्यवसाय सञ्चालनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा अधिवक्ता बालकृष्ण महर्जनले संघका सदस्यलाई कानूनी साक्षरता सम्बन्धी अभिमुखीकरण गराएका थिए।