काठमाडौं । मुस्लिम समुदायले आज देशभर ईद-उल-अजहा (बकर ईद) पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्व इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक चाडमध्ये एक हो।
बकर इद मुस्लिम समुदायको पवित्र पर्व हो, जुन हरेक वर्ष इस्लामिक पात्रोअनुसार १२औँ महिना जिल हिज्जाको १० गते मनाइन्छ । ३ दिनसम्म यो पर्व मनाइने परम्परा छ । आज पहिलो एवं प्रमुख दिन हो ।
ईद-उल-अजहा को अवसरमा बिहानै मस्जिद तथा इदगाहमा विशेष सामुहिक नमाज (प्रार्थना) अर्पण गरी आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गरिन्छ ।
यो पर्व इस्लाम धर्मगुरु हजरत इब्राहिमले अल्लाहप्रति अटल आस्था राख्दै आफ्ना छोरालाई बलिदान दिन तयार भएको प्रसंगको सम्झनामा मनाइन्छ। त्यसकै प्रतीकस्वरूप धर्मावलम्बीहरूले खसी, बोका, गाई वा उँट आदि जनावरको बलि दिने प्रचलन छ।
बलिलाई तीन भाग गरी एक भाग आफूलाई राखिन्छ । अर्को भाग आफन्तलाई र तेस्रो भाग गरीवलाई बाड्ने परम्परा रही आएको छ ।
सरकारले आज सार्वजनिक बिदा दिएको छ। पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन्।